स्कुलदेखि सिनेमा हलसम्म, जहाँ १६ महिनादेखि निरन्तर ‘लकडाउन’ छ – Nepal Press

स्कुलदेखि सिनेमा हलसम्म, जहाँ १६ महिनादेखि निरन्तर ‘लकडाउन’ छ

काठमाडौं । कोरोना संक्रमण र त्यससँगै भएको निषेधाज्ञाले देशको समग्र अर्थतन्त्रलाई नराम्ररी प्रभाव पारेको छ । निषेधाज्ञाका कारण उद्योग व्यवसाय चल्न सकेका छैनन् । निषेधाज्ञाको असर व्यवसायको क्षेत्रमा मात्रै परेको छैन, शिक्षासँगै आममानिसको दैनिकीलाई यसले प्रभावित बनाएको छ ।

कारोनाको पहिलो लहरसँगै भएको लकडाउनका समयमा अत्यावश्यक सामग्रीको व्यापार र सेवाका लागि निश्चित समय र मापदण्ड तोकियो । पहिलो लहर कम भएसँगै कतिपय व्यापार व्यवसाय सञ्चालन गर्न दिइयो ।

त्यतिबेला लकडाउनका कारण थला परेका व्यवसायीले थोरै भए पनि राहतको महसुस गर्न पाए । कोरोनाको दोस्रो लहर सुरु भएसँगै फेरि निषेधाज्ञा भयो । तंग्रिने आश गरेका व्यवसायी फेरि थला परे ।

त्यसपछि पनि निश्चित सामग्रीको व्यापार र सेवा क्षेत्रलाई मापदण्ड अपनाएर निश्चित समय खोल्न दिइयो ।

राम्रोसँग सञ्चालनमा नआए पनि फाट्टफुट्टरुपमा यातायातका साधन सञ्चालन भएका छन् । दुवै लकडाउनको सुरुवातमा सार्वजनिक यातायात ठप्प भए पनि क्रमशः खुकुलो बनाउँदै यातायात सञ्चालन भइरहेको छ ।

लकडाउन सुरु भएदेखि नै नखुलेका क्षेत्र

केही यस्ता क्षेत्र छन्, जुन कोरोना संक्रमण सुरु भएर लकडाउन भएदेखि बन्द भएका थिए, त्यो अहिलेसम्म बन्द नै छन् ।

शैक्षिक संस्था, होटल तथा पार्टी प्यालेस, रात्रिकालीन व्यवसाय, सीनेमा क्षेत्रलगायत विभिन्न व्यवसाय पहिलो लकडाउनपछि तंग्रिन नै पाएका छैनन् ।

करिब डेढ वर्षदेखि निरन्तर व्यवसाय बन्द हुँदा व्यवसायीसँगै रोजगारदाता र सेवाग्राही नराम्ररी प्रभावित भएका छन् । कतिपय व्यवसायीलाई ‘अब उठ्नै पो नसकिने हो कि !’ भन्ने चिन्ताले सताउन थालेको छ ।

शैक्षिक क्षेत्र

पहिलो चरणको लकडाउनदेखि बन्द भएका विद्यालय अझै राम्रोसँग सञ्चालनमा आउन सकेका छैनन् । सरकारी विद्यालयले अनलाईनमार्फत् पढाएको भनिरहेका छन्, तर त्यो त्यति प्रभावकारी हुन नसकेको आमगुनासो छ ।

पढाइ राम्रो नभए पनि सरकारी विद्यालयका शिक्षकले मासिक तलब पाइरहेका छन् । तर, निजी शैक्षिक संस्था र त्यहाँका शिक्षक, विद्यार्थीसँगै अभिभावकको पीडा दर्दनाक छ ।

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन नेपाल (एन प्याब्सन)ले कोरोनाका कारण निजी विद्यालयको भविष्यमाथि नै प्रश्न उठेको बताएको छ । एन प्याब्सनका अध्यक्ष रित्तुराज सापकोटा भन्छन्– अनलाईन कक्षामा विद्यार्थीको सहभागीता एकदमै कम छ । सात सय विद्यार्थीमा दुई सय सहभागी हुन्छन्, त्योमध्ये एकजनाले मात्रै शुल्क तिर्छन् । यो स्थितिमा हामीलाई विद्यालय चलाउन र शिक्षकलाई पारिश्रमिक दिन नै धौधौ छ ।

अनलाईनबाट दिइने शिक्षामा अभिभावकले विश्वास नगरेको उनको बुझाइ छ । अभिभावकले विश्वास छोराछोरीलाई नपढाउँदा र पढाएको शुल्क पनि नपाउँदा घरभाडा तिर्न नै मुस्किल भएको उनले बताए ।

विद्यालयमा निजी क्षेत्रको ६ सय अर्ब लगानी भएको भन्दै उनले अहिले एन प्याब्सनमा जोडिएका विद्यालयहरुलाई प्रतिवर्ष ६० अर्ब रुपैयाँ घाटा भइरहेको बताए ।

एन प्याब्सनमा आवद्ध विद्यालयहरुले अहिले शिक्षकलाई ४० देखि ५० प्रतिशत तलब दिइरहेका छन् । अहिले रोकिएको शिक्षकको तलब पनि नियमित विद्यालय सञ्चालन भएपछि दिने उनले बताए ।

उनका अनुसार प्याब्सनमा आवद्ध २÷३ प्रतिशत विद्यालयले मात्रै मासिक शुल्क नियमित उठाउन सकेका छन् । प्याब्सनको शैक्षिक क्षेत्रमा दुई अर्ब रुपैयाँ प्रत्यक्ष लगानी छ । यस्तै स्थिति अझै कायम रहे निजी शैक्षिक संस्था उठ्नै नसक्ने गरी पछारिने सम्भावना रहेको उनको भनाइ छ ।

प्याब्सनमा पाँच हजार विद्यालय आवद्ध छन् ।

मारमा रात्रिकालीन व्यवसाय

पहिलो चरणको लकडाउन सुरु भएदेखि नै रात्रिकालीन व्यवसाय बन्द छन् । ठमेल पर्यटन विकास परिषद्का महासचिव धुब्र अधिकारीले व्यवसाय ठप्प हुँदा ठमेलका सबै होटल, रेष्टुरेन्ट, डान्स, क्लब तथा दोहोरीमा चिनियाँले आँखा लगाइरहेको बताए ।

‘नेपालीले भाडा तिरेर सञ्चालन गर्नै नसक्ने स्थिति आएको छ’ अधिकारीले भने, ‘यहाँका होटल तथा अन्य व्यवसाय चिनियाँले किन्न थालेका छन् । यो निकै दुखद स्थिति हो ।’

ठमेलमा १७ हजारले होटल तथा रेटुरेन्ट सञ्चालन गर्दै आएका थिए । पहिलोपटकको लकडाउनका कारण १७ प्रतिशत पर्यटन व्यवसायी विस्थापित भएका थिए । दोस्रो चरणको लकडाउनपछि करिब ३५ प्रतिशत विस्थापित भइसकेका छन् ।

ठमेलमा पर्यटन र रात्रिकालीन व्यवसाय सञ्चालनबाट करिब ५० हजारले रोजगारी पाएका थिए ।

चल्नै पाएनन् पार्टी प्यालेस

कोरोनाको पहिलो लहर आएसँगै बन्द भएका पार्टी प्यालेसहरु लयमा फर्कन सकेका छैनन् । पार्टी प्यालेस चल्ने सिजनमा लकडाउन भएपछि उनीहरु नराम्ररी थलिएका छन् ।

पहिलो र दोस्राे लकडाउनको बीचमा सरकारले विभिन्न मापदण्ड अपनाएर पार्टी प्यालेस सञ्चालन गर्न भनेको थियो । तर त्यो समयमा पनि कारोना जोखिमका कारण मानिसहरुको पार्टी प्यालेसप्रति खासै आकर्षण भएन ।

नेपा बैंक्योटका संचालक कृष्ण गिरीले कारोनाका कारण व्यवसाय नै धरापमा परेको भन्दै चिन्ता व्यक्त गरेका छन् । उनले भने, ‘कोरोनाको कारणले भाडा तिर्न सक्ने अवस्था छैन । अहिले ऋण लिएर भाडा तिरिरहेका छौं । अब केही समयपछि खुल्ला भनेर आस गरेका छौं । निषेधाज्ञा खुकुलो भएपछि पनि पार्टी प्यालेस तथा बैंक्योटमा विवाह जस्ता कार्यक्रम भएका छैनन् ।’

सिनेमा हलसँगै मनोरञ्जन क्षेत्र ठप्पै

कारोनाका कारण सिनेमा हलसँगै मनोरञ्जन व्यवसाय नराम्ररी प्रभावित भएका छन् । पहिलो चरणको लकडाउनदेखि बन्द भएको सीनेमा हल बीचमा एकचोटि खोल्न अनुमति दिइयो । तर त्यतिबेला पनि दर्शक हलसम्म गएनन् । दोस्रो चरणको निषेधाज्ञापछि त सिनेमा हल बन्द नै छ ।

डेढ वर्षदेखि हल बन्द भएपछि व्यवसायीहरु विस्थापित हुने स्थितिमा पुगेका छन् ।

नेपाल चलचित्र संघका अध्यक्ष मधुसुदन प्रधान भने, ‘पहिलो लकडाउनपछि पनि सबैभन्दा पछि सिनेमा हल खुलेको थियो, अब त कहिले खुल्छ भनेर अनुमान गर्न पनि गाह्रो छ । करोडौं लगानी गरेका सीनेमा व्यवसायी निकै मारमा परेका छन् ।’

सिनेमा हल सञ्चालनकसँगै सबै सिनेकर्मीलाई कोरोनाले असर गरेको छ । करोडौं खर्चिएर बनाइएको चलचित्र प्रदर्शन नहुँदा निर्माताहरु पनि पीडामा परेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *