ठोरी-भरतपुर सडक: लोकमार्ग कि सास्तीमार्ग !
चितवन । पर्साको ठोरी गाउँपालिका–२ गौतमनगरका सुदीप थापा चितवनको नारायणगढमा फेन्सी व्यवसाय गर्छन् । १२ वर्षयता व्यवसायमा सक्रिय थापालाई बेलाबखत घर जान निकै ठूलो जोखिम मोल्नुपर्छ ।
व्यवसायबाटै कार किनेका थापा घर जाँदा मोटरसाइकल वा सार्वजनिक बसको सहारा लिन्छन् । निकुञ्जको जीर्ण बाटोले कार कुद्न सक्दैन । चितवन राष्ट्रिय निकुञ्जको बगईदेखि अमुवा पोष्ट खण्डको बाटो निकै डरलाग्दो छ ।
३-५ मिटर साँघुरो बाटोको छेउछाउमा झाडी छन्, खाल्डाखुल्डी थुप्रै छन् । यही बाटोले ठोरी र माडीलाई जोड्छ । चितवनको माडी नगरपालिका र पर्साको ठोरी गाउँपालिका दुवैको अन्तिम विन्दु भएकाले यो बाटो बनाउन स्थानीय तहले पहल गर्दैनन् । प्रस्तावित केरुङ–ठोरी मार्गअन्र्तगत पर्ने निकुञ्जको यो बाटो १९ किलोमिटर छ ।
माडीमा निकुञ्जभित्रको दुई सडकखण्ड पर्छन् । कसरा-धुव्र-वनकट्टा खण्डमा मर्मतसम्भार भइरहेको छ । तर, बगई पारी ठोरी खण्ड भने अलपत्र छ । घर पुगेपछि वा नारायणगढ फर्केपछि थापाले युद्ध जितेको अनुभव गर्छन् ।
जंगली हात्ती, पाटेबाघबाट उम्किदै यात्रा गर्नुपर्छ । एक सातापछि भरतपुर फर्किन लाग्दा केही दिन पहिले निकुञ्जको बाटो छेउमै पाटेबाघ देखे उनले । मोटरसाइकल कुदाएर भागे । आउँदै गरेको स्कारपीयो भेटेपछि ढुक्क बने ।
‘ठोरी जान आउन निकै कठिन छ’, उनी भन्छन्, ‘लोकमार्ग भन्ने बाटोको हबिगतले मन पोल्छ ।’ २०३५ सालसम्म ठोरी चितवनको भुगोल थियो । घना जंगल पार गरेर सरकारी सेवा तथा अन्य सुविधा लिन चितवन आउन सास्ती खेप्नुपरेको भन्दै ठोरीलाई पर्सा जिल्लामा गाभियो । तर, ठोरीबासीको कारोबार बढी चितवनमै छ । थापा भन्छन्, ‘जनता वर्षौँदेखि जोखिम भोगिरहेका छन्, बाटो गतिलो बनाउन बजेट नै परेन ।’
ठोरीलाई वागमती प्रदेशकै मुख्य नाका बनाउने भनेर प्रचार गरिएको थियो । तर, प्रदेश-२ बाट चितवनमा गाभ्न नमिलेपछि ठोरी फेरि त्रिदेशीय प्वाइन्टका रुपमा चर्चित छ ।
भारत-नेपाल-चीन जोड्ने प्रस्तावित ठोरी-केरुङ लोकमार्गको एउटा अन्तिम बिन्दु यहीं पर्छ । तर, बाटो क्षतविक्षत हुँदा पनि केन्द्रीय नेतृत्वको ध्यान पुगेको छैन ।
छेउको भुगोल भएकाले प्रदेश–२ र वागमती प्रदेशले पनि बेवास्ता गरेको युवा व्यवसायी थापाको बुझाइ छ ।
ठोरी–२ चोक बजारका धिरसिंह घिमिरे हार्डवेयर व्यवसायी हुन् । ३ वर्षयता उनी यही व्यवसायमा छन् । करिब ५५ किलोमिटर परको वीरगञ्जभन्दा करिब ७५ किमि परको भरतपुरबाट समान मगाउँछन् उनी ।
वीरगञ्जतर्फको केही खण्ड जीर्ण भएकाले भरतपुरतिरै कारोबार गर्छन् । सामान मगाएपछि सधै एउटै पीरलो हुन्छ, निकुञ्जभित्र ट्रक फस्छ कि भनेर ।
बगईबाट ठोरी पुग्न करिब १ घण्टा लाग्छ । ‘१ घण्टामा नआए बाइक लिएर निकुञ्जै पुग्छौँ, त्यहाँ मोबाइलको नेटवर्क टिप्दैन’, उनी भन्छन्, “प्राय गाडी फसेको भेटिन्छ, जेसीवीले नै निकाल्नुपर्छ, सामान ल्याउन ट्याक्टर मगाउनुपर्छ ।’
पछिल्लोपटक असार ३ र ९ गते निकुञ्जको दबुबा खोलामा सिमेण्ट बोकेका ट्रक फसेका थिए । रातभरी ट्याक्टरमा अनलोड गरे । राति त्यहीं खाना खाए ।
ट्रक, ट्याक्टर कुर्न युवाहरु रातभर जाग्राम बसे । दबुबा क्षेत्र जंगली हात्ती धेरै भेटिने ठाउँ हो । पछिल्लो एकसातामा निकुञ्जको यही खण्डमा २ बसहरु करिब ३–४ घण्टा फसे । यात्रुहरु ओरालेर बाटो सम्याउँदै धकेल्नुपर्यो ।
धेरैको गइसक्यो ज्यान
पसलमा राख्ने सामान किन्न २०७६ कात्तिक ३० गते बिहान माडी बरुवाका बाबुराम पौडेल र छोरा राजुले मोटरसाइकलमा जाँदा अमुवा पोष्ट नजिकै हात्तीको आक्रमणमा परी ज्यान गुमाए । टिउकी खोलामा बस फसेपछि यात्रुलाई ट्याक्टरमा उद्धार गरी लैजाने क्रममा ट्याक्टर बगाउँदा गत असोज १ गते डेढ महिनाका बालकको ज्यान गयो ।
कञ्चनपुरबाट निरुता सुनार नाबालकसहित ठोरी-१ सरस्वतीनगर माइती आउनेक्रममा दुर्घटना भएको थियो । चितवन नारायणी माडी–ठोरी यातायात उपसमिति संयोजक हितमान गुरुङले यात्रु बोकर आएपछि बसहरु ग्यारेजमा मर्मत गर्न लैजानुपर्ने बताउँछन् ।
‘निकुञ्जखण्डमा मात्रै दुई दर्जन खोला-खोल्सा छन्, सामान्य पानी पर्दा पनि रोकिनुपर्छ’, उनले भने, ‘अन्यत्रको कालोपत्रे भैसक्यो, निकुञ्जभित्रको बाटो जीर्ण छ, बेलैमा मर्मत भए हुन्थ्यो ।’
एक घण्टामा पार हुने बाटो बिग्रेकै कारण साढे २ घण्टासम्म लाग्ने उनको भनाइ छ । वर्षायाममा चालकले जोखिम मोलेरै बस चलाउनुपर्ने बाध्यता छ । माडीबाट दैनिक ३५ सार्वजनिक बसहरु छुट्छन्।
ठोरीबाट दैनिक ८ बस छुट्छन् । ठोरी-माडीहुँदै काठमाडौं, पोखरा, नेपालगञ्ज, बाग्लुङसम्म बसहरु चल्छन् । लामो अवधि थन्केपछि आजकल चल्न लागेका बसहरु समेत बाटोकै कारण कम सञ्चालनमा छन् ।
निकुञ्जको बगई पोष्ट जोड्ने पुल निर्माणाधीन छ । निकुञ्जको बगई–अमुवा सडक पार गरेर दक्षिण लागेपछि चितवनकै बाँदरझुला सुकुम्बासीवस्ती आउँछ । अरु भुगोल पर्सा जिल्ला पर्छ ।
माडी नगरपालिकाका प्रवक्ता तथा ९ नम्बर वडाका वडाध्यक्ष शिवहरि सुवेदी केन्द्रीय नेतृत्वले यो बाटो सुधारमा ध्यान नदिएको स्वीकार्छन् । ‘वर्सेनी थोरै बजेटले मर्मत भएकै हो, तर स्तरोन्नति गर्ने बजेट कहिल्यै परेन’, उनी भन्छन्, ‘शीर्ष नेताबाट जनताका अगाडि आश्वासन ठूला दिने तर पछि भुल्ने काम भए ।’
सघन सहरीमार्फत केन्द्रले २ वर्ष ५०-५० लाख बजेट दिएको थियो । यसपालि भने बजेट छुट्याइएको छैन । ‘असारतिर बजेट आएको हल्ला चल्छ, निकुञ्ज भित्र काम गर्ने प्रक्रिया सजिलो छैन’, उनी भन्छन्, ‘यसपालि पनि आउँछ भनेर बसेका थियौँ, तर आएनछ ।’
यो सडकखण्डमा धेरै खोला तथा खोल्सा पर्ने भएकाले मर्मत गरिएको बाटो वर्षायाममा जीर्ण हुँदै आएको छ । ‘वडाको थोरै बजेटले पुग्दैन, केन्द्र तथा प्रदेश सरकारकै भर पर्नुपर्छ’, उनी भन्छन्, ‘शीर्ष नेताबाट दबाब भैदिएको भए यस्तो कष्ट हुन्थेन ।’
पर्सा जिल्लाको ठोरी गाउँपालिकाका गाउँप्रमुख पिएल श्रेष्ठ चितवनको भूगोल पर्ने भएपनि बेला बखत मर्मत गरिएको दाबी गर्छन् । ‘ठोरीका जनता पनि हिँड्ने बाटो भएरै अर्कै प्रदेशको भुगोल भए पनि मर्मत गरेका थियौँ’, उनी भन्छन्, ‘तर ठूलो बजेट नपर्दा जनताले सास्ती भोग्नुपरेको छ, हाम्रो सानो बजेटले पुग्दैन ।’
उनका अनुसार ३ वर्ष पहिले गाउँपालिकाले जेसीबी लगाएरै खाल्डाखुल्डी पुर्ने काम गरेको थियो । तर निकुञ्जले समेत बाटो छेउछाउको झाडी सरसफाइ गर्न ध्यान दिएको छैन ।
ठोरीलाई वागमती प्रदेशमै गाभ्ने भनेर पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चुनाव जितेलगत्तै प्रतिवद्धता जनाएका थिए । चुनावमा ठोरी-केरुङ लोकमार्ग बनाएर माडीलाई मणि बनाउने आश्वासनसमेत बाँडे । नाकाबन्दीका बेला ठोरी क्षेत्रबाटै धेरै जिल्लाकाले इन्धन ओसारे । ठोरीमा डेढ लाखसम्मको विलिङ गर्न मिल्ने गरी छोटी भन्सार स्थापना गर्ने माग भएपछि हालसम्म पूरा भएको छैन ।
अहिलेको छोटी भन्सारमा ५ हजार रुपैयाँसम्मको बिलिङ गर्न पाइने भएपनि बन्द अवस्थामै छ । ठोरी-वीरगञ्ज हुलाकी मार्ग अर्तर्गत करिब ८ किलोमिटर ठोरीको बाटोसमेत निकुञ्जलगायतका कारण कालोपत्रे हुन सकेको छैन । लोकमार्ग निकुञ्ज हुँदै खुल्नेमा कैयनले पत्याउँदैनन् । तर, लोकमार्ग बनाउने चर्चा भएको एक दशक पुग्यो । निकुञ्जभित्रको बाटो भने उस्तै छ ।