‘अराजक यात्री’ अजितको मुर्चुङ्गाप्रेम
इटहरी । पोखरा लेकसाइडका रैथाने हुन्, अजित बराल । पोखरा महानगरपालिका– ६ शान्तिपाटनका उनी आफूलाई ‘लेकसाइडका आदिवादी’ भन्न रुचाँउछन् । भन्छन्, ‘हामी लेकसाइड नाम भन्दा जेठो हौँ ।’
बराललाई हिँड्न औधी मन पर्छ । एक हिसाबले उनी ‘अराजक यात्री’ हुन् । बाल्यकालमै उनी परिवारका सदस्यलाई थाहै नदिइ काठमाडौं पुगे ।
पाँच कक्षामा पढ्दै गर्दा उनी पोखराबाट साइकलमा काठमाडौं पुगेका थिए । त्यतिबेला ‘बालक हराएको सूचना’ भनेर उनको तस्बिर पत्रिकामा छापियो । हिँडाइमा एडिक बरालको हिँड्ने भोक अझै हराएको छैन ।
३४ वर्षका भए बराल । उनले उमेरभन्दा डबल देश घुमिसके । ७१ देश घुमेका उनलाई पछिल्लो समय कोरोनाले बाटो छेकिदिएको छ ।
७१ देश घुमेका बरालले मान्छेको आवादी भएका दुनियाँका सबै महादेश टेकेका छन् । साइकलमार्फत् यात्रा गरेका उनी एसिया, युरोप, अस्टे«लिया, अफ्रिका, उत्तर अमेरिकादेखि दक्षिण अमेरिकासम्म पुगेका छन् । एसियामा चीन, पाकिस्तान र भुटान पुग्न बाँकी छ । युरोपमा जर्मनी, नेदरल्यान्ड, बेल्जियम, फ्रान्स र स्वीजरल्यान्ड घुमेका छन् ।
जुन–जुन देश पुगे त्यहाँ उनले नेपालको झण्डा र मुर्चुङ्गा पुर्याएका छन् ।
पशुपतिको धुन र मुर्चुङ्गा प्रेम
२०६५ सालताका बराल काठमाडौंको भिएस निकेतन कलेज पढ्थे । बसाइँ वौद्धमा थियो । उनी दैनिक पैदलयात्रा गर्दै तीनकुनेस्थित कलेज आउँथे । पैसा नभएर होइन, गाडी चढ्न मन नलागेर पैदल हिँड्थे ।
उनी वौद्धबाट गौरीघाट निस्केर पशुपतिहुँदै कलेज आउथे । एक दिन कलेज आउँदा पशुपति क्षेत्रमा रोचक धुन सुने । धुनले उनलाई तान्यो । उनी धुनको पाइला खोज्दै हिँडे । मृगस्थलीमा कसैले मुखले बाजा बजाएको देखे । जोगीले बजाएको बाजा खुब रमाइलो गरी हेरे ।
उनलाइ ‘मुखले बजाएको बाजा’ औधी मन पर्यो । बाजा किन्न ठमेल गए, खोजे, किने । थाहा पाए, त्यो बाजा मुर्चुङ्गा रहेछ ।
मुर्चुङ्गाबारे बुझे । किराँतको मौलिक बाजा मुर्चुङ्गाप्रति प्रेम बढ्यो । अनि त्यसको प्रवद्र्धन गर्ने निधो गरे ।
‘यहीं बाजाबाट ‘माउथ हार्मोनी’ आएको रहेछ, गितारको अवधारणा आएको रहेछ’, बराल भन्छन्, ‘यो बाजा भनेकै तपाईं हो । तपाईं भनेकै बाजा हो । किनकि यो बाजा तपाईंको स्वास बिना बज्दैन । यसमा जे तपाईं बोल्नुहुन्छ त्यहीं संगीत हो ।’
बरालका अनुसार यो बाजाको सामान्य सिकाइ दुइ मिनेटमै हुन्छ । धुन निकाल्न भने थप मेहिनेत गर्नुपर्ने हुन्छ ।
मुर्चुङ्गाः धेरै देशको आदिवासी बाजा
एकै लटमा बण्डलका बण्डल मुर्चुङ्गा खरिद गर्थे । बजाउन सिकाउँथे । कतिपयलाई त बाँढ्थे । यसरी बजाउन सिकाउने र बाँढ्ने काम उनले साइकलको संसार सफरमा पनि रोकेनन् । अहिलेसम्म देशविदेश गरेर तीन सय बढीलाई बजाउन सिकाएको र सयौँलाई बाढेको उनी बताउँछन् ।
उनले धेरै देशमा मुर्चुङ्गा देखे । भारतमा देखे । पूर्वी एसियाको लाओस, कम्बोडिया, भियतनामदेखि थाइल्याण्डलगायतका देशमा देखे । युरोपको जर्मनी, फ्रान्स हुँदै युक्रेनदेखि रुससम्म मुर्चुङ्गा देखे । अफ्रिकी देशहरु तान्जानिया, कंगोलगायतका देशमा पनि देखे ।
मुर्चुङ्गाको नाम देश अनुसार फरक–फरक पाए बरालले । ‘भारतको राजस्थानतिर मोर्चोङ भन्दा रहेछन’, बराल भन्छन, ‘भियतनाममा दानमोइ र रुसमा हुमुस भन्दा रहेछन् ।’
मुर्चुङ्गाको मौलिक विकास भने रुसमा धेरै भएको बरालले पाए । उनका अनुसार नेपालमा दुई सयदेखि साढे दुई सय रुपैयाँमा मुर्चुङ्गा किन्न पाइन्छ । रुसका स्तरीय मुर्चुङ्गा भने पचासदेखि साठी हजार नेपाली रुपैयाँमा पाइन्छ । रुसमा ‘थ्रोट सिंगिङ’मा समेत मुर्चुङ्गा प्रयोग भएको उनले देखे ।
लोपोन्मुख मुर्चुङ्गालाई लोकप्रीय बनाउने तीन सुत्र
ऐतिहासिक बाजा भएर पनि मुर्चुङ्गा लोपोन्मुख भएकोमा बराल चिन्तित छन् । भन्छन्, ‘मुर्चुङ्गा हराउँदै गएको छ, यो चिन्ताको विषय हो ।’
मुर्चुङ्गा जोगाउन बरालका तीन सूत्र छन् । एक, विभिन्न सांसकृतिक कार्यक्रममा निरन्तर आयोजना गर्ने । कार्यक्रममा मुर्चुङ्गालाई प्राथामिकताको साथ प्रस्तुत गर्ने । मुर्चुङ्गा प्रयोग गर्ने समुदायले यसको नेतृत्व गर्ने । दुई, मुर्चुङ्गा विशेष सांगीतिक कार्यक्रम आयोजना गर्ने । कार्यक्रमबाट नयाँ पुस्तालाई आकर्षण गर्ने । तीन, मुर्चुङ्गा प्रयोगलाई लोक तथा परम्परागत गीतहरुमा व्यापक प्रयोग गर्ने । मुर्चुङ्गा बजाउने तरिका सिकाउन अनलाईन र अफलाईन ट्युटोरियलहरु राख्ने ।
मुर्चुङ्गालाइ विकास र विस्तार गर्न संगीतकारहरुको अझै महत्वपूर्ण भूमिका हुने बराल बताउँछन् । उनी भन्छन्, ‘नेपाली मुर्चुङ्गाको अपडेटेड भर्सन निकाल्न आवश्यक छ ।’
मुर्चुङ्गा सानो आकारको धातुको बाजा भएकोले सहजै जहाँ पनि बोकेर लैजान सकिने र सस्तो बाजा भएकोले धेरैको आकर्षण हुनसक्ने बरालको बुझाइ छ ।