ज्यानबाहेक सबै बगायो, अब ज्यान चाहिँ कसरी बँचाउने ? (भिडियोसहित)
चितवन । कालिका–१० तीनदोभानका बुद्ध चेपाङको परिवार नदी किनारमा बनाएको बाख्रा खोरमा बस्छन् । मजवाङ खोलाले असार १७ गते एकाबिहानै घर, गोठ बगापछि उनी बाख्राको खोरमा बस्न थालेका हुन् । उनको पाँचजनाको परिवार खोरमा रात कटाइरहेका छन् ।
२० बोरा जति धान फल्ने करिब एक विघा जग्गा पनि बाढी पसेर क्षणभरमै बगरमा परिणत भयो । आयआर्जन गर्न पालेका बाख्रा, लोकल कुखुरा, सुंगुर पनि भेलले लग्यो । ‘घरनै लगेपछि छिमेकीको बाख्राको खोरमा बसेको छु’, बुद्ध भन्छन्, ‘अन्यत्र जग्गा छैन, अब कता जाउँ ?’
उनकी श्रीमती इष्टमाया सरकारले जहाँ भए पनि सुरक्षित ठाउँमा सारिदिने आशमा छिन् । ‘न खेत छ, न पैसा, सबै बगायो’, उनले भनिन्, ‘विपद्मा परेका हामीलाई सरकारले घर दिए हुने ।’
१५ वर्ष पहिले मजवाङको पाखोबारी छाडेर समथर उर्वरभूमी खोज्दै तीनदोभान झरेका थिए उनीहरु । मजदुरी गरेर कमाएको डेढ लाखले १ विघा खेत जोडे, तर अहिले सबै बगर छ । मजवाङ, देउजर पैमाङ खोला मिसिएको क्षेत्र भएकाले यो ठाउँलाई तीनदोभान भनिएको हो ।
मजवाङ माविको निर्माणाधीन छात्रवासमा कृष्णबहादुर प्रजाको ९ जनाको परिवारले आश्रय लिएका छन् । उनको पनि साढे २ विघा ऐलानी जग्गा बगर बनेको छ । चेउराङबाट ३० वर्ष पहिले फेदी झरेका कृष्णबहादुरको घरको एक पाखोनै छैन । ‘बास बस्ने ठाउँ नभएर नजिकैको स्कुलको भवनमा बसेको छु’, उनी भन्छन्, ‘अलिपछि त्यहीं बगरमा घर बनाउनुपर्ला, अन्त जग्गै छैन ।’
कालिका–११ कामिमाङका विष्णु चेपाङ लालिवाङ र खहरे खोल्सा बीचको भीरपाखामा अस्थायी टहरा बनाएर बस्न थालेका छन् । फेदीको घरमा मजवाङ खोला पसेर हिलाम्मे छ । पुरानो घरका जस्ता, केही खम्बा लगेर अस्थायी टहरो बनाएका छन् । साढे ५ कट्टठा जग्गा छ । बा, आमासँगै बसेका विष्णुकी श्रीमती गर्भवती छन् । उनका सानो एक छोरा पनि छन् । ‘अन्नपानी केही बचाउँन सकिएन, मान्छेमात्रै बाँचियो’, उनी भन्छन्, “विचल्लीमा छौँ, घर भत्केको छ, खाने अन्न पनि छैन ।’
उनको घर नजिकै सानुमाया चेपाङको घर छ । सानुमायाका तीन छोराहरुको घर खेत पनि नजिकै छ । ‘एकाबिहानै बाढी पस्न थालेपछि भागेर बाँचियो’, ५७ वर्षिया सानुमाया भन्छिन्, “भकारीनै बगायो, लत्ताकपडा, भाँडा सबै लग्यो ।’
उनीहरु पनि भीरपाखोमै अस्थायी घर बनाएर बसेका छन् । बा, आमालाई समेत पाल्दै आएकी सानुमाया बाढीले विचल्लीमा पारेको दुखेसो सुनाउँछिन् । ‘केही दिन खानलाई अन्न छ, त्यसपछि के गरी खाने हो ?’, उनी भन्छिन्, ‘धान रोपेको खेतमा गेग्रान भरिएको छ, ढुंगाको थुप्रो छ ।’
१५ हजार जति खर्चेर रोपेको खेत उजाडिएको छ । २०५९ सालमा होइलिङको खेतबारी पहिरोले पुरेपछि उनीहरु बसाइ सरेका थिए । उता होइलिङका गुतीलाल चेपाङको घरमा पनि बाढीले क्षति पुर्यायो । सानो किराना पसलका सामान भेलले बगायो । उनको ४ कट्टठा खेत छ ।
कालिका–१० तीनदोभानका दिनेश चेपाङको स्टेशनरी पसल नै कर्मिगैरा खोल्साले लग्यो । करिब डेढ लाखको क्षति भयो । रत्नेसको आधारभूत विद्यालयका प्रधानाध्यापक दिनेश चेपाङ अगुवा हुन् ।
‘करिब १५ परिवार आवासविहिन छन्, छिटै आवास सुविधा गर्नुपर्छ’, उनी भन्छन्, ‘मन्त्री, नेता अवलोकन गरेर फर्किए, तर जनताले केही पाएनन् ।’
चेपाङ अभियान्ता केपीकिरण शर्माले सरकारले बाढीप्रभावित परिवारलाई नहेरेको बताए । ‘घरबारविहिनले छाप्रो पाएका छैनन्, बाख्राको खोरमा, आफन्तीकोमा बस्नुपरेको छ’, उनी भन्छन्, ‘प्रभावित परिवारलाई उचित आश्रय र खाद्यान्न सुविधा दिन ढिलाइ गर्नु हुँदैन ।’
कालिका नगरपालिकाले बाढी प्रभावित क्षेत्रमा विशेष राहत प्याकेजको योजना ल्याउन लागेको जनाएको छ । सूचना अधिकारी प्रकाशचन्द्र पौडेलले केही दिनमै विशेष प्याकेज लैजाने तयारी भइरहेको बताए ।
उनका अनुसार १० र ११ नम्बर वडा जोड्ने मुख्य सडकमा खसेको पहिरो जेसीवी लगाएर हटाउने काम भएको छ । नगरपालिका क्षेत्रका १८ घर तथा भवनहरु बाढी पहिरोले पूर्णक्षति भएको नगरपालिकाले जनाएको छ ।
वागमती प्रदेशका मुख्यमन्त्री, कृषिमन्त्री, कानुनमन्त्री असार ३० गते स्थलगत अवलोकनमा आएका थिए । मेयर खुमनारायण श्रेष्ठ बाढी, पहिरोले क्षति पुर्याएको २ दिनपछि आएका थिए । उनले प्रभावित परिवारलाई छिटै स्थानान्तरण गरिने आश्वासन दिएका थिए ।