तीन एजेण्डामा छलफल गर्न एमाले बैठक बस्दै, अब माधव नेपाललाई नपर्खिने – Nepal Press

तीन एजेण्डामा छलफल गर्न एमाले बैठक बस्दै, अब माधव नेपाललाई नपर्खिने

काठमाडौं । नेकपा एमाले स्थायी कमिटीको बैठक अब माधव नेपाललाई पर्खेर नरोकिने भएको छ । शनिवार विघटित कार्यदलका दुवै पक्षका सदस्यहरुको आग्रहमा स्थगित भएको बैठक आज अपरान्ह ३ बजे बस्ने भएको छ ।

विघटित कार्यदलका नेताहरु केपी ओली र माधवकुमार नेपालबीच वार्ता गराउन प्रयासरत रहे पनि नेपालले बिना एजेण्डा ओलीसँग नभेट्ने बताएका छन् । आफू निकट कार्यदलका सदस्यहरुसँग नेपालले १० बुँदे सहमति र अर्को वा दोस्रो अध्यक्ष जे भने पनि स्वीकार्य नहुने शनिवार पनि बताएका थिए ।

नेता नेपालले ओली अन्तर्गत बस्न आफू तयार नरहेको कार्यदलका दुवै पक्षका नेताहरुलाई बताएका छन् । त्यसैले एमाले एकता प्रक्रिया पेचिलो बनेको छ । नेपाललाई एमालेमा कुनै स्थान नरहेको भनेर अध्यक्ष ओलीले शनिवार नै बताएपछि वातावरण थप बिग्रिएको नेपाल निकट कार्यदल सदस्यहरुको भनाइ छ ।

आजको स्थायी कमिटी बैठक विधान महाधिवेशनको तयारी,केन्द्रीय विभागहरु गठन र सदस्यता नविकरण लगायतका सांगठनिक विषयमा केन्द्रित हुने एमाले केन्द्रीय कार्यालय सचिव शेरवहादुर तामाङले जानकारी दिए ।

शनिवार बैठक बसे पनि एजेण्डामा प्रवेश गरेको थिएन । विघटित वार्ता टोलीका संयोजक सुवास नेम्वाङले माधव नेपालसँगको आफ्नो र विष्णु पौडेलको कुराकानीका विषयमा जानकारी गराउँदै नेपाल एकताको पक्षमा नरहेको सुनाएका थिए । तर नेपाल पक्षधर वार्ता टोलीका नेताहरुले अन्तिमपटक कुराकानी गर्ने भनेकाले शनिवारको बैठक नेम्वाङको आग्रहपछि स्थगित भएको थियो ।

शनिवारको बैठकमा उपाध्यक्ष वामदेव गौतम पनि सहभागी थिए । अब आजको बैठकबाट पार्टी अघि बढ्ने नेताहरुले बताएका छन् । माधव नेपाल पक्षधर वार्ताकार नेताहरुलाई पनि बैठकमा सहभागी हुन आग्रह गरिएको छ तर आजै उनीहरु सहभागी हुने सम्भावना छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर