‘सरकारी संयन्त्रकै बेवास्ताले रातो पुल जोगिएन’ (भिडियो) – Nepal Press

‘सरकारी संयन्त्रकै बेवास्ताले रातो पुल जोगिएन’ (भिडियो)

सिन्धुपाल्चोक । असार १ गते मेलम्चीमा बाढी आएको भोलिपल्टदेखि नै हेलम्बु गाउँपालिकाको चनौटेमा रहेको रातो पुल धेरैको चर्चामा रह्यो । पुल जोगाउने ‘अभियान’मा धेरै व्यक्ति त्यहाँ पुगे । ग्याभिन जालीमा ढुंगा हालेको तस्बिरहरुले सामाजिक सञ्जाल भरियो । बाढी गएलगतै नेपाली सेनाको अगुवाईमा रातो पुल संरक्षणका लागि तार जाली भर्न सुरु भएको थियो ।

शनिबार साँझदेखि आएको बाढीका कारण सोही बेलीब्रिज बगाएको छ र हेलम्बु गाउँपालिकाका अधिकांश वडालाई सडक सम्पर्कबाट बन्चित गराइदिएको छ । स्थानीयको तर्फबाट हस्त पण्डितको अगुवाईमा रातो पुल संरक्षणका लागि दैनिक रुपमा पहल प्रयत्न भएका थिए । तर जोखिममा रहेको डेढ महिनासम्म सरकारी प्रयत्न नभएका कारण ठूलो क्षति भएको एमाले नेतासमेत रहेका पण्डितले बताए ।

प्राविधिक ज्ञान बिनानै हामीले गर्ने पहल प्रयत्न सबै गरेका थियौं, रातो पुल र चनौटे बजार जोगाउन हामीले करिब ५० लाख रुपैयाँ खर्च भयो,’ पण्डितले भने, ‘तर तीनै तहको सरकारबाट अहिलेसम्म केही भएन ।’

एक साताअघि मात्रै वागमती प्रदेशका मन्त्री रामेश्वर फुयालले रातो पुल जोगाउनका लागि प्रदेशबाट जस्तो सहयोग गर्न पनि तयार रहेको जानकारी आफुहरुलाई आएको पण्डितले बताए । अहिलेसम्म सासंद शेरबहादुर तामाङबाट १० लाख बाहेक स्थानीय, प्रदेश र केन्द्रीय सरकारबाट सहयोग प्राप्त नभएको पण्डितले गुनासो गरे ।

‘प्रदेश मातहात रहेको पूर्वाधार कार्यालयबाट आइतबार(आज) मात्रै प्राविधिकहरु पुलको स्टीमेट गर्न आउने जानकारी आएको थियो, अब पुल नै रहेन,’ पण्डितले निराश हुँदै भने, ‘अब हेलम्बु क्षेत्र अन्धकार भयो ।’

सरकारी संयन्त्रको ढिलासुस्तीको कारण पनि पुल जोगाउन नसकिएको आरोप बताए । बाढीलगतै वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलसहितको टोलीले पुल क्षेत्रको स्थलगत निरीक्षण गरेर बजार र पुल जोगाउन जस्तोसुकै सहयोग गर्न पनि आफुहरु तयार रहेको बताएको डेढ महिना सम्म पनि प्रदेश सरकारले समेत केही नगरेको स्थानीयको भनाई छ । मेलम्ची खोलाले धार परिवर्तन गर्दा अहिले चनौटे बजारमै बगेको छ ।

शनिबारको बाढीले १७ घर बगायो, हेलम्बु गाउँपालिकाको सडक सम्बन्ध टुट्यो

असार १ को बाढीपछि मेलम्ची नदीमा माथी बाँकी रहेको एउटा पुल आइतबार बिहानै बगाएसँगै हेलम्बु गाउँपालिका सडक सम्बन्ध बाट पुर्णतय विच्छेद भएको छ । हेलम्बु गाउँपालिका ३ र ४ जोड्ने ३० मिटर लामो पक्की पुल बगाएपछि यहाँका बासिन्दा समस्यामा परेका छन् ।

‘असार १ गतेको बाढीले सडक सम्बन्ध टुटे पनि गाउँपालिका, नगरपालिका र सरकारी सक्रियतामा चनौटेसम्म यसअघि नै सडक सूचारु ग्रिएको थियो, अब रातो पुल बगाएपछि हेलम्बु सडक सम्बन्धबाट टाढिएको छ,’ गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले भने ।

मेलम्ची खानेपानी आयोजनाको मुहानस्थलसम्म जाने यो पुल बगाएपछि अब आयोजनाको कामसमेत ढिला हुने भएको छ ।

रातो पुल बगाएसँगै अब हेलम्बु क्षेत्रमा खाद्यन लगायत अन्य दैनिक उपभोग्य सामग्रीहरुको अभाव हुनसक्छ । स्थानीय विरामी हुँदासमेत अब हेलिकोप्टरबाहेक अन्य विकल्प नरहेको गाउँपालिका अध्यक्ष शेर्पाले बताए ।

शनिबार राती आएको बाढीले हेलम्बु क्षेत्रका स्थानीयको घर समेत बगाएको प्रहरीले जानकारी दिएको छ । मेलम्ची नदी किनारमा रहेको नौ वटा पक्की घर र ८ कच्ची घर बाढीले बगाएका प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एसपी राजन अधिकारीका अनुसार ग्याल्थुममा रहेको एउटा झोलुङगे पुल समेत बगाएको छ, त्यस्तै ग्याल्थुम बजार उच्च जोखिममा रहेको छ । हेलम्ब–२ किउलका ४ घर ग्याल्थुममा १,चनौटे १, चिउरीखर्कमा ३ घर र गैरीबेसीमा १ घर बगाएको छ ।

अबिरल वर्षाले भन्दा पनि यस अघि हेलम्बुको शीरमा रहेको भ्रेमाथाङमा आएको पहिरोले नै खोलाको सतह बढेको हुन सक्ने सुरक्षा स्रोतको अनुमान रहेको छ ।

‘हामी त्यस तर्फ जान सक्ने अवस्था छैन,’ हेलिकोप्टरमा त्यहाँ पुगेर फर्केकाले दिएको सूचना अनुसार भ्रेमाथाङमा अहिले पनि निरन्तर पहिरो झरिरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी प्रमुख एसपी राजन अधिकारीले जानकारी दिए ।

माथीको पहिरो नरोकिँदासम्म तल्लो क्षेत्रमा जोखिम कायम नै हुने उनले बताए । सरकारी स्तरबाट उक्त क्षेत्रको अवलोकन गरेपछि मात्रै सबै जानकारी आउने एसपी अधिकारीले बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *