बेत्रावती सन्धीलाई नेपाल–चीन कूटनीतिक सम्बन्धको आधार किन नमान्ने ?
इटहरी । अगस्ट १ अर्थात् नेपाल–चीन औपचारिक कूटनीतिक सम्बन्ध सुरुवातको वर्षगाँठ हो, आज । जनवादी गणतन्त्र चीन र नेपालको कूटनीतिक सम्बन्ध स्थापनाका लागि १९५५ जुलाई २७ अर्थात् २०१२ साल साउन १२ गते नै चिनियाँ प्रतिनिधिमण्डलको टोली नेपाल आएको थियो । र अगस्ट १ मा सम्बन्ध स्थापित गरिएको थियो ।
तत्कालीन राजा महेन्द्रले प्रधानमन्त्री मात्रिकाप्रसाद कोइरालालाई हटाएर सत्ताको स्वमित्व लिएको बेला चीन र नेपालबीच औपचारिक रुपमा कूटनीतिक सम्बन्ध स्थापित भएको हो ।
भारतको समन्वयमा नेपालमा राणा, राजा र नेपाली कांग्रेसको दिल्ली सम्झौतासँगै २००७ साल फागुन ७ गते राणा–कांग्रेस सरकार बनेको करिब साढे चार वर्षपछि चीनसँग औपचारिक कूटनीतिक सम्बन्ध बनेको थियो ।
त्यतिबेला नेपाल र चीनको हिमचिमसँग भारत खुशी थिएन । भारतमैत्री राजा त्रिभुवनको स्विजरल्याण्डमा मृत्यु भएको करिब पाँच महिनापछि नेपाल–चीन सम्बन्ध सुरुवात भएको थियो ।
सम्बन्ध स्थापना भएको दिनको डायरीमा वीपी कोइरालाले ‘भारत बेखुश तर आफू खुशी’ भएको लेखेका छन् । उनले लेखेका छन्– आज चीनसँग नेपालले सम्झौतामा हस्ताक्षर गर्यो । यो चीनसँग दौत्य सम्बन्धको सुरुवात र नेपाली नयाँ पक्षको प्रवेश हो । कूटनीतिक सम्बन्धको सुरुवातको लागि एउटा चिनियाँ प्रतिनिधिमन्डल राजधानी आइपुगेको थियो । वार्ताहरु अत्यन्तै गोप्य रुपमा सम्पन्न भए । यसबारे सल्लाह नगरेको भन्दै भारतीय पक्ष रुष्ट थियो । तर, मैले यी वार्ताहरुको स्वागत गरेको थिएँ ।
काठमाण्डौको शिख बुक्स्ले प्रकाशन गरेको ‘वीपी कोइरालाको डायरी’ पुस्तकमा यी प्रसङ्ग उल्लेख छन् ।
सन् १९५५ अगस्ट १ को नेपाल–चीन कूटनीतिक सम्बन्धलाई स्वागत गरेका वीपी आफैंले ‘नेपाल चीन शान्ती तथा मैत्री सन्धि’मा हस्ताक्षर गरे । सन् १९६० अप्रिल २८ (२०१७ वैशाख १६)मा नेपाल भ्रमरणमा रहेका चिनियाँ प्रधानमन्त्री चाओ एन्लाइ र नेपालका तत्कालीन प्रधानमन्त्री वीपी कोइरालाबीचमा उक्त सम्झौता भएको थियो ।
नेपालको चीनसँग सन् १९५५ अगस्ट १ बाट मात्रै दौत्य सम्बन्ध भएको मानिन्छ । यसमा नेपालको पररास्ट्र मन्त्रालयदेखि चीनको एकै मत छ । बेलायतसँग भने सन् १८१६ बाटै नेपालको कूटनीतिक साइनो भएको मानिँदै आएको छ ।
सन् १८१६ मा भएको सुगौली सन्धीबाट नेपालको बेलायतसँग सम्बन्धको प्रारम्भ भनिन्छ । पररास्ट्र मन्त्रालयले आफ्नो आधिकारिक वेबसाइटमा सन् १८१६ बाटै नेपाल बेलायत सम्बन्धको मिति लेखिएको छ । तर, नेपाल–चीन सम्बन्धमा भने सन् १९५५ अगस्ट १ मात्रै मानिन्छ ।
जबकि बेलायतसँग सगौलीसन्धी हुनुभन्दा २४ वर्षअघि नै चीनसँग ‘बेत्रावती सन्धि’ भएको थियो । नेपाल अंग्रेज युद्धमा नेपाल हारेपछि सुगौली सन्धि भएको थियो । नेपाल भोट युद्धमा चीनले हस्तक्षेप गरेपछि नेपाल हारेर सन् १७९२ अक्टोबर २० मा चीनसँग बेत्रावती सन्धी भएको थियो ।
सन् १७९१–९२ मा नेपाल–भोट युद्धमा आक्रमणकारी नेपाली फौजलाई खेद्दै केरुङ कटेर नुवाकोटको बेत्रावती आए । काठमाण्डौ पुग्न धेरै बाँकी थिएन । नेपाल सन्धी गर्न तयार भयो ।
सन्धीमा नेपाल र तिब्बतले चीनलाई ‘बा मान्नुपर्ने र एकअर्कालाई दाजुभाइ मान्नुपर्ने, हरेक पाँच बर्षमा नेपालले चीनलाई आफ्ना उपहार लिएर जानुपर्ने, नेपाल–भोट बीचमा विवाद आए चीनले मिलाउने, नेपाललाई कुनै विदेशी शक्तिले आक्रमण गर्दा चीनले सहयोग गर्ने लगायतका बुँदाहरु थिए, सन्धीमा ।
किन बेत्रावती सन्धीबाट नेपाल–चीन सम्बन्ध सुरु भएको मानिन्न ?
पररास्ट्र मन्त्रालयकी प्रवक्ता एवम् सहसचिव सेवा लम्साल नेपाल–चीन सम्बन्ध सन् १९५५ बाटै मान्नुलाई चीनमा आएको परिवर्तनसँगैको सम्बन्धलाई स्वीकारेको रुपमा बुझिएको बताउँछिन् ।
चीनका लागि नेपाली पूर्वराजदूत टंक कार्की भने सन् १९५५ को सम्बन्ध नेपाल–चीन कूटनीतिकको सुरुवात नभएर नवीकरण मात्रै भएको बताउँछन् । सन् १७९२ मा भएको बेत्रावती सन्धीभन्दा अगाडि पनि चीनसँग नेपालको कूटनीतिकस्तरमा सम्बन्ध भएको कार्की बताउँछन् ।
सन् ६४४ मा चिनियाँ राजदूत नेपालहुँदै भारत गएको इतिहास भएको बताउँछन् उनी । कार्कीले नेपाल र चीन कूटनीतिक सम्बन्धको प्रारम्भ कहिले भएको भन्ने बारेमा नेपाल र चीनले आधिकारिक धारणा बनाउन सक्ने बताए ।