पश्चिम नवलपरासीमा कांग्रेस क्रियाशील सदस्य विवाद चर्कियो, सूची सच्याउन माग – Nepal Press

पश्चिम नवलपरासीमा कांग्रेस क्रियाशील सदस्य विवाद चर्कियो, सूची सच्याउन माग

रुपन्देही । सहमति विपरीत केही नेताको दबाबमा नेपाली कांग्रेसको क्रियाशील सदस्य थप गरिएको भन्दै पश्चिम नवलपरासीमा विवाद भएको छ ।

जिल्लाबाट सिफारिस भएविपरीत क्रियाशील सदस्यको नामावली केन्द्रमा थपघट गरेको भन्दै कांग्रेसको एक समूहले रद्द गर्न माग गरेको छ । प्रक्रिया नपुगेका कारण जिल्ला र क्षेत्रले समेत टुंगाउन नसकेका नामहरु जिल्लाका केही नेताको दबाबमा केन्द्रबाट थपघट गरेको भन्दै संघीय क्षेत्र कार्य समिति क्षेत्र नं. २ का सभापति नरेन्द्रकुमार गुप्ता र सोही क्षेत्रका प्रदेश कार्य समिति सभापति दिनेशमणि पाठकले आइतबार विज्ञप्ती निकालेर आपत्ति जनाएका छन् ।

उनीहरुका अनुसार रामग्राम नगरपालिकाको वडा नं. ३, १५, १६ र पाल्हीनन्दन गाउँपालिकाको वडा नं. ४ मा सदस्यतासम्बन्धी वडास्तरबाटै विवाद भएको थियो ।

केन्द्रमा गठित छानविन समितिको प्रतिवेदनले समेत उक्त वडाहरुमा नयाँ सदस्यता थप नगरी १३ औं महाधिवेशनका सदस्यबाट अधिवेशन गर्न राय दिएको तर अधिवेशन आफूअनुकुल बनाउन जिल्लाका केही नेताहरुले नामावली थपघट गरेको आरोप विज्ञप्तीमा लगाइएको छ ।
छानविन समितिले टुंगो लगाउन नसकेका नामावलीहरु अहिले केन्द्रीय पदाधिकारीहरुलाई जिम्मा दिइएको र नाम थपघट गर्दा अधिवेशन नै प्रभावित हुने भएकाले त्यसलाई रद्द गरी समितिले बुझाएको रायलाई मान्यता दिन उनीहरुको माग छ ।

अन्य पालिकाहरुका केही वडाहरुमा पनि एकपक्षीय रुपमा नामावली थपघट गर्ने, पोष्टिङ्ग भइसकेका नाम झिकेर आफू अनुकुलका व्यक्तिहरुको नाम राख्ने कार्य भइरहेकोले त्यसतर्फ समेत केन्द्रीय पदाधिकारीहरुलाई ध्यानआकर्षण गराउँदै विज्ञप्तीमा त्यस्ता नामावलीहरु रद्द गर्न विज्ञप्तीमा माग गरिएको छ ।

जिल्लाबाट नयाँ र पुराना गरी ९ हजार बढी क्रियाशील सदस्यहरुको नामावली पठाइएको पार्टी जिल्ला समितिले जनाएको छ । जिल्लामा कांग्रेसका २ समुह छन् । जिल्ला सभापतिका लागि अहिले संविधानसभा सदस्य विक्रम खनाल समूहबाट अर्जुनकुमार पोखरेल र देवेन्द्रराज कँडेल समूहबाट मोहन शर्माको नाम चर्चामा छ ।

पोखरेल वर्तमान जिल्ला उपसभापति हुन् भने शर्मा शिक्षक संघका पूर्वअध्यक्ष हुन् । वरिष्ठ नेता रामचन्द्र पौडेल समूहमा रहेका पोखरेलले आफ्नो दावी सार्वजनिक गरिसकेका छन् भने सभापति शेरबहादुर देउवा समूहबाट मोहन शर्मालाई अगाडि सारिएपनि सो समूहले औपचारिक रुपमा सार्वजनिक गरेको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर