४१ सांसदको हस्ताक्षरसहित लुम्बिनीमा नयाँ सरकारका लागि निवेदन (निवेदनसहित) – Nepal Press

४१ सांसदको हस्ताक्षरसहित लुम्बिनीमा नयाँ सरकारका लागि निवेदन (निवेदनसहित)

रुपन्देही । प्रदेश प्रमुख फेरिएसँगै लुम्बिनी प्रदेशमा विपक्षी गठबन्धनले सरकार परिवर्तनको प्रयास सुरु गरेका छन् । गठबन्धन दलहरुले प्रदेश प्रमुख अमिक शेरचनलाई संविधानको धारा १६८ को उपधारा २ अनुसार नयाँ सरकार गठनको आह्वान गर्न समावेदन गरेका हुन् ।

प्रदेशसभामा हाल कायम रहेकामध्ये ४१ सांसदहरुको हस्ताक्षर रहेको छ । उनीहरुले धारा १६८ को १ अनुसार बनेको भनिएको सरकार अल्पमतमा रहेको दाबी गर्दै एकल बहुमतको सरकार दाबी गर्दा मुख्यमन्त्री शंकर पोखरेलले कीर्ते हस्ताक्षर गरेको, अल्पमतमा हुँदाहुँदै पनि जालझेल गरेको आरोप लगाएका छन् ।

पूर्वप्रदेश प्रमुखसँगको मिलेमतोमा मुख्यमन्त्री शंकर पोखरेलले असंवैधानिक तरिकाले सत्ता टिकाएको उनीहरुको दावी छ ।

प्रदेशसभामा बहुमतको अवस्थामा रहेका विपक्षी दलहरुले गत वैशाखदेखि नै पोखरेल सरकारलाई हटाउन प्रयास गर्दै आएका थिए ।

प्रदेश प्रमुख परिवर्तन भएपछि आइलाग्ने अप्ठेरो परिस्थितिलाई सामना गर्न माओवादी केन्द्र रोजेकी सांसद विमला वलीलाई प्रभावित पार्न प्रयास भैरहेको समेत विपक्षी दलहरुले आरोप लगाएका छन् ।

पोखरेललाई साथ दिँदै मन्त्री समेत बनेका जसपाका तीन जना सांसदलाई जसपाले पार्टीबाट निस्कासन गरेपछि उनीहरुको सांसद पद खारेज भएको छ । अब पोखरेल सरकार टिक्न सक्ने आधार सर्वोच्चले पूर्वमाओवादीका दुई सांसद र जसपाका तीन सांसदको पक्षमा फैसला भएमात्र देखिन्छ ।

यद्यपि माओवादी पार्टी परित्याग गरी एमाले बनेका दधिराम न्यौपाने र दिनेश पन्थीले समेत अहिले सर्वोच्च अदालतमा सांसद पदमा पुनर्वहालीको माग गर्दै रिट दायर गरेका छन् । जसपाका सांसदले पदबाट बर्खास्त गर्ने निर्णयविरुद्ध पुनः सर्वोच्चमा रिट दायर गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर