दार्चुला घटनामा गृहको छानविनपछि मात्रै भारतलाई कूटनीतिक नोट पठाउन सकिने
काठमाडौं । परराष्ट्र मन्त्रालयले दार्चुला घटनामा गृह मन्त्रालयको छानविनपछि मात्र भारतलाई कूटनीतिक नोट पठाउन सकिने जनाएको छ ।
शुक्रबार तुइनमार्फत महाकाली नदी तर्ने क्रममा भारतीय सीमा सुरक्षा बल (एसएसबी)का जवानले लठ्ठा फुकालिदिएपछि दार्चुलाको व्यास गाउँपालिका–राङथाङ वस्तीका ३५ वर्षिय जयसिंह धामी खसेर बेपत्ता भएका थिए ।
घटनालाई लिएर सर्वसाधारण, राजनीतिक दलदेखि संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले समेत विरोध जनाएका छन् । गृहमन्त्री बालकृष्ण खाँडले सोमबार संसदको घटनाबारे राष्ट्रिय सभालाई जानकारी पनि गराएका छन् । गृहले घटनाबारे छानविन गर्न सचिव महेश्वर न्यौपानेको संयोजकत्वमा छानविन समिति गठन गरेको छ ।
१० दिनभित्र छानविन प्रतिवेदन बुझाउन समितिलाई भनिएको छ । परराष्ट्र मन्त्रालयका एक अधिकारीले गृहको निष्कर्ष आएपछि मात्र यसबारे टिप्पणी गर्न सकिने बताए । दिल्लीस्थित दूतावास पनि गृहकै छानविन समितिको निष्कर्षको पर्खाइमा छ ।