थप कडाइ गर्दै काठमाडौंको निषेधाज्ञा लम्ब्याउने तयारी, सीसीएमसीसँग छलफलमा जुटे तीनैजना सीडीओ – Nepal Press

थप कडाइ गर्दै काठमाडौंको निषेधाज्ञा लम्ब्याउने तयारी, सीसीएमसीसँग छलफलमा जुटे तीनैजना सीडीओ

भोलिदेखि भीडभाड गर्ने र मास्क नलगाउनेलाई कार्वाही हुने

काठमाडौं । कोभिड-१९ संक्रमण रोकथामका लागि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई थप कडाइसहित लम्ब्याउने तयारी भएको छ । सोमबार बसेको जिल्ला संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकपछि नेपाल प्रेससँग कुरा गर्दै काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले निषेधाज्ञा अनुगमनमा थप कडाइ गर्ने निर्णय भएको बताए । भोलिदेखि नै अनुगमन थाल्दै सार्वजनिक स्थानमा भीडभाड गर्ने र मास्क नलगाउनेलाई जरिवाना तथा कानूनी कार्वाही गरिने सीडीओ पराजुलीले जानकारी दिए ।

डीसीसीएमसी बैठकले सहायक सीडीओको संयोजकत्वमा निषेधाज्ञा अनुगमन समिति पनि गठन गरेको छ । उक्त समितिले भोलिदेखि नै काठमाडौं उपत्यकाको सार्वजनिक क्षेत्रहरुको अनुगमन गर्ने भएको छ ।

‘हामी एकैपटक बन्द नभएर, विस्तारै कडाइ गर्ने तयारी साथ अघि बढ्ने योजनामा छौं’ सीडीओ पराजुलीले भने, ‘एकसाताको संक्रमण दर हेरेर अघि बढ्ने कुरा भएको छ ।’

अहिले जारी निषेधाज्ञा साउन २० गते मध्यरातमा सकिँदैछ । त्यसअघि काठमाडौं, भक्तपुर र ललितपुरका सीडीओहरुले कोभिड संकट व्यवस्थापन केन्द्र निर्देशक समिति (सीसीएमसी)सँग बैठक गर्दैछन् । सीसीएमसीको सल्लाहको आधारमा अघि बढ्ने तयारीमा सीडीओहरु छन् ।

सोमबार काठमाडौं उपत्यकामा ७७० जना संक्रमित थपिएका छन् भने सक्रिय संक्रमित संख्या ८ हजार ८९५ छ ।


प्रतिक्रिया

One thought on “थप कडाइ गर्दै काठमाडौंको निषेधाज्ञा लम्ब्याउने तयारी, सीसीएमसीसँग छलफलमा जुटे तीनैजना सीडीओ

  1. हैन यि सिडिअाेहरूका थप कडाइ र निषेधाज्ञा भन्ने चिज के रैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *