दुईपटक चुनाव जितेर पनि मन्त्री बन्न नपाउने माओवादीका एक्ला किराती
भोजपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नरबहादुर कर्माचार्यको स्मृति दिवसका अवसरमा माओवादी नेताहरुकै सामुन्ने भने- म अहिले मन्त्री बन्नेहरूको भीड छिचोलेर आएको छु । मलाई साँच्चिकै आतंक भएको छ । ४९ जनालाई नै मन्त्री बन्नु परेको छ । तर, हामीले पाउने भनेको बढीमा ७ वटा हो ।
माओवादीबाट प्रतिनिधिसभामा प्रचण्डसहित ४९ सांसद छन् । माओवादी शान्ति प्रक्रियामा आइसकेपछि ८४ जना मन्त्री बने । बढीमा ५ पटकदेखि कम्तीमा एकपटक धेरैले मौका पाए । हाल प्रतिनिधिसभाका रहेका ४९ सांसदमध्ये दुई पटक प्रत्यक्ष निर्वाचन जितेर पनि मन्त्री बन्न पाउने सांसद भने एकजना सुदन किरातीमात्र बाँकी छन् ।
मन्त्रीको नाम टुंग्याउन पटकपटक बोलाइएको माओवादी स्थायी कमिटी बैठक पनि मुख्य एजेण्डामा अनिर्निणित बनेको छ । मन्त्री बनाउने मापदण्ड नहुँदा कतिपयले पटक-पटक मौका पाउने र दुई तीन पटक चुनाव जितेकाहरूले अवसर नपाउने अवस्था रहेको माओवादी नेताहरू बताउँछन् ।
माओवादीबाट सरकारको नेतृत्व गर्न प्रवक्ता नारायणकाजी श्रेष्ठ र पूर्वसभामुख कृष्णबहादुर महरा दुवैले दावी गरेका छन् । शान्ति प्रक्रियासँगै संसदीय राजनीतिमा आएसँगै मन्त्रीलगायतका लाभदायी पद ‘कसैलाई खातैखात कसैलाई पुर्पुरोमा हात’ भनेर आन्तरिकरूपमै असन्तुष्टी समेत शुरू भएको छ ।
नारायणकाजीलाई मन्त्री बन्नबाट रोक्न उनकै गृहजिल्लाका नेताहरूसमेत प्रचण्ड निवास धाएको बाहिरिएको छ । जनार्दन शर्मा र पम्फा भुसाललाई मन्त्री बनाउँदा कसैलाई थाहा नदिएको भन्दै प्रचण्डप्रति श्रेष्ठ नै असन्तुष्ट छन् ।
मन्त्री बनाउन न्यूनतम मापदण्ड तयार गर्न नसक्दा र बनाइएका मापदण्ड पनि कार्यान्वयन नहुँदा यी समस्या देखिएका छन् ।
सुदन किराती पनि यिनै मध्येका एक हुन् । भोजपुरबाट २ पटक प्रत्यक्ष निर्वाचित भइसकेका सांसद किराती जुझारु र हक्की स्वभावका युवामा पर्छन् । प्रदेश १ कै जनजाती समुदायबाट क्षमतावात नेता किराती नेतृत्वको गलत शैलीका कटु आलोचक पनि मानिन्छन् । सरकारमा पार्टीबाट समावेशी प्रतिनिधित्व गराउन पनि सुदनलाई मन्त्री बनाउन पार्टी नेतृत्वमाथि दबाब छ ।
२०६४ को संविधानसभा चुनावमा शेरधन राईलाई हराएर सदनमा पाइला टेकेका किराती दोस्रो संविधानसभामा तिनै राईसँग पराजित भए । २०७४ को प्रतिनिधिसभा चुनावमा वाम गठबन्धनको तर्फबाट ३४ हजार ३९४ मत ल्याएर किरातीको ‘कमब्याक’ भएको थियो । उनका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक गठबन्धनका नेपाली कांग्रेसका उम्मेदवार उमेशजंग रायमाझीले २१ हजार ६९६ मत ल्याएका थिए ।
नेकपा छँदै ओली नेतृत्वको सरकारमै किरातीको चर्चा चलेपनि त्यसको ठोस नतिजा देखिएन । दुईपटक चुनाव जितेर मन्त्री बन्न नपाउने उनीमात्र बाँकी छन् ।
मतदाताकै आँगनमा व्यस्त सांसद
भोट माग्न जनताको घरदैलो पुग्ने नेता चुनाव जितेपछि ५ वर्षसम्म नफर्किने नेतामाथिको सदाबहार आरोपलाई भने किरातीले चिरेका छन् । देउवाले प्रधानमन्त्रीको सपथ लिएदेखि नै नेता र पार्टी कार्यालय धाउने सांसदहरूको लर्को लागिरहँदा उनी जिल्लामै व्यस्त थिए । चुनावपछिको अधिकांश समय किराती सदनभन्दा गाउँमै व्यस्त छन् ।
पछिल्लो समय कोरोना महामारीको असहज परिस्थितिमा राहत तथा उद्धार कार्यमा उनी साँच्चिकै डटेर टोलटोलका क्वारेन्टाइन र आइसोलेसनसम्म पुगे । एक/दुई दिनको देखासिकीमात्र नभएर किरातीले अहिलेसम्म यसलाई निरन्तरता दिएका छन् । समाज र परिवेशअनुसार जनतासँगको यो साक्षात्कारले अर्को चुनावमा किराँतीसँगको प्रतिष्पर्धा रणनीतिबारे विपक्षीलाई सोच्न बाध्य बनाएको छ । केटाकेटीदेखि बुढापाकासम्मका दु:खसुखका सारथी बन्नसक्ने खुबीका किरातीसँग जोकोहीले पनि आफ्नो समस्या धौ फुकाएर सुनाउँछन् ।
सांसद किराती चुनाव जितेलगत्तैबाट ‘जनताको प्रश्न सांसदको उत्तर’ अभियान लिएर गाउँगाउँ पुगे । त्यहाँ उनले सडक, बिजुली, खानेपानीलगायतका स्थानीयका समस्यामात्र बुझ्दैन थिए त्यसको समाधानका लागि सम्बन्धित निकायलाई घचघच्याइहाल्थे ।
जनता नै आफ्नो पाठशाला बताउने राईले बाँदरका कारण किसानले पाएर दु:ख बोकेर दीर्घकालीन समाधानको पहल खोज्न तत्कालीन वनमन्त्री शक्ति बस्नेतलाई भेटेर सिंहदरबारको ध्यानाकर्षण गराए ।
उम्मेदवार हुँ दाबेदार होइन : किराती
सांसद किरातीले पार्टीमा कर्म र योगदानको आधारमा भन्दा पनि लुटेर खाने प्रवृत्ति हावी भएको बताएका छन् । उनले क्षमता र अनुभवले आफू मन्त्री बन्न योग्य भए पनि दाबेदार भने नभएको नेपाल प्रेसलाई बताए । ‘एकपटक-दुईपटक-तीनपटक-चारपटक भ्याउने । निर्वाचनमा हार्ने र जस्केलााबट छिर्ने प्रवृत्ति ठीक छैन, किरातीले भने, ‘संसदीय प्रतिष्पर्धाको राजनीतिमा म दुईपटक जितेको मान्छे । कसले पहिला भोटो फटायो भन्दा पनि जनताले कसलाई रुचाए भन्ने विषय चाहिँ महत्वपूर्ण हुन्छ । तर यहाँ जसको शक्ति उसको भक्ति चल्छ ।’
पार्टीलाई संकट परेको बेला चासो नदिने तर अवसर आएको बेला छाड्दै नछाड्ने प्रवृत्ति बढेकोमा किरातीले चिन्ता जनाए । ‘शान्ति प्रक्रियादेखि यहाँसम्म आइपुग्दा माओवादीले ८४ जनालाई मन्त्री बनाएछ । तर, पार्टीलाई चाहिने बेला त देखियो नि टोपबहादुरहरूलाई । लाभकै लागि जता पनि टाँसिहाल्नुपर्ने थियो भने त्यो आन्दोलन त्यो संघर्ष कुन वैचारिक धरातलमा थिइयो त ?’, उनको प्रश्न छ ।
hamro asthako dharohar sudhan kirati sadabahar jantako manmutuma basna safal hunu vaxa hami bhojpure basi atinai khusixau hamro sukha dukhama sadhai hamisangai ramaune janapartinidhi payekoma jai nepal jai des!!!!!