स्थानीय तहलाई प्रदेश सरकार मातहत ल्याउन खोज्नु आपत्तिजनक : कमल थापा
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रदेश तह खारेज गर्नुपर्ने बताएका छन् ।
संयुक्त सरकारको न्यूनतम साझा कार्यक्रममा स्थानीय तहलाई प्रदेश सरकार मातहत ल्याउने उल्लेख गरेकोमा आपत्ति जनाउँदै थापाले प्रदेश तह राष्ट्रका लागि बोझ बनेको टिप्पणी गरेका हुन् ।
‘राष्ट्रको लागि बोझ बनेको प्रदेश तह खारेज गरी स्थानीय तहलाइृ अझ बढी साधन स्रोत र अधिकार सम्पन्न तुल्याउनुपर्छ । सुदृढ स्थानीय स्वायत्त शासन प्रजातन्त्रको मेरुदण्ड हो’, थापाले ट्वीट गरेका छन् ।
थापा नेतृत्वको राप्रपाले संघीयता, गणतन्त्र र धर्मनिरपेक्षता खारेज हुनुपर्ने राजनीतिक अडान राख्दै आएको छ ।
सरकारको प्रस्तावित साझा न्युनतम कार्यक्रममा ‘स्थानीयतहलाई प्रदेश सरकार मातहत ल्याउने’ विषय समावेश हुनु गलत र आपत्तिजनक छ।
राष्ट्रकोलागि बोझ बनेको प्रदेशतह खारेज गरी स्थानीयतहलाई अझ बढी साधनश्रोत र अधिकार सम्पन्न तुल्याउनु पर्छ।सुदृढ स्थानीय स्वायत्त शासन प्रजातन्त्रको मेरुदण्ड हो— Kamal Thapa (@KTnepal) August 6, 2021