युवा नेतासँग प्रधानमन्त्री : तिमीहरु बुझ्ने छौ, सुझाव दिनू, खबरदारी गर्नू – Nepal Press

युवा नेतासँग प्रधानमन्त्री : तिमीहरु बुझ्ने छौ, सुझाव दिनू, खबरदारी गर्नू

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार सञ्चालनका सन्दर्भमा आफूलाई निरन्तर सल्लाह सुझाव दिन र खबरदारी गर्न पार्टीका युवा नेताहरुसँग आग्रह गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा ८ जना केन्द्रीय सदस्यहरुसँग भएको छलफलमा प्रधानमन्त्री देउवाले विगतका कमजोरी दोहोरिन नदिन आफू सचेत रहेको र जनताको पक्षमा काम गर्न आतुर रहेको बताएका हुन् ।

कांग्रेसका केन्द्रीय सदस्यहरु चन्द्र भण्डारी, धनराज गुरुङ, रामकृष्ण यादव, कमला पन्त, गगन थापा, गुरुराज घिमिरे, बद्री पाण्डे र जीवन परियारसंग प्रधानमन्त्री देउवाले छलफल गरेका हुन् । ती नेताहरुले कांग्रेसभित्र साझा अभियान सञ्चालन गरिरहेका छन् । संयुक्त रुपमा बधाई दिन बालुवाटार पुगेका उनीहरुलाई प्रधानमन्त्रीले सरकारको कामबारे सल्लाह सुझाव दिन आग्रह गरे ।

‘तिमीहरु सबै बुझ्ने छौ । पार्टी र देशको भविष्य तिमीहरु नै हो । म देश र जनताको पक्षका काम गरेर देखाउँछु । त्यसमा मलाई सहयोग गर्नुपर्छ । बेलाबेलामा सल्लाह सुझाव दिनु र आवश्यक परे खबरदारी पनि गर्नु’, प्रधानमन्त्री देउवाले भने । छलफलमा सहभागि सबैजसो युवा नेताहरुले अघिल्लो सरकारको कामकारवाहीबाट जनतामा परेको नकरात्मक प्रभाव चिर्न सक्नुपर्नेमा जोड दिए । ‘केपी ओली सरकारले जे-जे गर्दा हामीले विरोध गर्यौ, जनताले विरोध गरे त्यो काम तपाईको सरकारबाट पनि हुनुभएन’, युवा नेताहरुको सुझाव थियो ।

युवा नेताहरुले प्रधानमन्त्री देउवालाई दार्चुला घटनाबारे संसद र सडकमा आवाज उठिरहेको भन्दै तत्काल छानबिन गर्न र भारतसँग संवाद गर्नपनि सुझाएका छन् । जवाफमा प्रधानमन्त्री देउवाले सरकारले गठन गरेको छानबिन समिति घटनास्थलमै पुगेको र फर्कनासाथ आवश्यक कदम चाल्ने बताए । ‘समितिले यथार्थ ल्याउने बित्तिकै जे गर्नुपर्छ म गर्छु, भारतसंग कुरा गर्नुपरे पनि कुरा गर्छु’, देउवालाई उधृत गर्दै भेटमा सहभागि एक नेताले भने ।

युवा नेताहरुले कक्षा १२ सहित विभिन्न तहको भौतिक रुपमै परीक्षा लिने विषयमा अभिभावक र नागरिक समाजबाट चिन्ता व्यक्त भएकोले बेलैमा उपयुक्त निर्णय लिन सुझाएका थिए ।

भेटमा पार्टीको महाधिवेशनबारे पनि छलफल भएको छ । पार्टीको आन्तरिक विषयबारे खुलेर कुरा गरेका देउवाले आफूलाई असफल बनाउन खोजिएको आरोप लगाए । महाधिवेशन गराउन आफूले हरसम्भव मेहेनत गर्ने भन्दै देउवाले केही विषयमा अनावश्यक विवाद झिकिएको बताए । भदौ १६ मा महाधिवेशन उद्घाटन हुन सम्भव नभएपनि सहमतिमै नयाँ कार्यतालिका ल्याउने र महाधिवेशन गराइछाड्ने देउवाको भनाई थियो ।


प्रतिक्रिया

One thought on “युवा नेतासँग प्रधानमन्त्री : तिमीहरु बुझ्ने छौ, सुझाव दिनू, खबरदारी गर्नू

  1. यो चाहिँ तरिका एकदम उत्कृष्ट र उपयुक्त छ सम्मानजनक लाग्यो जय नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर