६ वर्षदेखि टहरोमै चौविसघरेका भूकम्पपीडित (भिडियोसहित) – Nepal Press

६ वर्षदेखि टहरोमै चौविसघरेका भूकम्पपीडित (भिडियोसहित)

न गाउँ फर्कने स्थिति छ, न त अन्यत्र घर बनाउने जग्गा !

चितवन । २०७२ सालको भूकम्पले घर भत्काएपछि विस्थापित भएका चितवनको ईच्छाकामना– २ चौविसघरेका नागरिक अहिले पनि टहरोमा रात काटिरहेका छन् । घर भत्किएसँगै पहिरोको जोखिम बढेकाले विश्वकर्मा समुदायका २४ परिवारलाई स्थानीय प्रशासनले कालिका– ८ जुटपानीको खुला चउरमा सारेको थियो । तर अझैसम्म उनीहरुले स्थायी आवास बनाउन सकेका छैनन् ।

१९ जनाको परिवार पाल्न दाजुभाइ वीरबहादुर र मदन विश्वकर्मा आरनमा व्यस्त बन्छन् । वीरबहादुरको ८ जना र मदनको ११ जनाको परिवार छ । उनीहरु अहिले पनि त्रिपालमुनिनै रात बिताइरहेका छन् । ‘उबेला फेरि भूकम्प आउँछ बाढी, पहिरो लाग्छ, सरकारले हेर्नेवाला छैन, तपाईहरु झर्नैपर्छ भने’, वीरबहादुर सम्झन्छन्, ‘अहिलेसम्म घर बनाउने वातावरण नै बनेन, गाउँको खेत जंगल बनिसक्यो ।’

वीरबहादुरका ८ दाजुभाइमध्ये ५ दाजुभाई यही वस्तीमा छन् । करिब १ विघा जग्गा छाडेर उनका दाजुभाइ चउरमा झरेका हुन् । ३ दाजुभाई भने भरतपुरको आँपटारीतिर बस्छन् ।

‘फेरि गाउँ फर्किनु पर्दैन, उतै जग्गा मिलाउँछौँ भनेर फकाए, भूकम्पको डरले ओर्लियौँ’, उनले भने, ‘टहरो चुहिन थाल्यो, न बनाउन पाइन्छ, न बनाइदिन्छन् ।’

दुई दाजुभाइले आरन चलाएर महिनामा १५–२० हजार कमाउँछन् । गाउँ छाडेरै आएपनि पुरानै छिमेकीले फोन गरेर औजारहरु बनाउन अर्डर दिन्छन् । ‘गरिखाने ठाउँ, बस्ने सुविधा भैदिए खुशी हुन्थ्यौँ’, मदन भन्छन्, ‘सधै पसिना बगाउँदा पनि घरखर्च पुग्दैन ।’ तत्कालीन चितवनका सिडियो मानबहादुर विके, नेता कृष्णभक्त पोखरेललगायतको सर्वदलीय टोलीले गुछिवाङको वस्ती सार्न भूमिका खेलेका थिए ।

मनमाया विश्वकर्मा पानी परेपछि चिन्तित बन्छिन् । ‘गुछिवाङमा जस्तो भीरपाखामा हिँड्नपरेको छैन, तर दुःख हटेन’, उनले भनिन्, ‘पानी पर्दा बाछिटा र भेल कोठमा पस्छ, आहालनै बन्छ, सोहोर्नु पर्छ ।’ ६ वर्ष पुग्दा पनि ६ महिनाका लागि बनाएको घरमै बस्नुपरेको दुखेसो सुनाइन् ।

शौचालयको ट्यांकीमा समेत भेल पस्छ । पहिरोको डरले ५ कट्टठा जग्गा छाडेर आएकी हुन् उनी । केशरलाल विश्वकर्माले भूकम्पकै कारण आमा गुमाएका थिए । करिब ६ लाख खर्चेर बनाएको ढुंगाको घर सोही वर्ष भूकम्पले ढलायो ।

आमाको भूकप्पकका कारण घर भत्किँदा च्यापिएर ज्यान गयो । ‘ज्यान बचाउनकै लागि सबै त्यागेर आयौँ’, केशरलाल भन्छन्, ‘यतिका वर्षसम्म हाम्रा पीडा हेर्ने कोही भएनन् ।’ गुछिवाङबाट २४ घर सरे पनि अंशवण्डा भएपछि ७ घर थपिएका छन् । करिब २२ विघा ऐलानी र नम्बरी जग्गा छाडेर गुछिवाङका स्थानीय ७–८ धुरमा बनाइएको साँघुरो घरमा बस्छन् ।

टिनले बारेको–छाएको घरमा राखिएका बाँसका भाटा कुहिएका छन् । बाछिटा रोक्न प्लाष्टिकले बेरेका छन् । नेपाल ग्रामीण पुनर्निमाण संस्था (आरआरएन) ले २ कोठे २४ वटा अस्थायी घर बनाइदिएको थियो । टिकाबहादुर विश्वकर्मा भूटानी शरणार्थी जस्तो बनिएको दुखेसो पोख्छन् ।

‘भुटानी शरणार्थीलाई बरु सरकारले हेरेको छ, हामीलाई त्यत्तिको पनि मान्यता दिएन’, उनी भन्छन्, ‘न शौचालय छ, न सरकारी सुविधानै छ ।’ उनले कम्तिमा १० धुर जग्गा दिएर सरकारले छिटो व्यवस्थापन गर्नुपर्ने माग गरे । उनका अनुसार २४ घरे वस्तीमा करिब २ सय जनसंख्या छ ।

करिब ३५ युवाहरु ज्याला मजदुरीमा जान्छन् । ५ वटा आरन छन् । नजिकै रहेको आधारभूत विद्यालय जुटपानीमा करिब ३० जना, करिब आधा घण्टा परको पृथ्वी माविमा २५ जना पढ्छन् ।

‘स्थायी बसोबासका लागि स्थानीय सरकारसँग धेरै धायौँ, तर सुनवाइ नै भएन’, उनी भन्छन्, ‘न फर्केर गाउँ जान सकिन्छ, न यतै जग्गा पाइन्छ ।’ गुछिवाङ पुग्न जुटपानीबाट करिब ३ घण्टा लाग्छ । ‘बसे बस, नभए पहिरो आउने ठाउँमै जाउ भनेर ६ वर्ष किन कुराएको’, उनी प्रश्न गर्छन्, ‘नागरिको ज्यान बचाउन सरकारले सोच्नुपर्दैन र !’

यता, जिल्ला समन्वय समिति चितवनले बस्ती स्थान्तरण गर्न खोज्दा सहयोग नपाएको बताइरहेको छ । जिसस प्रमुख कृष्णकुमार डल्लाकोटीले इच्छाकामना–७ पिपलटामा स्थानान्तरण गर्न खोज्दा नमानेपछि समस्या आएको बताए । ‘हामीले वस्ती सार्न खोजेका थियौँ, जग्गा पनि हेरियो, तर उहाँहरु मान्नुभएन’, उनले भने, ‘अब इच्छाकामना गाउँपालिका र कालिका नगरपालिकालाई मिलेर व्यवस्थापन गर्न सुझाएका छौँ ।’

पुनर्निर्माण प्राधिकरण चितवन आयोजना कार्यान्वयन इकाईका इञ्जिनियर सुजन नेपालले गुछिवाङ र कोयलघारी बस्ती व्यवस्थापनमा चुनौती देखिएको बताए । प्राधिकरण गठन पहिलेनै जिल्ला प्रशासन कार्यालय र राजनीतिक दलको सर्वपक्षीय बैठकबाट जुटपानीको खुल्ला चौरमा अस्थायी रुपमा गुछिवाङ वस्ती सारिएको थियो । ‘गुछिवाङमा शिक्षा, स्वास्थ्य, खानेपानीलगायतका समस्या पनि छन्, त्यसैले सरिसकेको बस्ती फर्काउन नहुने कुरा पनि छ’, उनले भने, ‘तर, उहाँहरु अन्यत्र नसर्ने अडानमा बस्दा समस्या आयो ।’

उनका अनुसार चितवनमा जोखिमयुक्त ८ वस्तीका १ सय १ घरधुरी लाभग्राही सूचीमा थिए । जसमध्ये ७४ जनाले मात्रै तेस्रो किस्ता लिएका छन् । सम्झौता भएर ९८ जनाले पहिलो किस्ता लगेकोमा ९६ जनाले मात्रै दोस्रो किस्ता लिएका थिए ।

चितवनमा ८ हजार ४ सय ४० घरहरु पुननिर्माणका लागि सूचीकृत भएका थिए । जसमध्ये ७ हजार १ सय ३० जनाले तेस्रो किस्तासम्म रकम बुझेका छन् । प्रबलीकरणका लागि ८ सय घरहरु सूचीकृत भएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *