‘एकलव्यको देब्रेहात’को शल्यक्रिया
युवा कवि गिरी श्रीसको एकलव्यको देब्रेहात मदन पुरस्कार छनौट सूचीमा परेको कृति हो ।
मदन पुरस्कार गुठीले ’मदन पुरस्कार–२०७७’ का लागि छनौटमा परेको ९ पुस्तकहरुको सूचीमा छ यो कृति । गुठीलाई प्राप्त २२२ पुस्तकहरूमध्ये ९ वटा पुस्तकलाई श्रेष्ठ सूचीमा समेटिएको जनाइएको छ ।
रुपन्देहीको बुटवलमा स्थायी बसोबास गर्ने उनी आफ्नो जीवन निर्वाहका लागि प्राविधिक क्षेत्रमा काम गर्छन् तर यो बीचमा उनले आफ्नो लेखनशैलीलाई रोकेका छैनन् ।
गिरी श्रीस मगर समसामयिक काव्य मनिषीहरुका बीचमा चहकिलो पहिचान बनाएका राष्ट्रियस्तरका कवि हुन् । उनले ंयसभन्दा अघि नेपालीय साहित्यमा ‘पसिनाको संगीत र जीवनको गीत’ नामक काव्य संग्रह प्रस्तुत गरिसकेका छन् ।
काव्य शिल्पका धनी गिरी श्रीस मगरले दोस्रो कृतिको रुपमा ‘एकलव्यको देब्रेहात’ लिएर नेपालीय साहित्य भण्डारमा हाजिर भएका छन् ।
उनको कालीगडी परिस्कृत शैली र शिल्पले पाठकलाई लोभ्याउँछ । उनी हतारिएका छैनन् । धेरै कृति लेखेर प्रथम हुने होडमा भन्दा थोरै तर परिस्कृत र प्रभावकारी कृति दिएर अमर बनेका छन् ।
गतवर्ष २०७७ फागुन ८ गते पाठक मञ्च बुटवलको आयोजनामा दीपनगरमा गिरी श्रीस मगरको ‘एकलव्यको देब्रेहात’ विमोचन भएको थियो ।
यो पुस्तकको विषयमा प्रतिक्रिया दिँदै प्रगतिशील साहित्यकार शीत बिन्दुले कवि गिरी श्रीस मगरलाई अक्षरका कालिगड भन्दै नयाँ कविता संग्रह ‘एकलव्यको देब्रेहात’ कृतिको महत्व निकै माथि रहेको बताएका छन् । उनले मुलुकको हजारौं वर्ष पुरानो साँस्कृतिक भूगोल पछ्याउँदै कविले गगनी, सिस्ने, रोल्पा, आदि ठाउँका ढुङ्गा टिपेर आफ्नो कव्यिक शिल्पको छिनोले कविता कुँदेर टल्काएको बताएका छन् ।
सामान्य पाठकको हिसाबमा उनले शीर्ष कवितासँगै नक्सा, धूलोमा खेलिरहेका नानीहरु, होडिङ्गबोर्डहरु, हात रोल्पा, महानगरमा, गाउँको फूल, सल्लाको धरमरको घर, इच्छा, ईश्वरको जन्मपछि, तिमी छुटेपछि, बोई बिनाको घर, सपना देख्ने दाजैलाई र सागरछेऊ उभिएर कविताले भित्रैसम्म छोएको बताएका छन् ।
कविताहरु विभिन्न माध्यमबाट प्रकट हुन्छन् । गीत, गजल, मुक्तक, शास्त्रीय छन्द, गद्य छन्द कविताका माध्यम हुन् । यो कृतिमा गद्यलयको प्रयोग गरिएको छ । गद्य कविता स्वतन्त्र लयमा लेखिन्छ । यसलाई रबर छन्द भनिन्छ । यो कृति विमोचन गर्ने वरिष्ठ आख्यानकार जङ्गबहादुर शाहले गडौला छन्द भन्छन् ।
गद्य कवितामा एक वा अन्य अनुच्छेदहरु पनि हुन्छन् । बिम्व प्रतीक र अलङ्कारहरुको यथोचित प्रयोग हुन्छ । अनुप्राशको प्रयोग गरी अन्तरलयात्मक बनाइन्छ । यस्तो गद्य छन्दमा लेखिएको कृति पढ्दा आनन्दको झङ्कार उत्पन्न हुन्छ ।
एकलव्यको देब्रेहात कृति ६ खण्डमा विभाजित छ । पहिलो पिंधका मान्छेहरु खण्डमा १० वटा कविताहरु छन् । दोस्रो प्रश्नको श्वासप्रश्वास खण्डमा १० कविताहरु छन् । तेस्रो सहर सम्झदा कृतिमा ६ वटा कविताहरु छन् ।
चौथो आत्मबोध खण्डमा ९ वटा कविताहरु छन् । पाँचौं गाउँको गोरेटो खण्डमा ६ वटा कविताहरु छन् । छैटौं उडान खण्डमा ५ वटा कविताहरु छन् । कविताहरु ४० देखि ९० पंक्तिसम्मका छन् । हरेक कविताहरुमा एक नभई अलग अलग अनुच्छेदमा रचिएका छन् । यो कृति १४० पृष्ठमा फैलिएको छ ।
यस कृतिको शीर्ष कविता ‘एकलव्यको देब्रे हात’ हो । धनुर्धारी एकलव्य धनुर्विद्यामा पारंगत भएपछि उसले कसैलाई जित्न नसकोस् भनेर द्रोणचार्यले दाहिने हातको बुढी औला नै छिनालिदिएका थिए । तर एकलव्यले दाहिने हातले धुनु समातेर देब्रेहातले तीर चलाउन सिके । उनको सामथ्र्य निकै बढ्यो । मालिकलाई चक्रवर्ती सम्राट बनाउन द्रोणचार्यहरु अनवरत षडयन्त्रको मन्त्रोच्चारण गर्दै अश्वमेध यज्ञ र नरमेध यज्ञ चलाएर महाराधिराजको जय भन्दै हिंड्नेहरुका अगाडि औला छिनालिदिए पनि एकलव्यको देब्रै हात अरु शक्तिशाली बन्दै गई रहेको कुरा कविले बताएका छन् ।
कविले यसलाई वाम आन्दोलनको प्रतीकको रुपमा लिएका छन् । उनले यो आन्दोलन कसैले हराउन नसक्ने बताएका छन् । यो पौराणिक बिम्ब वा मिथक प्रयोग गरी लेखिएको बेजोड कविता हो । यो कविता सौन्दर्यशास्त्रका दृष्टिले उच्च छ ।
कविले यसलाई देब्रे हातलाई वाम आन्दोलनको प्रतीक र दाहिने हातलाई पूँजीवादी साम्राज्यवादीको प्रतीक ठानेका छन् ।
कवि भन्छन्—
देब्रे हातबाट दाहिने हातमा सरेको त्यो
धनु हो कि इतिहासको नयाँ बाटो
भत्काएर राजगुरुकुलको नियम देब्रे हातले
ताँदोमा तानिरहेको
तीर हो कि गन्तव्योन्मूख नयाँ बाटो ?
द्रोणचार्यको सोंचभन्दा धेरै पर
शक्तिशाली
बेहद शक्तिशाली
र झनझन शक्तिशाली हुँदै गइरहेको छ
एकलव्यको देब्रेहात ।
दााहिने हातका चार औंलाहरुले
चरप्प समातेर धनु भव्य,
द्रेणाचार्य दीक्षाको ठीक विपरीत
देब्रेहातले
ताँदोमा तीर तानिरहेछ
किरात पुत्र एकलव्य ।
उनको पहिलो कविता मौनव्रतको सीमा हो । यसमा कवि गिरी श्रीसले थातथलो जरोकिलोको कुरा उठाएका छन् । विभिन्न बहानामा भाषा, कला, संस्कृति समाप्त पारेर पहिचान खान खोज्नेहरु विरुद्ध धावा बोलेका छन् ।
उनले भन्छन्—
जहाँ मेरो बाटो सकिएको ठान्छ शासक
त्यहीबाट शुरु हुन्छ मेरो यात्रा
त्यहीबाट सकिन्छ मेरो मौनव्रत ।
‘पिंधको मान्छे’ कवितामा कविले भूइँमान्छेहरुको पक्षमा लेख्छन् । भुइँमान्छेहरु लड्छन्, बलिदान गर्छन्, जित्छन्, जिताउँछन् र केहीलाई शिखरमा पठाउँछन् तर उनीहरुको दस्ताबेजमा पिंधको मान्छेको नाम निसाना हुँदैन । उनीहरुको विषयमा शिखरमा चढेकाहरुले केही लेख्दैनन् । जीवन मूल्यहीन बनाउँछन् ।
पिंधका मान्छेहरुका विषयमा कवि लेख्छन् —
फेरि पनि किन सल्बलाउँछ ऐठनजस्तै
पिंधको मान्छेको शरीरभरि
उज्यालो दिनको सानासाना सपनाहरु
पिंधको मान्छेको बारेमा उठिबस्छन् मनमा
अनेकौं प्रश्नहरुको उच्छवास
मौन बस्छ
तर शिखरमा बस्नेले लेखेको इतिहास ।
कवि ‘रोल्पा’ कवितामा जनयुद्धमा सबैभन्दा ज्यादा साहदत गरेका वीर रोल्पालीहरुको गौरवगाथा गाएका छन् । रोल्पा परिवर्तनको प्रतीक हो । अहिले गोर्खाको गौरव गाथामा रोल्पा, गौर र टिकापुर जोडिएका छन् । एकात्मक सत्ताको प्रतीक बनेको गोर्खा आज संघीय राज्यमा समावेशी भएर रोल्पा, गौर र टिकापुरसँग भावनात्मक एकीकरण जोडेर साझा राज्य बनेको छ ।
वास्तवमा सहिदहरुको त्याग र बलिदानले नेपालमा युगान्तर आयो । एकात्मक सत्ता संघीय समावेशी सत्तामा बदलियो । राजतन्त्र समाप्त भएर गणतन्त्र आयो ।
एउटा वंशभित्रमा कैद भएको सार्वभौम सत्ता नेपाली जनताको हातमा आयो । जनता सम्प्रभू भए । सबै विचार र आस्थाहरु स्वतन्त्र भए । आत्म सम्मान र पहिचानको जग बन्दै गयो । त्यो परिवर्तनप्रति कविले गर्व गर्न सक्नु पर्छ ।
कवि उनीहरुका सपनाहरु मुर्झाउन थालेकोमा दुखित हुँदै भन्छन्—
त्यही टुँडीखेलमा आज
गुन्जिरहेछन् नव जर्नेलका गीतहरु
अवाक छ, टुँडीखेलको एउटा
कुनामा बैसाखी टेकेर उभिएको
उपेक्षित भूतपूर्व छापामार ।
कवि ‘भित्ताका नाराहरु’ कवितामा सहरको विद्रुप अवस्थाको चित्र गरेका छन् । यो प्रारम्भिक अवस्थाका अव्यस्थित सहरहरुको चित्रण हो । यो बुटवलकै चित्र कुँदेका हुन् कि झै प्रतीत हुन्छ । तर सहर सभ्यता पनि हो । लाखौको जीवन धान्ने श्रोत पनि हो । यसको वर्तमानको विद्रुप रुप बदल्नु पर्छ ।
कवि भन्छन—
व्यस्त ट्राफिकयुक्त सहरमा
रिक्सा तानिरहेछ बालक
द्रुत गतिमा कुँदिरहेछ टिप्पर,
नाङ्गै दौडिरहेछ पागल,
नगरप्रहरीसँग सन्त्रस्त वृद्धा
सडकछेऊ पोलिरहेकी छन् मकै
बसभित्र कोचाकोच उभिरहेका छन् वृद्धहरु
कुटाइ खाइरहेछ पकेटमार
ट्वाइलेट गन्हाउने साँघुरो गल्लीमा
पालो कुरिहेछन् विरामीहरु
चियाको कपमा
आँधी उठाइरहेछन् बुद्धिजीवीहरु
थापेर रेमिटान्स
प्रेमी कुरिरहेकी छे युवती ।
‘धरमर घर’ कवितामा कवितामा संक्रमणकालीन अवस्थाको चित्रण छ । गाउँबाट सहरतिर बसाई सराईको क्रमसँग लागेको नयाँ नसा, त्यसले पारेको मनोवैज्ञानिक प्रभाव र गाउँको धरमर अवस्थाको चित्रण छ ।
कृषि निर्भर अर्थतन्त्र उद्योग वाणिज्य अर्थतन्त्रतिर संक्रमण हुँदा सहरतिर बसाई सराईको क्रममा देखिएको चित्र हो । यो समयमा गाउँ उजाड र सहर गुल्जार बन्दै जान्छ । यो विकासको नियम हो । त्यो समयमा देखिएका विकृतिहरु यस कविताबाट प्रकट भएका छन् ।
कवि लेख्छन् —
यो पसेपछि घरभित्र
बाहिरियो
पितृका किंवदन्ती र झाँक्रीबाजेका कथा,
पुर्खाले पुजेको भरोसा र आस्था
निकालिए घर बाहिर
आमाबाबा र बाजैबजै
तामाका गाग्री र चरेसका थाल
पुरानो सन्दर पुरानो चाल ।
‘ईश्वरको जन्मपछि’ दार्शनिक कविता हो । पृथ्वीको स्वचालित गति थियो । मानिस पनि स्वचालित थियो । आफ्नो भाग्य आफै बनाउँथ्यो । तर जब मनिसको सम्प्रभूता खोसेर ईश्वर आफू शक्तिशाली हुँदै गयो तब मानिस झनझन कमजोर र मगन्ते बन्दै गयो ।
ईश्वर थपिएपछि दासत्वको शुरुआत भयो । ईश्वरको अवतार भन्दै सम्प्रभू बनेर राजतन्त्र जागे । ईश्वरले मन्छेलाई कर्म गर्न हैन कि भाग्य, ग्रह दशाको शिकारमा पा¥यो । आत्म निर्भर मानिस ईश्वरको नाममा मगन्ते भयो ।
कवि भन्छन्—
ईश्वर जन्मेपछि
मानिस मगन्ते बन्यो
र भयो झनझन कमजोर
ईश्वर नि ऊ त भैगयो बलियो घनघोर ।
कवि ‘बोई बिनाको घर’ कवितामा बोई नहुँदा मन र तन उजाडिएको ठान्छन् । सम्भवतः कविको बोइप्रतिको श्रद्धा र आस्था अलि बढी छ । उनले बोइको सम्झनामा कविता पनि लेखेका छन् । अन्य कतिपय प्रसङ्गहरुमा उनले बोइको सन्दर्भ गाँसेका छन् ।
कवि लेख्छन्—
धरतीजस्ती बोई थिइन्
र त रहर थियो रहरजस्तो
घर थियो घरजस्तो ।
अन्त्यमा ‘कहर’ कथा छ । यो बेरोजगारले थलिएको नेपाली युवाहरुको चित्रण हो । जहानको टिकी, तिलहरी र खोरिया बेचेर भिसा लगाएर विदेश पुगी नेपालमा फर्कदाको चित्रण गरेका छन् ।
कवि भन्छन् —
कलंकीको छेउछाउँ सडक पेटीमा कतै
किनेर पठाएथ्यो गाउँको गोरेसँगै
बाबालाई छाता
आमालाई मुजेत्रो
भाइले रहर गरेको घुँडामा फाटेको पाइन्ट
बहिनीलाई नोकिया ११००मोबाइल
नानीहरुलाई काठमाण्डौं पुष्टकारी
जहानलाई एक दर्जन रातो चुरा ।
अन्त्यमा समाजमा सौन्दर्य छ । त्यो कच्चा पदार्थको रुपमा छ । कवि गिरी श्रीस मगरले त्यसलाई टिपेर कालिगढी शिल्प र शैलीले भव्य र दिव्य बनाएका छन् । कविका कथाहरु अभिँदा, लक्षणा तहमा मात्र छैनन् व्यन्जना तहमा पुगेका छन् ।
समीक्षकले कविताको भावार्थलाई भिन्दाभिन्दै तहमा आआफ्नो क्षमताअनुसार अथ्र्याउन र बुझ्न सक्छन् । सरल भाषामा रमरम वौद्धिकता मिसिएको छ । विचार र भावनाको मिश्रण छ । तथापि कवितामा ज्यादा भावना हुनु स्वभाविकै हो । भावनाले कविता सिर्जन्छ । आवरणमा देखिने धनुर्धारी र शीर्षकको तालमेल छ ।
लेआउट राम्रो छ । कविका कविताहरु स्तरीय छन् । कुनै कुनै कविताले वौद्धिक पाठक खोज्छन् । लामो कालीगढी साधना र परिस्कार र निखारबाट माझिएका कविताहरु पढूँ पढूँ लाग्छन् । कविले स्वानुभूति, परानुभूति र सामाजिक यथार्थलाई बडो कलात्मक रुपमा उतारेका छन् । कविलाई साधुवाद ।
प्रखर विचार र सचेतना वीच फक्रेको श्रृजनात्मक रचना हो यो पुस्तक। गिरीजी वास्तवमै जीवन जस्तै कविता लेख्ने, कविता जस्तै जीवन बाच्ने थोरै प्रष्ट विचार र विश्वदृष्टीकोण भएका कवि मध्यका कवि हुनुहुन्छ।