देवकोटाको घर : यो कस्तो खाले ‘संरक्षण’ हो ?
काठमाडौं । २०७५ सालको कात्तिक १६ गते । एक संवाददातासहित म मैतिदेवीस्थित महाकवि लक्ष्मीप्रसाद देवकोटाको घरमा पुगेको थिएँ ।
त्यहाँ जानुअघि मेरो मस्तिष्कमा महाकविको घरबारे अर्कै कल्पना थियो । तर, घरमा पुगेपछि त्यो सबै भत्कियो । मैले कल्पनै नगरेिको दुरावस्थामा रहेछ महाकविको घर । देशकै एक मुर्धन्य साहित्यकारले सास फेरेको घर कुनै भुतबंगलाभन्दा कम थिएन । घरका सबै ढोकाहरु सिल थिए । [भिडिओ]
फोटो खिच्दै जाँदा मैले घरको ढोकामा केही कागज टाँसेको देखेँ । नजिकबाट हेर्दा थाहा भयो, सबै विद्युत प्राधिकरणका बिल रहेछन् । एउटा वा दुईवटा होइन, ढोकाको चारैतिर प्राधिकरणको विल यत्रतत्र थिए ।
महाकविकी छोरीलाई यसबारेमा जिज्ञसा राख्दा उनले प्राधिकरणलाई बारम्बार आफूले बिजुलीको लाइन काटिदिन आग्रह गरेको तर प्राधिकरणले सुन्दै नसुनेको गुनासो गरिन । उनको चिन्ता थियो, ‘यत्ति धेरै बिल अब कसले तिरिदेला ?’
त्यसको करिब तीन वर्षपछि म फेरि देवकोटा निवासमा पुग्दा त्यहाँका परिदृश्य अर्कै थियो । नेपाल प्रज्ञा प्रतिष्ठानले घरको स्वामित्व लिएर पुनर्निमाण गरिरहेको जानकारी पाएर खुशी हुँदै पुगेको मलाई त्यहाँले खिन्न बनायो ।
देवकोटाको घर ‘संरक्षण’ का लागि प्रतिष्ठानले पहल गरेको समाचारमा आए पनि वास्तवमा यो संरक्षण होइन, विनाशजस्तो देखिएको छ । पुरानो घर भत्काइदै छ, त्यहाँभित्र रहेका सामग्रीहरुको राम्रो हिफाजतबिनै ।
हामी पुग्दा त्यहाँ धमाधम काम भत्काउने काम भइरहेको थियो । यस क्रममा केही कामदारहरु र्ईटाभित्र छोपिएका पुराना पुस्तक र तस्वीरहरु निकाल्दै यत्रतत्र मिल्काइरहेका थिए । मिल्काइएका सामग्रीहरु एकत्रित गर्ने काम कसैले गरिरहेको थिएन ।
भत्काइएको घरको भग्नवशेषभित्र कति बहुमूल्य सामग्री पुरिएका छन् र कति यसरी मिल्काइएका छन् भन्ने यकिन छैन ।
हालै धरहरा पुनःनिर्माण भयो । तर, पुरानो धरहराको भत्किएको स्वरुपलाई भने यत्तिकै संरक्षण गरी राखिएको छ । देवकोटाको घरलाई लिएर पनि मेरो मनमा यही प्रश्न उब्जियो । के यो घरलाई पनि कुनै तरिकाले जोगाएर राखिएको भए भावि पुस्ताका निम्ति देवकोटाका चिनो हुन्थेन ? घरै भत्काइदिनु कस्तो खालको संरक्षण हो ?