आरती साहमाथि एसिड प्रहार गर्ने श्रीमान् दोषी ठहर, एसिड उपलब्ध गराउने व्यवसायीलाई सफाई
जनकपुरधाम । धनुषाकी आरती साहमाथि एसिड प्रहार गरेको घटनामा जिल्ला अदालत धनुषाले उनकै श्रीमानलाई दोषी ठहर गरेको छ भने एसिड उपलब्ध गराउने व्यावसायीलाई सफाई दिइएको छ ।
एसिड प्रहार गरी अंगभंग र कुरूप बनाएको मुद्दामा अदालतले पीडित आरतीका श्रीमान् संजिव साहलाई दोषी ठहर र एसिड बेचेका व्यावसायी नागेन्द्र साहलाई सफाई दिएको हो । न्यायाधिश कृष्ण मुरारी सिवाकोटीले एकल इजलाशले यस्तो फैसला सुनाएका छन् । दोषी ठहर संजिवलाई सजाय निर्धारणको लागि पेश गर्ने आदेश पनि दिएको छ । अब एक हप्ताभित्रै सजाय निर्धारण हुने बताइएको छ ।
जनकपुरधाम उपमहानगर ७ स्थित डेरामा बसेकी आरती र छोरी रियामाथि सञ्जिवले ०७७ कार्तिक २७ मा एसिड छ्यापेका थिए । घटना लगत्तै संजिवलाई प्रहरीले पक्राउ गरेको थियो । त्यसपछि संजिवले निखिल स्टोरबाट एसिड किनेको वयान दिएपछि प्रहरीले स्टोर संचालक नागेन्द्रलाई पनि पक्राउ गरेको थियो ।
जिल्ला सरकारी वकिलको कार्यालय धनुषाले ०७७ मंसिर २४ मा श्रीमतीमाथि एसिड प्रहार गर्ने धनुषाकै सबैला नगरपालिका ६ का संजिव र एसिड बेच्ने नागेन्द्रलाई समेत १५ वर्ष ६ महिना कैद र कानुन बमोजिम उपचार खर्च उपलब्ध गराउनुपर्ने दावी जिल्ला अदातलतमा दर्ता गराएको थियो ।
एसिड प्रहारबाट आरती शरीरको करिब १५ प्रतिशत भाग जलेको थियो । काठमाडौंको किर्तिपुर अस्पतालमा उनको अनुहारको दाहिने भागको छाला प्रत्यारोपण समेत गरिएको छ । छोरी रियाको हात र टाउकोमा एसिडले खत बसेको छ ।
आर्थिक अभावका कारण आरतीलाई आमा(बुवाले ऋण काढेर उपचार गराएका छन् । विभिन्न दाताले केहि सहयोग गरेपनि उपचारमा करिब ३ लाख रुपैया ऋण काढेर तिरेको आरतीकी आमा सुनिता बताउछिन् । आरती जनकपुरमै तरकारी बेचेर गुजरा चलाउछिन् ।