राष्ट्रसंघीय जलवायु प्रतिवेदनको निष्कर्ष : मानवीय गतिविधिले सभ्यतालाई नै खतरा
सन् २०३० सम्म तापक्रम १.५ डिग्री सेल्यिस बढ्ने निष्कर्ष
काठमाडौं । एउटा प्रमुख राष्ट्रसंघीय प्रतिवेदनले मानवीय गतिविधिको कारण जलवायुमा अभूतपूर्व परिवर्तन देखापरेको र त्यो घातक रहेको समेत निष्कर्ष निकालेको छ ।
कोशेढुंगा मानिएको उक्त अध्ययनले तापक्रमलाई सीमित तुल्याउने सहमति एक दशकमै उल्लंघन हुँदा अति गर्मी हुनसक्ने, सुख्खा र बाढीका घटना निम्तने समेत चेतावनी दिएको छ ।
राष्ट्रसंघका महासचिवले यो अध्ययनलाई मानव सभ्यताका लागि खतराको घण्टी भएको बताएका छन् । उक्त अध्ययनले सन् २०३० सम्म पृथ्वीको तापक्रम १.५ डिग्री सेल्सियले वृद्धि हुने अनुमान गरेको छ ।
तर, वैज्ञानिकहरु चाहिँ विश्वले जतिसक्दो चाँडो वातावरणीय चुनौतिविरुद्ध काम गर्न सके सम्भावित विनाशलाई रोक्न सकिने बताउँछन् । हरितगृह ग्याँस उत्सर्जनमा व्यापक कटौती गर्न सकिए बढ्दो तापक्रमलाई रोक्न सकिनेमा उनीहरु आशावादी छन् ।
राष्ट्रसंघीय महासचिव एन्टोनियो गुट्रेसले सबै शक्तिलाई एक तुल्याउन सकिए वातावरण विनाशलाई रोक्न सकिने बताएका छन् । उक्त प्रतिवेदन सन् २०१३ यताकै विज्ञान र वातावरण परिवर्तनबारेको गम्भीर समीक्षा भएको मानिएको छ ।
बेलायतको ग्लास्गोमा कोप-२६ नामक प्रमुख जलवायु सम्मेलन हुनुको तीन महीनाअघि नै यस्तो प्रतिवेदन सार्वजनिक भएको हो ।