मारुती सिमेन्टले अतिक्रमण गरेको वनको जग्गा फिर्ता ल्याउन माग – Nepal Press

मारुती सिमेन्टले अतिक्रमण गरेको वनको जग्गा फिर्ता ल्याउन माग

जनकपुरधाम । अतिक्रमित बनको जग्गा फिर्ता ल्याउन प्रदेश सरकारले चासो नदेखाएको भन्दै चुरे तथा वन जंगल संरक्षण अभियानका धनुषा संयोजक अमन यादवले आमरण अनसन बस्ने चेतावनी दिएका छन् ।

जनकपुरस्थित जनक चोकमा पत्रकार सम्मेलन गरी संयोजक यादवले सिरहाको चोहर्वास्थित मारुती सिमेन्ट उद्योगले अतिक्रमण गरेको वनको जग्गा फिर्ता गराउन पटक पटक आन्दोलन गर्दा पनि प्रदेश सरकारले चासो नदेखाएकाले अब आमरण अनसन बस्ने बताए ।

‘वनको जग्गा फिर्ता ल्याउने प्रक्रिया अगाडी बढाउन बुधवारसम्मका लागि समय दिएका छौं’, उनले भने, ‘प्रक्रिया अगाडी नबढाए बिहीवारदेखि जनक चोकमै आमरण अनसन बस्छु ।’ मुख्यमन्त्री लालबाबु राउतले अतिक्रमित जग्गा फिर्ता ल्याउने प्रतिवद्धता जनाए पनि अहिले चुप लागेको उनको भनाई छ ।

अभियानकी महोत्तरी संयोजक सबिता यादवले प्रदेशका वन मन्त्री र मारुती सिमेन्ट उद्योगको मिलोमतो रहेका कारण अतिक्रमित जग्गा फिर्ता नभएको आरोप लगाइन् । उनले भनिन्, ‘वन नै रहेन भने हामी कसरी बाँच्छौं ? तर मन्त्रीहरुलाई नै कुनै मतलव छैन । यो चिन्ताको विषय हो ।’

वृक्षारोपणमा भ्रष्टाचार गरेको भन्दै आन्दोलन गर्दा जिल्ला वन कार्यालय लहानले चुरे अभियानमीहरुमाथि लगाएको झुठ्ठा मुद्दा फिर्ता लिनुपर्ने र वृक्षारोपनका लागि खरिद गरेको फलफूलको विरुवामा भएको अनियमिताको छानविन गर्नुपर्ने पनि अभियान्ताहरुको माग छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *