मेयर द्वारिकलालले सर्वसाधारणलाई नगरपालिकाभित्रै अढाइ घन्टा थुने – Nepal Press

मेयर द्वारिकलालले सर्वसाधारणलाई नगरपालिकाभित्रै अढाइ घन्टा थुने

काठमाडौं । इटहरीका मेयर द्वारिकलाल चौधरीले एक स्थानीय युवालाई नगरपालिकाभित्रको एउटा कोठामा अढाइ घन्टा थुनेका छन् । इटहरी-४ आइतबारेका यामप्रसाद ढकाललाई उनले नक्शाबिना घर बनाएको भन्दै नगरपालिकामा बोलाएर थुनेका हुन् ।

ढकालका अनुसार आज बिहान ११ बजेतिर नगरप्रहरी उनको घरमै पुगेका थिए । तर उनी घरमा थिएनन् । त्यसपछि उनलाई प्रहरीले फोन गरेर तुरुन्तै इटहरी आएर मेयरलाई भेट्न उर्दी गरे ।

ढकाल घर आए र आफ्ना एक आफन्तलाई लिएर इटहरीस्थित उपमहानगरपालिकाको कार्यालयमा पुगे । त्यहाँ पुगेर मेयरलाई भेट्नासाथ उनी आफूसित जंगिएको ढकालले बताए ।

‘घरको नक्शा छैन ? भनेर सोध्नुभयो । मैले आफ्नो घर ऐलानी जग्गामा भएकाले नक्शा नभएको बताएँ । त्यसपछि एक हप्ताभित्र घर भत्काउने भनेर कागजमा सही गर्न आदेश दिनुभयो,’ ढकालले भने ।

ढकालका अनुसार उनको दुई तल्ले घर ऐलानी र नम्बरी जग्गामा बनेको छ । नगरपालिकाबाट सिफारिस लिएर करिब १२ वर्षअघि बनाएको घरको लालपुर्जा आफूसँग नभएको र यसका लागि प्रयास गरिरहेको उनको भनाइ छ ।

ढकालले घर नभत्काउने अडान लिएपछि मेयर चौधरीले आक्रोशित हुँदै उनलाई अर्को कोठामा लगेर थुनिदिन प्रहरीलाई आदेश दिएका थिए । त्यहीबमोजिम नगरप्रहरीले आफूलाई प्रशासकीय अधिकृतको कोठामा हुलेर अढाइ घन्टासम्म थुनेको उनी बताउँछन् । त्यतिबेला प्रशासकीय अधिकृत आफ्नो कार्यकक्षमा आएका थिएनन् ।

भित्र थुनिएपछि उनले फोन गरेर साथीहरु बोलाएका थिए । सबै आएर होहल्ला गरेपछि पत्रकारको रोहबरमा उनलाई छोडिएको थियो ।

मेयर भन्छन् : एसीमा राखेर मिनरल वाटर दिएको थिएँ

मेयर चौधरीले अनाधिकृत रुपमा खोला मिचेर घर बनाएकाले सोधपुछ गर्न आफूले ढकाललाई बोलाएको बताएका छन् । उनका अनुसार तीन बर्षअघि खोला सफा जाँदा खोलाभित्र ढकालले घर बनाएको भेटिएको थियो ।

‘नगरपालिकासँग स्वीकृत नलिइ घर बनाएकाले सोधपुछ गर्न बोलाएको हुँ,’ उनले नेपाल प्रेससँग भने, ‘म बाहिर निस्कदै छु, आएपछि कुरा गरौला, प्रमुख प्रशासकीय अधिकृतको कोठामा बस्दै गर्नु भनेको थिएँ । अहिले थुन्यो भनेर हल्ला गर्नु भएछ ।’

मेयर चौधरीले थपे, ‘खोला-पैनी किन मिचेको ? भनेर सोधपुछ गर्न बोलाँउदा थुनेको भन्ने ? मैले त एसी भएको कोठामा मिनरल वाटर दिएर राखेको छु ।’

मेयरको कार्यकक्षमा ताला

मेयर चौधरीले सर्वसाधारणलाई बोलाएर थुनेको भन्दै नेपाली कांग्रेस इटहरीले उनको कार्यकक्षमा तालाबन्दी गरेको छ । नेपाली कांग्रेस इटहरीका सभापति हेमकर्ण पौडेलले ‘द्वारिकलालको आतंक र अराजकताको सिमा नाघेकाले’ तालाबन्दी गरेको बताए ।

‘देशमा कानुनी व्यवस्था छ कि छैन ? जनताबाट निर्वाचित जनप्रतिनिधिको यही हो पारा ? हाम्रो धैर्यताको सिमा नाघ्यो,’ पौडेलले भने, ‘जनतालाई उपमहानगरपालिकाभित्र बन्दी बनाउने मेयरलाई अधिकार छ ?’

हिजो इटहरी- १३ मा निर्माण हुँदै गरेको एक रिसोर्टको पर्खाल मेयर चौधरीले भत्काउन लगाएका थिए । पैनीमा बनेकाले भत्काएको चौधरीको तर्क छ । रिसोर्ट सञ्चालक सुरेन्द्र तामाङलागायत स्थानीय भने निजी जग्गामा डोजर चलाएको भन्दै आक्रोशित बनेका छन् । स्थानीयको आक्रोशमा इटहरीका राजनीतिक दलका नेताहरूले साथ दिएका छन् ।

नेकपा माओवादी केन्द्रका नेता मदन चुडालले सही नियतले गरेको भए सहयोग हुने तर नियतबसको डोजर आतंकको समर्थन नहुने टिप्पणी गरेका छन् । डोजर चलाए मेयर चौधरीको आफ्नै घरबाट सुरु हुनुपर्ने चुडालको भनाइ छ । मेयर चौधरीको इटहरी लबिपुर क्षेत्रको घर नै सडकमा बनेको संकेत गर्दै चुडालले यस्तो बताएका हुन् ।

कांग्रेस इटहरीका नेता विकास केसीले पनि डोजर व्यक्तिगत आक्रोश पोख्ने माध्यम भएको भन्दै आलोचना गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *