यस्ता छन्, बार्सिलोनामा मेसीले तोड्न नसकेका कीर्तिमान !
काठमाडौं । लियोनेल मेसी क्लबबाट बिदा भएसँगै बार्सिलोनाको एक गौरवशाली अध्यायको अन्त्य भएको छ । सन् २००० मा सुरु भएको मेसीको बार्सिलोना यात्रा २०२१ मा उनको क्लब सम्झौतासँगै समाप्त भएको छ । मेसीले क्लबमा आधा तलब घटाएर बस्ने इच्छा राखे पनि ला लिगाको नियमका कारण बार्सिलोना बसाइमा पूर्णविराम लागेको छ । र, मेसी फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी)सँग दुई वर्षको सम्झौतामा आबद्ध भएका छन् ।
मेसी काटलान क्लबको इतिहासकै सर्वाधिक सफल खेलाडी हुन् । उनी बार्सिलोनाबाट सर्वाधिक खेल खेल्ने खेलाडी हुन् । बार्सिलोनाका लागि ७ सय ७८ खेल खेलेका मेसीले ३५ उपाधि जितेका छन् । मेसी बार्सिलोनाका सर्वकालीन सर्वाधिक गोलकर्ता हुन्, उनले ६ सय ७२ गोल गरेका छन् ।
१७ वर्ष बार्सिलोनाको जर्सी लगाएर खेलेका मेसीले धेरै रेकर्ड बनाएका छन् । ६ पटक बालन डी’अर जित्ने तथा एकै क्लबका लागि सर्वाधिक गोलकर्ता जस्ता अद्भूत कीर्तिमान मेसीकै नाममा छन् । तर, अप्रत्याशित रूपमा नयाँ सिजनका लागि क्लब छाड्नु परेपछि केही इतिहासको नजिक पुगेर पनि भङ्ग गर्न भने मेसी असफल रहे ।
मेसी एउटै क्लबका लागि सबैभन्दा धेरै ट्रफी जित्ने खेलाडी हुन् ?
लियोनल मेसीले बार्सिलोनाको खेलाडीको रूपमा डोमेस्टिक र युरोपेली क्लब फुटबलका गरी कूल ३५ ट्रफी जितेका छन् । तर, म्यान्चेस्टर युनाइटेडका महान खेलाडी रायन गिग्सपछि एउटै क्लबबाट धेरै ट्रफी जित्ने खेलाडी बने । गिग्सले युनाइटेडबाट ३६ ट्रफी जितेका छन् ।
खेलाडी | क्लब | उपाधि |
---|---|---|
रायन गिग्स | म्यानचेस्टर युनाइटेड | ३६ |
लियोनेल मेसी | बार्सिलोना | ३५ |
जाभी हर्नान्डेज | बार्सिलोना | ३३ |
एन्द्रेस इनिएस्टा | बार्सिलोना | ३० |
जेरार्ड पिके | बार्सिलोना | ३० |
सबैभन्दा धेरै पटक ला लिगा उपाधि जित्ने खेलाडी को हुन् ?
बार्सिलोनासँग १७ वर्षको यात्रामा मेसीले १० पटक ला लिगा जितेका छन् । उनी लिगको इतिहासकै संयुक्त रूपमा दोस्रो सफल खेलाडी हुन् । रियाल मड्रिडका पूर्व खेलाडी पिरी र उनका सफलता बराबरी छन् । रियालका अर्का महान् पाको जेन्टो १२ उपाधिसहित ला लिगाको इतिहासकै सर्वाधिक सफल खेलाडी हुन् ।
पोजिसन | खेलाडी | क्लब | ला लिगा उपाधि |
---|---|---|---|
१ | पाको गेन्टो | रियाल मड्रिड | १२ |
२ | लियोनेल मेसी | बार्सिलोना | १० |
२ | पिरी | रियाल मड्रिड | १० |
३ | एन्द्रेस इनिएस्टा | बार्सिलोना | ९ |
३ | जोसे एन्टोनियो कमाचो | रियाल मड्रिड | ९ |
३ | सान्टिलाना | रियाल मड्रिड | ९ |
३ | अमानसिओ | रियाल मड्रिड | ९ |
युईएफए च्याम्पियन्स लिगमा बार्सिलोनाबाट सबैभन्दा धेरै खेल खेल्ने खेलाडी को को हुन् ?
मेसी बार्सिलोनाबाट दोस्रो सर्वाधिक खेल खेल्ने खेलाडी हुन् । उनले च्याम्पियन्स लिगमा १ सय ४९ खेल खेलेका छन् । मेसीका पूर्व टिममेट जाभी हर्नान्डेजले बार्सिलोनाबाट च्यापियन्स लिगमा १ सय ५१ खेल खेलेका छन् ।
खेलाडी | खेल | अवधि |
---|---|---|
जाभी हर्नान्डेज | १५१ | १९९८-२०१५ |
लियोनेल मेसी | १४१ | २००५-२०२१ |
एन्द्रेस इनिएस्टा | १३० | २००२-२०१८ |
सर्जियो बुस्केट | ११९ | २००८-अहिलेसम्म |
जेजार्ड पिके | ११५ | २००८-अहिलेसम्म |
मेसी कोपाडेल रेका सर्वाधिक गोलकर्ता हुन् त ?
होइनन् । कोपाडेल रे इतिहासको चौथो सर्वकालिन सर्वाधिक गोलकर्ता हुन्, मेसी । बार्सिलोना करियरमा सात पटक कोपाडेल रे जितेका मेसीले प्रतियोगितामा ५६ गोल गरेका छन् । पूर्व स्पेनिस स्ट्राइकर टेल्मो जारा ८१ गोलसहित प्रतियोगिताको सर्वकालिन सर्वाधिक गोलकर्ता हुन् ।
खेलाडी | क्लब | वर्ष | गोल |
---|---|---|---|
टेल्मो जारा | एथ्लेटिक बिल्बाओ | १९३९-१९५७ | ८१ |
जोसेप सामिटाएर | बार्सिलोना, रियाल मड्रिड | १९१९-१९३४ | ७० |
ग्विलेर्मो गोरोस्टिजा | रेसिङ फेरोल, एथ्लेटिक बिल्बाओ, भ्यालेन्सिया | १९२८-१९४६ | ६४ |
लियोनेल मेसी | बार्सिलोना | २००४-२०२१ | ५६ |
एडमुन्डो स्वारेज | भ्यालेन्सिया | १९३९-१९५० | ५५ |