मोटरसाइकल चोरको विगविगी, खोजी गर्न सादा पोशाकका प्रहरी परिचालन – Nepal Press

मोटरसाइकल चोरको विगविगी, खोजी गर्न सादा पोशाकका प्रहरी परिचालन

आठ वर्षमा ८ हजारवटा मोटरसाइकल चोरी, २४ प्रतिशत भेटिए

काठमाडौं ।
घटना-१
स्याङ्जा आँधीखोला गाउँपालिका-५ का मुक्तिप्रसाद पौडेल किर्तिपुर नगरपालिका-९ नगाउँमा बस्छन् । उनी आफ्नो बा ९४ प ७१६४ नम्बरको पल्सर मोटरसाइकल सँधै घरको आँगनमा पार्किङ गर्छन् ।

आइतबार बिहान उठेर आँगनमा मोटरसाइकल हेर्दा देखेनन् । यताउति खोजिनिति गर्दा पनि भेटिएन । शनिबार राति उनको मोटरसाइकल चोरिएको पुष्टि भयो ।

उनले सिधै महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथमा सम्पर्क गरेर आफ्नो मोटरसाइकलको विवरण बुझाई चोरी भएको जानकारी गराए । ट्राफिक प्रहरी महाशाखाले तुरुन्तै सादा पोशाकमा टोली परिचालन गर्‍याे ।

परिचालन भएको टोलीले मोटरसाइकल हराएको २४ घण्टा बित्न नपाउँदै नम्बर प्लेटसमेत परिवर्तन गरी चावीबिनै मोटरसाइकल चलाइरहेको अवस्थामा दुई जनालाई भक्तपुरको सुर्यविनायक नगरपालिका-९ पलाँसेबाट पक्राउ गर्‍याे ।

चोरीमा संलग्न थिए, रामेछाप खाँडादेवी गाउँपालिका-७ घर भई हाल काठमाडौंको नारायणटार बस्दै आएका १८ वर्षका सुन्दर मगर र रामेछाप सुनापती गाउँपालिका-२ घर भई नारायणटार नै बस्दै आएका दीपक सिंजाली मगर । टालीले मोटरसाइकलसहित दुवै जनालाई महानगरीय प्रहरी वृत्त, किर्तिपुरमा बुझाएको छ । मोटरसाइकल नियन्त्रणमा लिएर महानगरीय ट्राफिक प्रहरी महाशाखामा राखिएको छ । केही दिनमा मोटरसाइकलधनीलाई फिर्ता गर्ने महाशाखाले तयारी गरिरहेको छ ।

घटना-२
रसुवा नौकुण्ड गाउँपालिका-६ का २१ वर्षका राममान तामाङ काठमाडौको टोखा नगरपालिका धनेश्‍वरमा बस्छन् । तामाङको प्रदेश ३-०२-००२ प ४८०३ नम्बरको मोटरसाइकल घरमा पार्किङ गरेर राखेको अवस्थामा श्रावण १३ गते चोरी भयो । मोटरसाइकल चोरी भएपछि तामाङले महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथमा निवेदन दिए ।

निवेदन दिएलगत्तै मोटरसाइकल चोरीमा संलग्न व्यक्तिलाई पक्राउ गर्नका लागि महाशाखाले सादा पोसाकमा ट्राफिक प्रहरी टोली परिचालन गर्यो । करिव एक हप्ताको निरन्तर सुचना संकलन र निगरानीपछि नम्वर परिवर्तन गरी मोटरसाइकल चलाइरहेको अवस्थामा टोलीले दुई जनालाई पक्राउ गर्न सफल भयो ।

साउन २१ गते ट्राफिक प्रहरीले काठमाडौंको तारकेश्‍वर नगरपालिका ६ धर्मस्थलीमा बा ८९ प ७९६९ नम्वरको कालो, रातो रंङको दुई सय २० सीसीको पल्सर मोटरसाईकल भेटेको थियो । शंका लागेर चेकजाँच गरी बुझ्दै जाँदा उक्त मोटरसाइकल रामामानकै भएको खुल्यो ।

उक्त मोटरसाइकल चोरीमा संलग्न थिए, नुवाकोट सुर्यगडी गाउँपालिका-४ घर भई हाल काठमाडौंको बनस्थली बस्दै आएका २४ वर्षका सञ्जय तामाङ र सोही जिल्लाको तादी गाउँपालिका-६ घर भई अहिले काठमाडौंको तारकेश्‍वर-६ मा बस्दै आएका ३२ वर्षका बुद्धीबहादुर तामाङ । पक्राउ परेको मोटरसाइकलसहित दुवै जनालाई महानगरीय ट्राफिक प्रहरी महाशाखाले महानगरीय प्रहरी वृत्त, महाराजगञ्जमा बुझाएको छ ।

घटना-३
भक्तपुरको सरस्वतीखेलका बासुदेव खड्काको आफ्नै घर अगाडिबाट २०७६ सालमा मोटरसाइकल चोरी भयो । चोरी भएपछि खड्काले मोटरसाइकल हराएको भन्दै त्यतिबेला नै महानगरीय ट्राफिक महाशाखामा उजुरी दिएका थिए ।

मोटरसाइकल हराएको दुई वर्ष वित्न लाग्दा पनि भेटिएको थिएन । कालो र रातो रङको एक सय ५० सीसीको पल्सर मोटरसाइकलको नम्बर हो बा ९७ प १३०५ । करिब दुई वर्षपछि साउन १६ गते राती एक्कासी नम्बर परिवर्तन गरेर बा ९५ प ४१६८ राखिएको अवस्थामा ट्राफिक प्रहरीको टोलीले उक्त मोटरसाइकलसहित दुई जनलाई पक्राउ गर्‍यो ।

उक्त मोटरसाइकलसहित रामेछाप घर भई भक्तपुर बस्दै आएका १९ वर्षका दिपेन्द्र भुजेल र ताप्लेजुङका १९ वर्षीय विशेष लिम्बु पक्राउ परे ।

किर्तिपुर बस्ने प्रशान्त रावलको पनि बा ९६ प ८८३६ नं. को कालो एनएस पल्सर चोरी भएको थियो । त्यसै दिन उक्त नम्बर परिवर्तन गरेर बा ९१ प ८६७२ नम्बर प्रयोग गरेको अबस्थामा धनुषा मिथिलाका २१ वर्षका बिकल थापालाई ट्राफिक प्रहरीको टोलीले भक्तपुरबाटै सोही दिन नियन्त्रणमा लिएको छ ।

महाशाखाले दुवै घटनामा दुईवटा पल्सर मोटरसाइकल सहित चोरीमा संलग्न तीन जनालाई पक्राउ गरेको छ । पक्राउ परेका मोटरसाइकलसहित तिनै जनालाई थप अनुसन्धान एवं कानूनी कारवाहीका लागि महानगरीय प्रहरी बृत्त ठिमीमा बुझाइसकिएको छ ।

घटना-४
साउन २ गते बिहान साढे आठ बजे भक्तपुरको सानोठिमीबाट दुई सय सीसीको बा ९५ प २३३ नम्वरको केटिएम डुक मोटरसाइकल गायव भयो । आफ्नो मोटरसाइकल हराएको भन्दै बैदेश्वर गाउँपालिका-३ दोलखा घर भएका कृष्ण कार्कीले महानगरीय ट्राफिक महाशाखामा निवेदन दिए ।

मोटरसाइकल चोरी भएको सुचना प्राप्त गर्नेबित्तिकै महानगरीय ट्राफिक प्रहरी महाशाखाले सादा पोसाकको टोली परिचालन गर्‍याे । टोलीले भोलिपल्ट दिउँसो तीन बजे नै उक्त मोटरसाइकलसहित एक जनालाई नियन्त्रणमा लिन सफल भयो ।

चोरी भएको दोस्रो दिन सोही मोटरसाइकल कमलामाई नगरपालिका-७ सिन्धुली घर भएका १९ वर्षका विज्ञान भुजेलले विनाचावी चलाइरहेको अवस्थामा फेला परेको थियो । उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान र सोधपुछ गर्दा बा ८३ प ३३४५ नम्बरको दुई सय सीसी एनएस रातो पल्सर मोटरसाइकलसमेत उनी बस्दै आएको ठाउँ भक्तपुरको कौशलटारमा फेला पर्‍याे ।

उक्त मोटरसाइकल जेठ १० गते ललितपुरको बालकुमारीबाट हराएको भनी गोदावारी नगरपालिका वडा नम्बर ६ टिकाभैरव घर भएका लक्ष्मण रानाले महाशाखामा निवेदन दिएका थिए । महानगरीय ट्राफिक महाशाखाको टोलीले अनुसन्धान गर्दै जाँदा भुजेलले पेशेवररूपमै मोटरसाइकल चोरी गर्ने गरेको भेटियो । पक्राउ परेका व्यक्तिलाई मोटरसाइकलसहित चोरी मुद्दामा अनुसन्धान कारबाहीका लागि महानगरीय प्रहरी बृत्त, ठिमीमा बुझाइसकिएको छ ।

सादा पोशाकका प्रहरी परिचालित

काठमाडौं उपत्यकाका बिभिन्न स्थानबाट हुने मोटरसाइकल चोरीका घटनालाई न्युनीकरण गर्न सादा पोशाकमा ट्राफिक प्रहरी परिचालन गरिएको महानगरीय ट्राफिक प्रहरी मशाखाका प्रमुखसमेत रहेका प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) जनक भट्टराईले बताए ।

उनले भने, ‘मोटरसाइकल चोरीमा संलग्न गिरोहलाई बिशेष निगरानी गर्न, सुचना संकलन गर्न र त्यस्ता व्यक्तिलाई पक्राउ गर्न बिशेष अभियान संचालन भइरहेको छ ।’

आठ बर्षमा ८३ प्रतिशतले चोरी बढ्यो

काठमाडौं उपत्यकामा आठ वर्षको अवधिमा मात्र आठ हजारभन्दा बढी मोटरसाइकल चोरी भएका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार आर्थिक वर्ष २०७०/०७१ देखि गत आर्थिक वर्ष ०७७/०७८ सम्म आठ हजार सात सय चार वटा मोटरसाइकल चोरी भएका महाशाखमा निवेदन परेका हुन् ।

आठ वर्षको अवधिमा सबैभन्दा बढी आर्थिक वर्ष २०७५/०७६ मा एक हजार ६ सय ११ वटा मोटरसाइकल चोरी भएको महाशाखाका प्रमुख, प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) जनक भट्टराईले नेपाल प्रेसलाई जानकारी दिए । उनका अनुसार सबैभन्दा कम भने आर्थिक वर्ष आर्थिक वर्ष २०७१/०७२ मा चार सय ७१ वटा मोटरसाइकल चोरी भएका छन् ।

आर्थिक वर्ष २०७०/०७१ मा सात सय ४०, २०७१/०७२ मा चार सय ७१, २०७२/०७३ मा सात सय ३३, २०७३/०७४ मा एक हजार २५ मोटरसाइकल चोरी भएको भन्दै महाशाखामा निवेदन परेका थिए ।

यस्तै आर्थिक वर्ष २०७४/०७५ मा एक हजार तीन सय ८२, २०७५/०७६ एक हजार छ सय ११, २०७६/०७७ मा एक हजार तीन सय ८६ र २०७७/०७८ मा एक हजार तीन सय ५६ मोटरसाइकल चोरी भएको भन्दै निवेदन परेको महाशाखाले जनाएको छ ।

चोरिएकामध्ये २४ प्रतिशत भेटिए

आठ वर्षको अवधिमा चोरी भएकामध्ये २४ प्रतिशत अर्थात दुइ हजार एक सय १४ मोटरसाइकल फेला परेका छन् । सबैभन्दा बढी गत आर्थिक वर्ष २०७७/०७८ मा आधाभन्दा बढी ५३ प्रतिशत मोटरसाइकल ट्राफिक प्रहरीको पहलमा फिर्ता भएका छन् । गत वर्ष एक हजार तीन सय ५६ मोटरसाइकल चोरी भएकोमा सात सय २० वटा मोटरसाइकल धनीलाई फिर्ता गरिएको छ ।

महाशाखाका अनुसार आर्थिक वर्ष २०७०/०७१ मा दुइ सय चार, २०७१/०७२ मा एक सय १४, २०७२/०७३ मा एक सय ३१, २०७३/०७४ मा एक सय ६८ वटा चोरी भएका मोटरसाइकल फिर्ता भएका छन । यस्तै आर्थिक वर्ष २०७४/०७५ मा दुई सय ५१, २०७५/०७६ एक सय ८९, २०७६/०७७ मा तीन सय ३७ र २०७७/०७८ मा सात सय २० मोटरसाइकल ट्राफिक प्रहरीले फिर्ता गराएको छ ।

आठ वर्षको अवधिमा एक सय ८१ मोटरसाइकल चोरीमा संलग्न तीन सय ७७ जनलाई ट्राफिक प्रहरी महाशाखाले कारवाहीका लागि महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा सिफारिस गरेको छ । जसमा सबैभन्दा बढी आर्थिक वर्ष २०७६/०७७ मा २३ मोटरसाइकल चोरीमा संलग्न भएका एक सय १९ जनालाई कारणहीका लागि सिफारिस गरिएको हो ।

महाशाखाका अनुसार आर्थिक वर्ष २०७०/०७१ मा १७ मोटरसाइकल चोरीमा संलग्न ३७ जना, २०७१/०७२ मा आठवटा मोटरसाइकल चोरीमा संलग्न १५ जना, २०७२/०७३ मा १७ वटा मोटरसाइकल चोरीमा संलग्न ३६ जना, २०७३/०७४ मा एक हजार १४ मोटरसाइकल चोरीमा संलग्न १५ जनालाई कारवाहीका लागि सिफारिस गरिएको छ ।

यस्तै आर्थिक वर्ष २०७४/०७५ मा २१ मोटरसाइकल चोरीमा संलग्न ३२ जना, २०७५/०७६ मा ५१ मोटरसाइकल चोरीमा संलग्न ८१ जना, २०७६/०७७ मा २३ मोटरसाइकल चोरीमा संलग्न एक सय १९ र २०७७/०७८ मा ३० मोटरसाइकल चोरीमा संलग्न ५१ जनालाई कारवाहीका लागि सिफारिस गरिएको छ ।

पुसमा १ सय ९८ मोटरसाइकल चोरी

गत आर्थिक वर्षको १२ महिनाको अवधिमा सबैभन्दा बढी पुसमा एक सय ९८ मोटरसाइकल चोरी भएको महानगरीय ट्राफिक प्रहरी महाशाखामा निवेदन परेको छ । जसमध्येबाट ९९ वटा मोटरसाइकल फेला पारेर मोटरसाइकल धनीको जिम्मा लगाइएको छ ।

गत वर्ष साउनमा ४१ मोटरसाइकल चोरी भएकोमा २३ वटा फेला परेका थिए भने भदौमा १८ वटा चोरी भएकोमा दुई वटा निवेदन नै नपरेको सहित २० वटा फेला परे । यस्तै, असोजमा एक सय ७६ वटा चोरी भएकोमा ७०, कात्तिकमा एक सय १६ चोरी भएकोमा ७८, मंसिरमा एक सय ५१ चोरी भएकोमा ८०, पुसमा एक सय ९८ चोरी भएकोमा ९९ मोटरसाइकल फेला परेका छन् ।

 

यस्तै माघमा एक सय ७७ वटा चोरी भएकोमा ८३, फागुनमा एक सय ३८ चोरी भएकोमा ६८, चैतमा एक सय ६१ चोरी भएकोमा ८४, बैशाखमा ७६ वटा चोरी भएकोमा ६२, जेठमा १८ वटा चोरी भएकोमा १० र असारमा ८६ वटा चोरी भएकोमा ४० वटा फेला परेका छन् । फेला पारेका सबै मोटरसाइकल धनीको जिम्मा लगाइएको जनाइएको छ ।

चालु आर्थिक वर्षको एक महिनाको अवधिमा पनि धेरै चोरी भएका मोटरसाइकल फेला परिसकेको महाशाखाका प्रवक्तासमेत रहेका प्रहरी उपरीक्षक (एसपी) सञ्जिव शर्मा दासले नेपाल प्रेसलाई जानकारी दिए । उनका अनुसार पछिल्लो हप्तामा मात्र ६ वटा मोटरसाइकल फेला परेको उनले बताए । पछिल्लो समय चोरीको संख्या घटेको तर धेरै समयअघि चोरी भएका मोटरसाइकल फेला पारेर फिर्ता गर्ने क्रम बढेको एसपी दासको भनाई छ ।

पछिल्लो समय निवेदन नदिए पनि चोरी भएका मोटरसाइकलको खोजी कार्यलाई ट्राफिक महाशाखाले तीव्रता दिन थालेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *