नेपाली युवाः अधिकार खोज्ने, जिम्मेवारीबाट पन्छने ?
युवाको उमेर अधिकांश देशमा १५ देखि ३५ वर्षका बीचमा कायम गरिएको पाइएता पनि संयुक्त राष्ट्रसंघ र विश्व बैंक जस्ता अन्तर्राष्ट्रिय संस्थाले १५ देखि २४ वर्षको उमेर समूहलाई युवा मानेको छ । नेपालको सन्दर्भमा नेपालको अन्तरिम संविधानले १५ देखि २९ वर्षको उमेर समूहलाई युवा भनेर परिभाषित गरेको थियो भने राष्ट्रिय युवा परिषद् ऐन, २०७२ तथा राष्ट्रिय युवा नीति, २०७२ ले १६ देखि ४० वर्षलाई युवा उमेर समूह निर्धारण गरेको छ ।
‘युथभिजन–२०२५ मा १६ देखि २४ वर्ष र २५ देखि ४० वर्षको उमेर समूहमा विभाजन गरी समूहगत प्राथमिकता निर्धारण गरिएको छ । २०६८ सालको जनगणनाअनुसार नेपालको जनसङ्ख्याको १६ देखि ४० वर्ष उमेर समूहलाई हेर्दा कूल जनसङ्ख्याको ४०.३५ प्रतिशत रहेको पाइन्छ ।
संयुक्त राष्ट्र संघको १७ डिसेम्बर १९९९ मा सम्पन्न ५४ औं साधारणसभाले अगष्ट १२ तारिखलाई अन्तर्राष्ट्रिय युवा दिवसका रुपमा मनाउने निर्णय गरेको थियो । युवा दिवस मूल रुपमा युवाका मुद्धाका पक्षमा आवाज मुखरित गर्नु, बनेका राष्ट्रिय अन्तर्राष्ट्रिय संवैधानिक व्यवस्था, ऐन, कानुन तथा घोषणा पत्रका कार्यान्वय गर्नु, नभएकालाई बनाउनु र आवश्यकता अनुसार समय सापेक्ष संशोधन गर्न वकालत गर्नु नै मुख्य उद्देश्य हो ।
यसका अतिरिक्त युवालक्षित मुद्धा तथा सवालहरु कार्यान्वयन गर्न स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा सकरात्मक दवाव सृजना गर्नु पनि हो । युवाका सवालहरुमा विश्वका सरकार तथा सरोकारवालालाई सचेत तथा जागरुक गराउन दिवसको घोषणा गरिएको हो । यस वर्षको अन्तर्राष्ट्रिय नारा ‘खाद्य प्रणालीमा रुपान्तरणः मावन र भूमण्डलीय स्वास्थ्यका लागि युवा नवप्रवद्र्धन’ रहेको छ ।
संयुक्त राष्ट्र संघको घोषणासँगै सन् २००० देखि नियमित रुपमा विश्वभर युवासम्बन्धी विभिन्न चेतनामूलक तथा मनोरञ्जात्मक कार्यक्रमहरुको आयोजना गरी मनाइँदै आइरहेको छ । नेपालमा भने सन् २००४ देखि मनाउन थालिएको हो । प्राप्त उपलब्धीको रक्षा, सवाल तथा मुद्धाहरुको यथोचित सम्वोधन तथा चुनौतिहरुको सामाना गरी विश्व परिवेश तथा नेपाल अनुकूल हुने गरी युवालाई राष्ट्रिय तथा सामाजिक अभियानहरुमा स्वयंसेवकीय रुपमा व्यापक परिचालन गर्नु पर्दछ ।
युवाहरुलाई अधिकार मात्र हैन कर्तव्य प्रति पनि उत्तिकै सचेत र जिम्मेवार बनाउनु पर्दछ । दिवस मनाउन मात्रका निमित्त नभइ राष्ट्र, राष्ट्रियताप्रति सजग तथा समर्पित भइ सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय हितको रक्षा गर्नमा तन, मन र वचनले लाग्न प्रेरित गर्नु नै दिवसको सार्थकता हुनेछ ।
यस युगमा उर्जाशील र प्रतिभावान युवाहरु आर्थिक, सामाजिक, साँस्कृतिक र राजनैतिक परिवर्तनमा अग्र दस्तामा रही सबल, प्रतिस्पर्धी र आत्मनिर्भता तिर अघि बढिरहेका छन् । देशमा राजनैतिक अनुकूलता र स्थिरता रहेको अवस्थामा युवाको सक्षम नेतृत्वको आवश्यकता रहेको छ ।
राज्यका हरेक अंगमा सार्थक सहभागिता सुनिश्चित गरी नेपाललाई आधुनिक, न्यायपूर्ण र समृद्ध राष्ट्र बनाउन अर्थपूर्ण र क्रियाशील रुपमा लाग्नु पर्ने जिम्मेवारी आएको छ । युवाहरु वौद्धिक, सृजनशील, सीपयुक्त उद्यमी र जिम्मेवार नागरिकको भूमिका निर्वाह गरी अध्ययन, रोजगार, जीविकोपार्जन र अवसरका निमित्त लाग्नु टड्कारो आवश्यकता छ ।
युवामा नैतिकता, चारित्रिक गुण तथा अनुशासन विकास गरी परिवर्तित विश्व श्रमबजारमा खरो प्रतिस्पर्धा गर्नसक्ने सभ्य, सुशील तथा स्वाभिमानी देशभक्त, पौरखी, सिर्जनशील, लगनशील, प्रतिस्पर्धी, उत्साहि, ऊर्जाशील युवा बनाउनका निमित्त अन्तर्राष्ट्रिय जगत र राज्य थप बलपूर्वक लाग्नु पर्दछ ।
निर्वाचन आयोगको तथ्यांकअनुसार स्थानीय तहमा निर्वाचित (१६ देखि ४० वर्ष उमेर समूह)का युवाको संख्या १३ हजार ८ सय ९३ अर्थात् ३९.६५ प्रतिशत छ । प्रदेश तहमा २३.६३ प्रतिशत, प्रतिनिधिसभामा १३.९ प्रतिशत र राष्ट्रिय सभामा ६.७७ प्रतिशत पाइन्छ । युवा परिषद्को उपस्थिति सबै प्रदेश र जिल्ला तथा स्थानीय तहमा पुगिसकेको छ ।
यसरी राज्य संचालनका तह र तप्कामा युवाको उपस्थिति तथा कार्यक्रमले अझ थप बल, ताकत, ऊर्जा र कृयाशीलता अभिवृद्धि भएको छ । जसबाट युवाहरु नीति निर्माणमा सार्थक सहभागिता, आर्थिक, सामाजिक, राजनैतिक र साँस्कृतिक जीवनमा सहभागिता वृद्धि भएको छ ।
यसका अलावा अझ आर्थिक, सामाजिक, राजनैतिक, साँस्कृतिक, भौतिक, वौद्धिक विकासका लागि केही थप कार्य गर्नुपर्ने अनुभुति भइरहेको छ ।
युवामा नैतिकता, चारित्रिक गुण तथा अनुशासन विकास गरी परिवर्तित विश्व श्रमबजारमा खरो प्रतिष्पर्धा गर्नसक्ने सभ्य, सुशील तथा स्वाभिमानी देशभक्त, पौरखी, सिर्जनशील, लगनशील, प्रतिस्पर्धी, उत्साहि, ऊर्जाशील युवा बनाउनका निमित्त अन्तर्राष्ट्रिय जगत र राज्य थप बलपूर्वक लाग्नु पर्दछ ।
समय परिवेश, परिस्थिति र परिवर्तन अनुसारको आवश्यक क्षमता विकास गरी ज्ञान, सीप, क्षमता, अनुभव तथा सृजनशीलतालाई मुलधारमा प्रवाहीकरण गर्न राज्यका नीति तथा कार्यक्रम निर्देशित हुनु जरुरी छ । युवालाई स्वदेशमा नै रमाउने, कमाउने र जमाउने वातावरण सृजना गर्नुपर्दछ ।
वाैद्धिक तथा दक्ष युवालाई देशमै अवसर र महत्व दिइनु पर्दछ । खेलकुद तथा मनोरञ्जन मार्फत शारीरिक र मानसिक विकासको अवसर, युवा नेतृत्व विकास, सहभागिता र परिचालन गरिनु पर्दछ ।
विदेशिएका युवाहरुको संरक्षण, ज्ञान, सीप, पुँजीको प्रवद्र्धन एवं उपयोगका लागि ठोस नीति तय गर्नु पर्दछ । राजनैतिक नियुक्ति गर्दा युवाद्वारा युवाका लागि गरिनु पर्दछ । श्रमशक्ति सर्वेक्षण २०७४÷७५ अनुसार नेपालमा वेरोजगारीको दर ११.४ प्रतिशतलाई तथ्यांकमा हैन अवस्थामा देखिने खालका कार्यक्रम तय गर्नु पर्दछ ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरकारी, गैरसरकारी संघसंस्थाहरुका कार्यक्रमहरु एकद्वार प्रणालीमा तल्लो तह र वास्तविक लक्षित वर्गमा पुग्नु र पुर्याउनु पर्दछ । नीति तथा कार्यक्रमहरु प्रगति विवरण र तथ्यांकमा प्रस्तुतिकरणका लागि मात्र नभई लाभान्वित वर्गको गुणस्तरीय जीवनका लागि हुनु पर्दछ ।
विज्ञान तथा प्रविधि, खोज, अनुसन्धान तथा अन्वेषणमा युवा शक्तिलाई प्रोत्साहन गरिनु पर्दछ । वाैद्धिक तथा दक्ष युवालाई देशमै अवसर र महत्व दिइनु पर्दछ । खेलकुद तथा मनोरञ्जन मार्फत शारीरिक र मानसिक विकासको अवसर, युवा नेतृत्व विकास, सहभागिता र परिचालन गरिनु पर्दछ ।
जब युवा शक्तिलाई राजनैतिक स्वार्थभन्दा माथि उठाएर सबालहरुमा एकताबद्ध गरिदैन तबसम्म भाषण र दस्तावेजको चाङ बढाउनु बाहेक केही हुँदैन । राजनैतिक दलको भर्याङ बनाइ परिचालन गर्नु, बेरोजगार, अभाव, प्रभाव र दबावका कारण युवाहरुलाई अलमल्याइ त्याग र बलिदानीको भ्रम गराउनु, भ्रष्ट चरित्र, हत्या हिंसामा सहभागि बनाइ स्वार्थ पूरा गर्नमा परिचालन गराउदा पुराना पुस्तालाई अपराधको प्रायश्चित हुनु पर्ने हो तर हुन सकेको छैन । कतै यस्तै सवाल, चासो, मतलब नगर्दा कुलत, विकृति, द्वन्द्व र अस्थिरताको सामना त गर्नु पर्दैन ?
युवाको क्षमता विकास गरी देशभक्त, कर्मठ, अनुशासित र उद्यमशील बनाइआर्थिक, सामाजिक र साँस्कृतिक रुपान्तरणमा युवाको सार्थक सहभागिताका लागि लक्षित कार्यक्रम ल्याइनु पर्दछ । स्थानीय तहमा विपद् व्यवस्थापन, जोखिम न्यूनीकरण, वातावरण संरक्षण, पूर्वाधार विकासमा खबरदारी र साझेदारी, राहत, खोज तथा उद्धार, विषम परिस्थितिमा जनचेतना अभिवृद्धि लगायत सामाजिक कार्यमा संघठित गरी परिचालन गरिन ढिला गर्नु हुदैन ।
नेपालमा युवाका मुद्दा केही सम्बोधन हुन थाले पनि उच्च प्राथमिकतामा राखेर नीति, बजेट तथा कार्यक्रम प्रभावकारी रुपमा कार्यान्वयन नभएका कारण लाभान्वित बन्न सकिरहेका छैनन् । स्वरोजगार बनाउने कार्यक्रम मात्र नभइ उत्प्रेरणा दिने खालका कार्यक्रम तय भएता पनि नतिजामुखी परिणाम आउन नसक्नुमा दोषी को ? युवालाई सृजनशील, दक्ष, सीपयुक्त, उद्यमी तथा जिम्मेवार नागरिक बनाउन कसको भूमिका के र कति ? ठोस रुपमा राष्ट्रका भविष्यका कर्णधार, वर्तमानका साझेदार, विकास र परिवर्तनका संवाहकको रुपमा नेतृत्व विकास हुने कहिले ? राज्यले युवाहरुको उर्जा र प्रतिभाबाट लाभ लिने कहिले ? अनुत्तरित हुने कहिले सम्म ?
(लेखक महिला, बालबालिका र युवा सशक्तीकरणका क्षेत्रमा कार्यरत छन् ।)