धादिङ अस्पतालमा ज्वरोको बिरामी बढ्दै – Nepal Press

धादिङ अस्पतालमा ज्वरोको बिरामी बढ्दै

धादिङ । सदरमुकाम धादिङबेसीमा रहेको धादिङ अस्पतालमा केही समय यता ज्वरोको विरामीको चाप बढेको छ । धादिङ अस्पतालमा दैनिक डेढ सयदेखी दुईसय जना सम्म उपचारको लागि आउने गरेको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर त्रिभुवनचन्द्र झाले बताए ।

ज्वरो क्लिनिकमा आएर उपचार गराउनेहरुमा कोरोना भाईरससँग मिल्दोजुल्दो लक्षण भएका विरामीहरुको संख्या पनि बढ्दै गएको अस्पतालले जनाएको छ ।

ज्वरोको विरामी भन्ने वित्तिकै कोरोनाको शंका गर्न नहुने फ्लुको लक्षण पनि कोरोनाको जस्तै हुने भएकाले नआत्तिकन व्यक्तिगत तथा घर वरिपरी सरसफाईमा ध्यान दिन र झोलिलो खानेकुरा खानको लागि पनि विरामीहरुलाई आग्रह गर्ने गरिएको मेसु डाक्टर झाले बताए ।

मौसम परिवर्तनका कारण भाईरलका बिरामी बढेसँगै धादिङमा डेंगु र स्क्रब टाइफसका बिरामी पनि बढ्न थालेका छन् । उपचारका लागि आएका अधिकांशमा टाउको दुख्ने,रुघा लाग्ने,ज्यान दुख्ने जस्ता लक्षण देखिने गरेको अस्पतालका इमरजेन्सी विभागका इन्चार्ज कृष्णलाल उप्रेती बताउँछन् ।

अन्य समयमा अधिकतम ४० देखि ५० जनासम्म बिरामी उपचारका लागि आउने गरेकोमा केही समययता अस्पतालको ज्वरो क्लिनिकमा मात्रै ५० देखि ५५ जना ज्वरोको विरामी मात्रै हुने गरेको अस्पतालले जानकारी दिएको छ ।

गर्मीका कारण भाइरल ज्वरो तथा रूघाखोकीका बिरामी बढेको अस्पताल का इमरजेन्सी विभागका इन्चार्ज उप्रेती बताउँछन् । यसैगरी, नयाँ मुलबाट पलाएको पानी, पहिले प्रयोग भईरहेको मुलमा भल बाढी मिसिएर प्रदुषित हुने जस्ता कारणले पनि टाईफाईड, जण्डिस,झाडापखाला र छालासम्बन्धी समस्याका बिरामीसमेत अस्पतालमा आउने गरेको उप्रेतीले बताए । अस्पतालमा आउने बिरामीमा १५ देखि २० प्रतिशत बालबालिका छन् ।

बिरामीमध्ये अधिकांश भाइरल ज्वरोका बिरामी रहेका छन् । अस्पतालका अनुसार भाइरल ज्वरोको प्रकोप बढी मात्रामा बालबालिकामा देखिएको छ । बालबालिकासँगै एकै घरबाट चार–पाँच जनासम्म बिरामी उपचारका लागि अस्पताल आउने गरेको र वृद्धवृद्धामा समेत यसको संक्रमण देखिएको उपचारमा संलग्न चिकित्सकहरु बताउँछन् ।

धादिङ अस्पताल बाहेक जिल्लाका निजी अस्पताल,क्लिनिकका साथै स्थानीय तहका ग्रामीण अस्पताल र अन्य स्वास्थ्य संस्थामा पनि ज्वरोका विरामी उपचारका लागि आउने गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *