पाल्न नसकेपछि हात्ती बेच्दै सौराहाका पर्यटन व्यवसायी – Nepal Press
सन्दर्भः अन्तर्राष्ट्रिय हात्ती दिवस

पाल्न नसकेपछि हात्ती बेच्दै सौराहाका पर्यटन व्यवसायी

हात्ती संरक्षणमा ध्यान दिन सरोकारवालाको आग्रह

चितवन । बिहीबार बिहानै खैरहनी–१३ बैरीया चौरको काउण्टरमा हात्तीको लस्कर देखियो । रंगले सिंगारिएका हात्तीमाथि चढेका माहुतेले छाता ओडेका थिए । चना, भेली, उखु, घाँसलगायतका खुराकले हात्ती रमाएका थिए । नजिकै १० औं विश्व अन्तर्राष्ट्रिय हात्ती दिवसका आवसरमा आयोजित कार्यक्रम चल्दै थियो । पर्यटक डुलाउन व्यस्त हुने हात्ती भने फुर्सदिला बनेका थिए ।

चितवमा दोस्रोपटक यसरी हात्ती दिवस मनाइएको हो । दिवसका अवसरमा आयोजित कार्यक्रममा हात्ती संरक्षणबारे चर्चा भएको थियो ।

हात्ती चढेर वन्यजन्तु अवलोकन गर्न र पर्यावरण हेर्न पर्यटक चितवन आउँथे । तर, कोभिड–१९ का कारण हात्ती पाल्न नसकेपछि पर्यटन व्यवसायी चिन्तामा छन् । ‘चितवनमा दुई दशकदेखि हात्ती सफारीमा पर्यटक रमाएका छन्’, युनाइटेड हात्ती सहकारीका अध्यक्ष ऋषिराम तिवारी भन्छन्, ‘सौराहामा हात्ती विनाको पर्यटन कल्पना गर्न सकिँदैन, हात्ती विस्थापन हुनबाट बचाउन जरुरी छ ।’

युनाइडेट सहकारीसँग २ वर्ष पहिले ६५ वटा हात्ती थिए । केही भाडामा भारतदेखि ल्याइएका हुन् । केही व्यवसायीले भाडामा ल्याएका हात्ती भारत नै फिर्ता गरिदिएका छन् । ‘अब हात्ती संरक्षणको कार्यक्रमनै ल्याउनुपर्छ’, उनले भने, ‘हात्ती विस्थापित हुँदै गएमा भविष्यमा सौराहाको पहिचानै गुम्ने खतरा छ ।’ हात्तीको बिमा हुनुपर्ने उनको भनाइ छ ।

हात्ती महोत्सव, हात्ती सुन्दरी प्रतियोगिता, हात्ती दौड, हात्तीपोलोलगायतका गतिविधिले चितवनको पर्यटनलाई उचाइमा लगेको थियो । रेवान सौराहाका अध्यक्ष दिपेन्द्र खतिवडा हात्तीबिनाको पर्यटन तत्काल सम्भव नहरेको बताउँछन् । ‘डलरवादीलाई भन्दा पर्यटन व्यवसायीलाई हात्तीको माया बढी छ’, उनी भन्छन्, ‘केही कार्यक्रम गर्दा विरोध गर्नेहरु हात्ती संकटमा पर्दा बोल्दैनन्, अब हात्ती जोगाउने उपाय सोचौँ ।’

चितवन राष्ट्रिय निकुञ्जमा ५६ हात्ती छन् । मध्यवर्ती क्षेत्रमा पर्यटक घुमाउन ६८ वटा निजी हात्ती छन् । सौराहा क्षेत्रमा ३३ वटा युनाइटेड सहकारीसँग, सपना भिलेजसँग ८ वटा, पर्यटन व्यवसायी ओम रिजालसँग ७ वटा हात्ती छन् । पश्चिम चितवनको मेघौली, जगतपुर क्षेत्रमा १० हात्ती छन् ।

नेपालमा करिब ५ सय वटा जंगली र घरपालुवा हात्ती छन् । निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बराल हात्ती पलायन हुँदा निकुञ्जको आम्दानीमा असर पुगेको बताउँछन् । ‘हात्ती चढेर निकुञ्ज घुम्ने सुविधा अन्य निकुञ्जमा छैन, तर आजकाल हात्ती पाल्न छाड्ने क्रम बढेको छ’, उनले भने, ‘निकुञ्जको राजश्व, आम्दानीमा असर परेको छ, मध्यवर्ती व्यवस्थापनमा पनि चुनौती छ ।’

उनले घरमा पालिए पनि हात्ती जंगली जनावरनै भएकाले ऐन, कानूनविपरीत सञ्चालनमा कडाइ गरिने बताए । निकुञ्जले पर्यावरण आचासंहितानै बनाएर छिटै लागू गर्न लागेको उनले बताए ।

पर्यटक घुमाउनलाई मात्र नभइ जनावरको आपतकालीन उद्दार, वनजंगलको गस्तीमा समेत हात्ती प्रयोग हुँदै आएको छ । मासिक ५० हजार रुपैयाँसम्म तिर्ने गरी ल्याइएका हात्ती विदेशी पर्यटक नहुँदा भाडा तिर्नसमेत मुस्किल परेको व्यवसायीहरु बताउँछन् ।

‘नगण्य मात्रामा भित्रिने स्वदेशी पर्यटकको भरमा हात्ती पाल्ने खर्च जुटाउनै गाह्रो छ । एक हात्तीलाई एक महिना पाल्न करिब १ लाख खर्च लाग्छ । पर्यटकको चहलपहल नभएपछि आजकल ८० लाखदेखि करिब डेढ करोडसम्ममा लुकिछिपि हात्ती बिक्रि हुँदै आएको छ ।’ व्यवसायीहरु बताउँछन् ।

रत्ननगर–७ का वडाध्यक्ष लालबहादुर भट्टले सौराहाबाट हात्ती भारत फर्काउने काम रोक्नुपर्ने बताए । ‘कोभिडले पर्यटन व्यवसायी मारमा छन्’, उनले भने, “हात्ती पाल्न नसकेर फिर्ता पठाउनुपर्ने अवस्था नहोस्, सरकारी स्तरको कार्यक्रम बनोस् ।’

सौराहाका पर्यटन व्यवासायी, कर्मचारी, नेचर गाइड, माहुतेलगायतलाई कोरोनाविरुद्धको खोप लगाएकाले सौराहा घुम्न सुरक्षित बनिसकेको उनले बताए । कुमरोज सामुदायिक वनका अध्यक्ष गणेश श्रेष्ठले हात्ती सफारी, जीप सफारीलाई प्रवद्र्धन गर्नुपर्नेमा जोड दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *