बालुवाटारमा धर्ना दिन पुगेका शिक्षक शिक्षिका पक्राउ (तस्विर र भिडियो)
काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा धर्नामा उत्रने तयारी गरिरहेका शिक्षक शिक्षिका पक्राउ परेका छन्।
टंगाल माबिमा जम्मा भई प्रधानमन्त्री निवास बालुवाटार जाने क्रममा बिद्यालय बाहिर नै प्रहरीले शिक्षकहरुलाई नियन्त्रणमा लिएको हो ।
विभिन्न मागसहित नेपाल शिक्षक महासंघले गरेको धर्नाका क्रममा उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो। नेपाल शिक्षक महासंघले सरकारले शिक्षक कर्मचारीहरूलाई कोभिड-१९ को खोपको व्यवस्था गर्नुपर्ने लगायतका माग राखेको थियो ।
महासंघले वार्षिक बजेटको २० प्रतिशत शिक्षा क्षेत्रमा छुट्याउनुपर्ने, शिक्षण पेशालाई सम्मानित बनाइनुपर्ने, शिक्षकको सामुहिक रुपमा बढुवा गराइनुपर्ने, द्वन्दपीडित शिक्षकहरुको समस्या समाधान गरिनुपर्ने, विद्यालय कर्मचारीलाई संघीय सरकारले तलव, भत्ताको व्यवस्था गर्नुपर्ने र उच्चमावि र राहतका अनुदानका दरबन्दीलाई आन्तरिक प्रतिस्पर्धा गराई स्थायी गरिनुपर्ने लगायतका विभिन्न मागहरु राख्दै गत वैशाखदेखि आन्दोलन गर्दै आएको छ ।
उनीहरूलाई मालिगाउँस्थित प्रहरी वृत्तमा राखिएको छ।