बाढी प्रभावित चेपाङलाई सहयोग जुट्न थाल्यो, चेपाङ समुदायमा खुसी – Nepal Press

बाढी प्रभावित चेपाङलाई सहयोग जुट्न थाल्यो, चेपाङ समुदायमा खुसी

चितवन । चितवनका बाढीपीडित चेपाङ समुदायलाई काठमाडौंस्थित ग्लोबल कलेजका विद्यार्थीले खाद्यान्न तथा लत्ताकपडा सहयोग गरेका छन् । विद्यार्थीबाट सहयोग पाएपछि पीडित चेपाङले खुसी व्यक्त गरेका छन् ।

साविक सिद्धि गाविसका पूर्वअध्यक्ष कृष्णबहादुर प्रजाले राहत सामग्री जुटेकोमा खुशी व्यक्त गरे । उनको ९ जनाको परिवार मजवाङ माविको निर्माणाधीन छात्राबसमा आश्रय लिँदै आएका छन् । घरखेत बगाएपछि उनी बलियो घरको आशमा छन् । घरबारविहिन बनेपछि उनीहरु भीरपाखामा अस्थायी टहरा, स्कुलको छात्रबास, बाख्राको खोर, आफन्तीका घरमा आश्रय लिँदै आएका छन् ।

असार १७ गतेको बाढीले खेती गरेको जमिन बगरमा परिणत भएको थियो । घर बगाएको छ । साथीको बाख्रा खोरमा आश्रय लिँदै आएका बुद्ध चेपाङकी श्रीमति इष्टमायाले भनिन्– राहत त मिल्यो, एक दुई महिना पुग्छ । बगेको घर र खेत फेरि कसरी जुटाउनु रु

कालिका–११ की निरमाया चेपाङको परिवार चेउराङको घरखेत बगाएपछि आजकल रन्तेसमा देवरको घरमा बस्छन् । ‘बाढी घरमै पसेपछि भागेर ज्यान बचायौँ’, उनले भनिन्, ‘हामीलाई अब घर चाहिएको छ ।’

ग्लोबल कलेजमा अध्ययनरत विद्यार्थी गौरवराज श्रेष्ठले नेपाल प्रेसमा समाचार देखेपछि सहयोग गरिएको बताए । कलेजका शिक्षक नोजल कोइराला, पदम पाण्डेले सामाजिक कार्य गर्न सोसल क्लबनै गठन गरेको बताए । कालिकाको तीनदोभान, चेउराङ, कामिमाङलगायतका क्षेत्रमा बाढीले ठूलो असर गरेको छ ।

चेपाङ अभियन्ता केपीकिरण शर्माले स्थानीय सरकारले छिटै घरबारविहीन चेपाङलाई स्थायी बसोबासको व्यवस्था गर्न माग गरे ।

नेपाल प्रेसमा केही दिनअघि ‘ज्यान बाहेक सबै बगायो, अब ज्यान चाहिँ कसरी बँचाउने ?’ शीर्षकको समाचार प्रकाशित गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *