कोरोना बिमाः भुक्तानीको प्रतीक्षामा एक लाख बिमित, सरकारले चासो दिएन – Nepal Press

कोरोना बिमाः भुक्तानीको प्रतीक्षामा एक लाख बिमित, सरकारले चासो दिएन

काठमाडौं । कोरोना बिमाको दायित्व काँधमा लिएको सरकारले रकम निकासी नगर्दा लाखौं बिमित क्षतिपूर्ति रकम पाउनबाट बञ्चित भएका छन् । ६ महिनादेखि सरकारबाट कोरोना बिमा भुक्तानीका लागि रकम निकासा ठप्प छ ।

अहिले कोरोना बिमाको बक्यौता रकम १० अर्ब नाघेको छ । करिब एक लाख बिमितले बिमा दावी गरेर पनि रकम भुक्तानी पाएका छैनन् । सरकारले पैसा नदिएपछि गत जेठयता बिमा कम्पनीबाट हुने भुक्तानी बन्द भएको छ ।

गत जेठसम्ममा कम्पनीहरुले ३ अर्ब ५० करोड रुपैयाँ मात्र भुक्तानी गरेका थिए । यसमा सरकार मातहतको बिमा समितिको एक अर्ब रुपैयाँ रहेको छ भने बाँकी रहेको पैसा बिमक संघ र बिमा कम्पनीको हो । कोरोना बिमा कार्यक्रम भने अहिले बन्द भइसकेको छ ।

सरकारले रकम निकासी नगर्दा त्यसको असर बिमा कम्पनीमा परेको बताउँछन् नेपाल बीमक संघका महासचिव चंकी क्षेत्री ।

‘सरकारले कोरोना बिमाको रकम दिँदैन, बिमितले कम्पनीलाई दोष दिन्छन्,’ उनले भने, ‘सरकारका कारण बिमा कम्पनीलाई साख जोगाउन नै गाह्रो परिसक्यो ।’

२०७६ सालको माघ महिनामा नेपालमा कोरोना भाइरस देखिएपछि निर्जीवन बिमा कम्पनीले कोरोना बीमा शुरु गरेका थिए । २०७७ वैशाख ७ गतेबाट पहिलोपटक नयाँ प्रकारको बिमालेख शुरु गरेका बिमा कम्पनीले यसको खुब प्रचार–प्रसार पनि गरे । नयाँ रोग द्रूत गतिमा फैलिएसँगै डराएका नेपालीले धमाधम कोरोना बिमा गर्न थाले, जसको आँकलन स्वयंम् बिमा कम्पनीले गरेका थिएनन् ।

कम्पनीले गरेको कोरोना बिमाको भार २० प्रतिशत नेपाल पुनर्बिमा कम्पनी र ८० प्रतिशत २० वटा निर्जीवन कम्पनीले बहन गर्ने नीति बनाएको थियो । तर,बिमा पोलेसी शुरु गरेकै एक महिनामा ३ लाख जनाले बिमा गराएपछि बीमा कम्पनीलेआफ्नो पूँजीभन्दा दायित्व अत्यधिक बहन गर्नुपर्ने देखियो । जसका कारण कोरोना बिमाबाट एक महिनामा नै कम्पनी पछि हटे ।

कम्पनीहरु कोरोना बिमा गराउन नसक्ने भन्दै पछि हटेपछि सरकारले बजेटमार्फत यसको जिम्मा लिएको थियों । तर, कोरोना बिमा पोलेसी सकिएको एक महिना वित्न लाग्दा पनि सरकार कानमा तेल हालेर बसेको छ । कोरोना बिमा रकम भुक्तानीका लागि बिमक संघले दुई महिनाअघि नै अर्थमन्त्रालयमा पत्र पठाएको थियो । सो वेलामा केपी शर्मा ओली प्रधानमन्त्री थिए भने अर्थमन्त्री विष्णु पौडेल थिए ।

अहिले नयाँ सरकारको अर्थमन्त्रीमा जनार्दन शर्मा आएका छन् र, बिमक संघले पुनः अर्को पत्र अर्थलाई पठाइसकेको छ । तर, पनि अर्थ मन्त्रालयले यसबारेमा कुनै छलफल नै गरेको छैन । अहिलेसम्म अर्थमन्त्रालयमा कोरोना बिमा सम्बन्धी कुनै छलफल नै नभएको बताउँछन् अर्थ मन्त्रालयका प्रवक्ता महेश आचार्य ।

‘कोरोना बिमाको रकम भुक्तानीका लागि बिमक संघबाट पत्र आएको भए पनि यसमा अहिलेसम्म छलफल भएको छैन,’ उनले भने । के कारणले छलफल नभएको भन्ने प्रश्नमा उनले आफूलाई यसबारेमा कुनै जानकारी नआएको बताए ।

आफूहरुले पहिलाको सरकार र अहिलेको सरकारलाई पनि कारोना बिमाको रकम निकासीका लागि ताकेता गरिरहेको भए पनि सरकारले नसुनेको गरिरहेको बिमक संघका महासचिव क्षेत्री बताउँछन् ।

‘सरकारले आफ्नो दायित्वमा लिएको रकम निकासी गर्न ढिलाइ गर्दा बिमा कम्पनी नै अफ्ठेरोमा परेका छन्,’ उनले भने ‘बिमितले कम्पनीमार्फत बिमा गराएकाले उनीहरु रकमका लागि कम्पनीमा नै ताकेता गर्छन्, त्यो स्वभाविक पनि हो । तर, सरकारले भुक्तान नदिएसम्म हामीले केही गर्न सक्ने अवस्था छैन ।’

महासचिव क्षेत्रीका अनुसार हालसम्म १ लाख ३७ हजार ७५४ जनाको बिमा दावी परेकोमा करीब एक लाखले बीमा भुक्तानी प्राप्त गर्न सकेका छैनन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *