पुष्पलालका सहयोद्धाको सुकुम्बासी जिन्दगी (भिडियोसहित) – Nepal Press
हर्ष स्याङ्बोको बिस्मात वर्तमान

पुष्पलालका सहयोद्धाको सुकुम्बासी जिन्दगी (भिडियोसहित)

काठमाडौं । नेपालमा कम्युनिष्ट स्थापना र विस्तारका लागि महत्वपूर्ण योगदान पुर्याएका वामनेता हर्ष स्याङ्बोको वर्तमान निकै जर्जर छ । उनले राजनीति सिकाएका र सदस्यता दिएकाहरु देशको उच्च भूमिकामा पुगिसके । तर, उनले राजनीति र देशका लागि दिए मात्रै, कहिल्यै केही पाएनन् । परिणामतः अहिले ९५ वर्षको उमेरमा सुकुम्बासी बस्तीमा विरामी वय अल्झाइरहेका छन् ।

जटिबुटी मनोहरा नदी किनारको सुकुम्बासी बस्तीको एक लटहरोमा अतिकष्टसाथ दैनिकी गुरिरहेका छन्, हर्ष स्याङ्बो । टहरोको मझेरीमा राखिएको थोत्रो सोफामा भेटिएका स्याङ्बो राम्रोसँग सुन्न र बोल्न नसक्ने भइसकेका रहेछन् । पत्रकार भनेपछि उनले हामीबाट प्रश्नको आश नै गरेनन्, मसिनो स्वरमा आफैंले भने, ‘म त पुष्पलालसँगै कम्युनिष्ट पार्टी स्थापना गर्ने मान्छे ! मेरो हालत तपाईंहरुले देखिहाल्नु भो !’

सामान्य ढंगमा दोहोरो बाचचित भयो । धेरै प्रश्नको सामना गर्ने स्थितिमा नभएकाले उनीबाट पाएकै कुरामा चित्त बुझाउनुपर्ने भयो ।

पुष्पलालसँगको भेट र राजनीतिक संघर्ष

पहिलोपटक पुष्पलाललाई बनारसमा भेट्दा उनी उर्लिदो उमेरका युवा थिए । जोस र जाँगरले भरिएको दार्जेलिङे केटो । उनका हजुबुवा नेपालको काभ्रेबाट दार्जलिङ गएका रहेछन् र स्याङ्बो दार्जलिङमा नै जन्मिए, हुर्किए । आमाबुबा र आफन्त सबै चिया बगानका श्रमिक ।

चिया बगानमा आमा बुवाको श्रमलाई ब्रिटिशले गरेको शोषण गरेको देख्दा उनमा विद्रोही भाव जन्मिसकेको थियो । र, बाल्यकालदेखि नै उनी ब्रिटिसविरोधी कार्यक्रममा सहभागी हुन थाले ।

पछि पटनामा विश्वविद्यालय पढ्दै गर्दा बनारसमा उनको पुष्पलालसँग भेट भयो । ‘रेल स्टेशनमा हिँड्दैगर्दा एउटा भर्खरको लिखुरे केटो अघिअघि हिँड्दै थियो । लाग्यो उनी नेपाली हुन् र, आफू पनि नेपालीभाषी ! बोल्न मन लागिहाल्यो’ उनी पुष्पलालसँगको भेट सम्झँदै भन्छन्, ‘सोधी हालें तपाईँ नेपाली हो ? उनले ‘हो’ भने । हामी गफिदैं अगाडि बढ्यौ र आ–आफ्नो परिचय दियौं । उनले ‘म पुष्पलाल श्रेष्ठ हुँ । सहिद गंगालाल श्रेष्ठको भाइ । र, यहाँ म राणहरुविरुद्ध लड्नका लागि राजनीति तयारी गर्दैछु । अहिले राष्ट्रिय कांग्रेसको कार्यकर्ता छु’ भने । अनि छोटो समयमा हामीबीच केही कुराकानी भए ।’

भिडियो

ताजमहल हेर्न हिँडेका स्याङ्बो पुष्पलाललाई देख्नसाथ प्रभावित भए । यो २००५ सालको हो । केहीं समयपछि स्याङ्बो तथा उनका नेपाली साथीलाई भेट्न पुष्पलाल पटना युनिर्भसिटी आए । र, २००६ सालमा पुष्पलालले कम्युनिष्ट पार्टी स्थपना गरे, जसमा स्याङ्बो पनि संस्थापक सदस्य रहे ।

पुष्पलालले नेपालमा गएर जनतामाझ राजनीतिक चेतना छर्न पार्टी विस्तारका लागि उनलाई मुस्ताङ पठाए । २००८ सालमा उनी कम्युनिष्ट पार्टीलाई जनतासम्म पुर्याउनका लागि मुस्ताङ हानिए ।

‘मुस्ताङ जान त्यति सजिलो कहाँ थियो र ? कम्युनिष्ट भन्नासाथ मानिस डरले थुरथुर हुन्थे’, उनले हाँस्दै भने, ‘कम्युनिष्ट भने बाटैमा मार्न पनि बेर लाउँदैनथे । जातभात मान्दैन, बुढाबुढी भेटे भने कम्युनिष्टले मार्छन् भन्थे । मानिसको चेतनाको स्तर एकदम कम थियो । बाटोघाटो अहिलेको जस्तो सजिलो थिएन । भीर, पाखा, पहरा र कालीगण्डकीको किनारैकिनार हामीलाई मुस्ताङ पुग्न सात दिन लाग्यो ।’

कुरा गर्दै जाँदा उनीमा जोश पनि बढ्दै गयो । ती दिन सम्झिँदै उनी भन्छन्, ‘राजनीति गर्ने एउटा स्प्रिट थियो, कुनै भय थिएन । केही गर्नुपर्छ भन्ने मात्र लाग्थ्यो ।’

राजनीति गर्न विद्यालय स्थापना, भूमिगत बस्दा नै प्रेम

उबेलामा राजनीति गर्नु शिक्षण गर्नुपथ्र्यो अर्थात् शिक्षकलाई राजनीति गर्न सजिलो थियो । त्यसैले उनले मुस्ताङमै खोले– जनता विद्यालय । उनले मुस्ताङमा ‘अध्ययन मण्डल’ पनि खोले । र, लागे पार्टी विस्तारको काममा । तर, उनले लुकीछुपी गर्दै गरेको कम्युनिष्टको प्रचारप्रसार लामो समय टिक्न सकेन । तत्कालीन समयका कांग्रेसीहरुले थाहा पाए । र, उनी मुस्ताङबाट लखेटिए ।

२०१० सालमा उनी पोखरा झरे । त्यसपछि उकाठमाडौं आए । काठमाडौं आएर भूमिगत जीवन विताए । उनी जुन घरको भुइँतलामा भूमिगत रुपमा बस्थे, त्यो तत्कालीन समयका कर्नेलको घर थियो । कर्नेल निकै राजभक्ति र कम्युनिष्टलाई देशद्रोही मान्थे । तर, कर्नेलका छोराछोरीमा भने कम्युनिष्टको छाप परिसकेको थियो । कर्नेलकी छोरी थिइन्, विद्या राणा । विद्या पनि आफ्ना दाजुभाइसँगै भूमिगत रुपमा कम्युनिष्ट पार्टीमा संलग्न थिइन् । विद्या र हर्षबीच राजनीतिसँगै माया–प्रेम पनि झाङ्गियो । उनीहरुले पार्टीको सहमतिमा विद्याका बाबुआमालाई खबरै नगरी सहमतिमा विवाह गरे ।

हर्ष र विद्या विवाहपश्चात स्याङ्जा, बाग्लुङ गएर पार्टीकै काम गर्न थाले । २०१६ सालमा नेपाल कम्युनिष्ट पार्टीको हेडक्वाटर बन्दीपुर पुगे । र, त्यसै समयमा राजा महेन्द्रले सत्ता आफ्नो हातमा लिएपछि उनीहरुलाई नेपाल बस्न निकै कठिन भयो । र, लागे भारतको सिक्किमतिर ।

उनले आफ्नो परिचय फेरेर बसेका थिए, सिक्किममा । तर, एउटा कविता नै उनी कम्युनिष्ट भेषधारी हुन् भन्नका लागि काफी भयो । कविता लेखेर छापेकै कारण उनी केही समयपछि त्यहाँबाट पनि लखेटिए । उनी, श्रीमती विद्या र एउटी छोरीसहित २०२१ सालमा उनीहरु पुनः काठमाडौं आए र, पार्टीकै काममा सक्रिय भए ।

कष्टपूर्ण जेलजीवन र परिवारको सम्झना

पार्टीको काम गर्दागर्दै उनी २०२२ सालमा जेल परे । केन्द्रीय कारागारमा उनले भोग्नसम्मको पीडा भोगे । श्रीमती र छोरीको सम्झनाले खुब सुताउँथ्यो । कारागारमा उनलाई डाकु र ज्यान मारेर आएका कैदीसँग राखिएको थियो । जसकारण उनलाई थप तनाव हुन्थ्यो ।

त्यतिबेला प्रधानमन्त्री थिए तुलसी गिरी । उनले एकदिन जेल भ्रमणका क्रममा ‘तिमी कति बस्छौं जेल ? कम्युनिष्ट पार्टी छोड, म तिमीलाई जेल छोडाइदिन्छु’ भने । उनले कम्युनिष्ट पार्टी त छोड्दिनँ तर, काम गर्दिनँ भनेर ढाटे । उनी भन्छन्– जेलमा अति नै दुःख पाइसकेको थिएँ । र, पार्टीमा काम गर्न पनि म बाहिर हुनै पथ्र्यो । ढाँटेर बाहिर आउनुको विकल्प थिएन, बाहिर निस्कें ।’

पुष्पलाल मात्रै सच्चा कम्युनिष्ट !

अहिले नेपालमा कोही पनि सच्चा कम्युनिष्ट नभएको उनी बताउँछन् । ‘पार्टीमा गुट र फुटबाहेक कोही बाँकी रहेन्,’ उनी फिस्स हाँसे ।
‘पुष्पलाल मात्र एउटा क्रान्तिकारी नेता थिए । पुष्पलालको सादगी व्याक्तित्वबाट नै म प्रभावित भएँ । सादा जीवन उच्च विचार, कहिल्यै मोजमस्ती र विलसिताको जीवन नबिताउने । उहाँको त्याग विर्सनलायक छैन’ उनी पुष्पलालको योगदान सम्झँदै भन्छन्, ‘भारतमा पार्टी खडा गर्न सहज कहाँ थियो र ? चना खाएर राजनीति गर्नुहुन्थ्यो पुष्पलाल । विलासीको जीवन नबिताइ जनताका लागि सकेको गरेर उनी दुःखै दुःखमा विदा भए ।’

‘मैले पुष्पलालसँग निकै समय बिताए । देश र जनताको भलो कसैले सोच्थ्यो भने पुष्पलालले सोच्थे । अहिले उनीजस्ता सच्चा नेता कहाँ छन् र ? अहिले जनताले दुईतिहाई भोट दिएको ठूलो पार्टी खतम भएर गयो । अहिले त कम्युनिष्ट भन्न लाज लाग्छ,’ उनी बिरत्तिए ।

उनले राजनीति गर्दाका दिनमा पनि गुट नभएको भने होइन । मनोमहन, तुलसीलाल र पुष्पलालको आ–आफ्नै गुट थियो । तर, अहिलेको जस्तो गुटमा विकृति नभएको उनी बताउँछन् । ‘व्यक्ति परिवर्तन नहुन्जेलसम्म समाज परिवर्तन हुन सक्दैन् ।

जबसम्म मानिसले निजी सम्पती बटुल्नमा लिप्त रहन्छ तबसम्म समाजमा देखिने गरी परिवर्तन असम्भव छ । अहिले पुष्पलालको आदर्शलाई बिर्सेर विलासी र मस्तीजीवि कम्युनिष्ट भएका छन् सबै’ उनले भने, ‘जोश र जाँगर, लगाव र क्रान्तिको सपना अब सबै निभिसकेको छ । त्यो अदम्य, साहस र ऊर्जाको गाथा अब सबै स्खलन भइसकेको छ ।’

राजनीतिमा सबै गुमाएर सुकुम्बासी हुनुको पीडा

राजनीतिलाई उद्योग बनाउनेहरु धेरैले कमाए, ओहोदामा पुगे । उनले नै राजनीति सिकाएहरु अहिले सौखिन जिन्दगी बिताइरहेका छन् । तर उनी भने राजनीतिमा सबै गुमाएर सुकुम्बासी जिन्दगी भोगिरहेका छन् । पिल्पिलाउँदो अनुहार पार्दै उनी भन्छन्, ‘बाँकी केही रहेन्, राजनीतिमा लागेर सबै सकियो । उमेर र सम्पत्ति सिद्धिएपछि अहिले भीख माग्ने भएँ ।’

गत फागुनमा उनी बसेको कटेरोमा आगो लाग्यो । उनको टहरो मात्र जलेन, जीवनसंगीनीका थुप्रै स्मृति पनि जले । उनले निकै जतनसाथ राखेको श्रीमती विद्या स्याङ्बोको मूर्ती पनि जल्यो ।

अहिले मर्मत गरेको टहरोमा बसिरहेका छन् उनी । नयाँ सिरक डसना किन्न र घर मर्मत गर्न एमाले नेता महेश बस्नेतले सहयोग गरे । बस्नेतको सहयोगप्रति आभार व्यक्त गर्छन्, स्याङ्बो ।

कम्युनिष्ट नेताले बेवास्ता गर्दाको पीडा

गत वर्ष कोरोना भाइरस फैलनुअघि नेकपा एमालेले भृकुटी मण्डपमा चियापान कार्यक्रम राख्यो । चियापान कार्यक्रममा जान स्याङबोले छिमेकी टेक सापकोटासँग निकै हत्ते गरे । उनी चियापानमा जानुको कारण अहिलेका कम्युनिष्ट नेतासँगै पार्टीको अवस्था बुझ्नु थियो । जुन पार्टीको बिऊ रोपेका थिए, त्यो त्यो फलेको फूलेको हेर्न चाहन्थे उनी ।

छिमेकी सापकोटाले पनि स्याङ्बोलाई ट्याक्सीमा भृकुटीमण्डपसम्म पुर्याए । सापकोटाले ‘कसलाई भेट्न मन छ वा कसलाई चिन्नुहुन्छ ?’ भनेर स्याङ्बोलाई सोधे ? स्याङ्बोले ‘माधव नेपाल, झलनाथ खनाल सबैलाई चिन्छु’ भन्दै माधव नेपाललाई भेट्ने इच्छा व्यक्त गरे ।

सापकोटाले स्याङ्बोलाई बोकेर मञ्चमा राखे । तर कसैले पनि उनलाई हालखबरसमेत सोधेनन् । केहीबेरमा सापकोटाले माधव नेपाललाई एउटा पत्र लेखेर हातैमा दिए । ‘हर्ष स्याङ्बो यहाँ आउनु भएको छ । उहाँ मनोहरा सुकुम्बासी टोलमा बस्नु हुन्छ र, तपाईलाई भेट्ने उहाँको ठूलो इच्छा छ ।’

माधवकुमार नेपालले पत्र हातमा लिंदै हेरे । तर नेपालले कुनै प्रतिक्रिया जनाएनन् । एकछिनपछि नेपालले सापकोटाको पत्र मञ्चमै च्यातेर फालिदिए । अनि, निरास हुँदै स्याङ्बो कार्यक्रमस्थलबाट बाहिरिए ।

केपी शर्मा ओलीसँगको भेट

प्रधानमन्त्री भएका बेला केपी शर्मा ओलीलाई भेट्न स्याङ्बो बालुवाटार गए । ओलीले भेटे, र जलेको टहरो पुनःनिर्माण गर्न केही सहयोग गरे ।
सापकोटाका अनुसार भक्तपुरका मेयरले उनको उपचारका लागि जति पैसा खर्च लागे पनि ब्यहोर्ने बचन दिएका छन् । तर, सधैं उपचारको बिल लिएर मेयरकोमा जान असहज भएको सापकोटाको भनाइ छ ।

कवि स्याङ्बोको अन्तिम इच्छा

स्याङ्बोको परिचय राजनीतिसँग मात्र जोडिँदैन । उनी एक कवि पनि हुन् । उनका कविता सामन्ती शासकका विरुद्ध लेखिएका छन् । उनले ‘आवाज हराएको शहरमा’ कविता संग्रह नै प्रकाशित गरेका छन् । सो संग्रहमा २७ वटा कविता समेटिएका छन् ।

कविमनका स्याङ्बो श्रीमतीलाई सम्झँदै भन्छन्– सी लभ मी होल लाइफ, सी इज डिभोटेड लेडी । उनी पनि पूर्णकालीन कम्युनिष्ट म पनि कम्युनिष्ट । यदि उनी कम्युनिष्ट नहुँदी हुन् त बाटोघाटो नभएको अवस्थामा भर्खरकी कलिली केटी कसरी बाग्लुङ–स्याङ्जा पुगिन् होला मसँग !

विद्यालाई लिएर ककनी र त्रिशुली बास बस्दै बाग्लुङ गएको उनले भुलेका छैनन् । ‘विद्याले कहिल्यै लक्जरियस जीवन विताइनन् । कर्नेलकी छोरीले पनि कम्युनिष्टका लागि ‘सेक्रिफाइ’ गरिन् । कम्युनिष्ट भन्नसाथ एउटा ‘स्प्रीट’ थियो उनमा । ‘अब मेरो ठूलो चहाना केही छैन । श्रीमती विद्याको एउटा मूर्ती छ । र, उनको नाममा एउटा प्रतिष्ठान खोलेको छु । यो विद्या प्रतिष्ठान र उनको मूर्ती कतै प्रतिस्थापन गरेर मर्न पाए हुने थियो’, उनले आफ्नो आन्तिम चाहना व्यक्त गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर