जयसिंह धामीको परिवारलाई एक करोड क्षतिपूर्ति दिन माग गर्दै भारतीय दूतावासमा ज्ञापनपत्र
काठमाडौं । ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले तुइनबाट खसेर महाकाली नदीमा बेपत्ता भएका जयसिंह धामीको परिवारलाई क्षतिपूर्ति दिन भारत सरकारसँग माग गरेको छ । भारतीय स्वतन्त्रता दिवसका दिन मोर्चाले भारतीय दूतावासलाई ज्ञापनपत्र पठाउँदै सो माग गरेको हो ।
भारतीय सीमा सुरक्षा बल एसएसबीले तुइनको डोरी काटिदिएपछि धामी नदीमा खसेका थिए । तर, भारतले आफ्नो पक्षबाट भएको अपराध अहिलेसम्म स्वीकार गरेको छैन । नपाल सरकारको तर्फबाट छानविन समितिले घटनाको अनुसन्धान गरिरहेको छ ।
सीमावर्ती नेपाली नागरिकहरूले स्वतन्त्रता र निर्भयतापूर्वक हिँड्न डुल्न नपाउनु सरासर मानव अधिकारको हनन भएको मोर्चाले जनाएको छ ।
जयसिंह धामीलाई बेपत्ता बनाउनुमा केवल एसएसबीको हात रहेको उल्लेख गर्दै ज्ञापनपत्रमा भनिएको छ, ‘जानीजानी कसैलाई मार्न अगाडि सर्नु जघन्य अपराध हो र यो अपराध एसएसबीबाट भएको छ । धामीको खोजी गर्न महाकाली नदीको पश्चिमी किनारमा ड्रोन उडाउने अनुमति नदिनु इन्डियाको अमानवीयमात्रै होइन साह्रै घिनलाग्दो चरित्र हो । यसले इन्डिया आफ्ना छिमेकीमाथि जस्तोसुकै दुर्व्यवहार गर्न पछि पर्दैन भन्ने पुष्टि गरेको छ ।’
मोर्चाले धामीको हत्या एसएसबीले गरेको भन्दै सो अपराधका निम्ति सार्वजनिकरूपमा माफी माग्न र उनको परिवारलाई पारदर्शीरूपमा नेपाल सरकारमार्फत कम्तीमा १ करोड भारु उपलब्ध गराउन माग गरेको छ ।