प्रदेश सरकारको साइकल वितरणमा विभेद – Nepal Press

प्रदेश सरकारको साइकल वितरणमा विभेद

भारतीय भन्दै खातुनलाई साइकल दिइएन

जनकपुरधाम । आइतबार जनकपुधाम उपमहानगरपालिका–९ स्थित जानकी माध्यमिक विद्यालयमा ९ कक्षामा अध्ययनरत ३२ छात्रालाई साइकल बाँडियो । प्रदेश सरकारको ‘मुख्यमन्त्री बेटी बचाउ, बेटी पढाउ’ अभियानअन्तर्गत बाडिएको साइकल पाउँदा छात्राहरु खुसीले गद्गगद् थिए । तर, सोही कक्षामा अध्ययनरत रागिनी खातुन भने धुरुधुरु रुन थालिन् । कारण थियो, उनलाई भारतीय भन्दै साइकल दिइएन ।

छात्रालाई साइकल हस्तान्तरण गरेका थिए, जनकपुरधामका मेयर लालकिशोर साहले । कार्यक्रममा उपमेयर रित मिश्र पनि सहभागी थिइन् । विभेदविरुद्ध चर्को आवाज उठाउने मिश्रले पनि खातुनको पीडा देखेको नदेखेझै गरिन् ।

‘म भारतको हुँ भनेर साइकल दिइएन । तर खाजा किन दियो ?’ खातुनले रुँदै प्रश्न गरिन्, ‘निजी विद्यालयमा पढ्नेहरु सरकारी विद्यालयबाट सुविधा लिन्छन्, तर सधैं पढ्न आउने मसँग किन विभेद ?’

खातुनको बुवा लामो समयदेखि जनकपुरमा सिरक डसना बनाउने काम गर्छन् । खातुनको जन्म भने जनकपुरमै भएको बताइएको छ । तर बुवा भारतीय नागरिक भएकाले खातुनको जन्मदर्ता भएको छैन । उनले विद्यालयमा भारतीय आधार कार्ड पेश गरेकी छन् ।

विद्यालयका शिक्षक गौरीशंकर लाल कर्णका अनुसार साइकल लिन मुख्यमन्त्री कार्यालयमा छात्राको जन्मदर्ता पेश गर्नुपर्छ । रागिनी खातुनसँग जन्मदर्ता छैन । भारतीय आधार कार्ड पेश गरेका कारण उनका लागि मुख्यमन्त्री कार्यालयले नै साइकल नदिएको शिक्षक कर्णको भनाइ छ ।

भारतको आधार कार्डको आधारमा नेपालको विद्यालयमा पढ्न पाउने कानूनी व्यवस्था छ । तर पढ्ने सुविधा छ भने अन्य सुविधाबाट किन बञ्चित हुनुपर्ने भन्ने प्रश्न उठेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *