वीरेन्द्रनगरको चुनावलक्षित बजेट, फागुनभित्रै कार्यान्वयन गरिने
सुर्खेत । स्थानीय तहको चुनाव आउन लाग्दा वीरेन्द्रनगर नगरपालिकाले आर्थिक वर्ष २०७८/०७९ का लागि विनियोजन गरेको बजेटलाई फागुन मसान्तसम्म खर्च गर्ने गरी कार्ययोजना अघि बढाएको छ ।
वीरेन्द्रनगर नगरपालिकाले उपभोक्ता समितिमार्फत गर्ने कामहरुका लागि भदौ महिनाबाटै उपभोक्ता समितिलाई प्रशिक्षण विनै, काममा लगाउने निर्देशन दिएको उपप्रमुख मोहनमाया ढकालले बताइन ।
‘हिजो हाम्रो वैठक बसेको छ । १६ वटै वडा सचिव, जनप्रतिनिधि, विषयगत शाखा कार्यालयहरुका प्रमुखसँग बसेर हामीले बजेट कार्यान्वयनका बारेमा महत्वपूर्ण छलफल गरेर भदौबाटै सबै बजेटलाई कार्यान्वयनमा लैजाने निर्णय गरेका छौं,’ उनले भनिन्, ‘भौतिक पूर्वाधार निर्माणतर्फका योजनाका लागि यहि महिनामा टेण्डर गर्ने, स्टिमेट गर्ने र असोजबाट कार्यान्वयन गर्ने गरि हामीले निर्देशन दिएका छौं ।’
उनले फागुन मसान्तसम्म पालिकाको बजेट कार्यान्वयन गर्ने र त्यसपछिको समयमा संघ तथा प्रदेशबाट आउने रकमलाई कार्यान्वयन गरिने बताइन् ।
‘राजधानीको नगरपालिका भएका कारण र विभिन्न निकायमा हामीले गरेको पहलका कारण नगरपालिकामा बजेट आउने देखिएको छ । अहिले भएको बजेटलाई फागुन मसान्तसम्म कार्यान्वयन गर्ने र अन्य आउने बजेटलाई त्यसपछि कार्यान्वयन गर्ने गरी हामी अघि बढछौं,’ उनले भनिन् ।
उनले चुनावलक्षित बजेट कार्यान्वयन गर्न खोजेको हो कि ? भन्ने प्रश्नमा उनले तत्काल त्यस्तो योजना नभएको बताउँदै कोरोना संक्रमण गर्मी समयमा फैलिने खतरा भएका कारण यस्तो निर्णय गरेको दावी गरिन् ।