५४ मध्ये ४३ विमानस्थल घाटामा, यस्तो छ आम्दानी खर्चको स्थिति
काठमाडौं । विश्वमै सबैभन्दा महंगो पूर्वधार मानिन्छ, एयरपोर्ट । यसमा लगानी पनि धेरै हुन्छ र आम्दानी पनि आकर्षक । तर, नेपालमा फरक परिस्थिति छ । यहाँका अधिकांश एयरपोर्ट घाटामा सञ्चालित छन् ।
तथ्यांकअनुसार नेपालका एक अन्तर्राष्ट्रियसहित ५४ विमानस्थलमध्ये ४३ वटा घाटामा सञ्चालित छन् । जो पर्यटनमन्त्री भए पनि विमानस्थल थप्ने कुरा गर्छन् र थपिएका पनि छन् । तर विमानस्थालको घाटा घटाउनेतर्फ खासै ध्यान दिएको पाइँदैन । नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्री भन्छन्– अन्तर्राष्ट्रिय विमानस्थलको आम्दानीले अरुको खर्च धान्नुपर्ने स्थिति छ । यस्तो स्थितिमा विमानस्थल थप्नु भनेको घाटा बढाउनु मात्रै हो ।
नेपालको सबैभन्दा धेरै आम्दानी गर्ने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हो, जहाँबाट ९० प्रतिशत आन्तरिक उडान हुन्छ । उक्त विमानस्थलले आर्थिक वर्ष २०७७/७८ मा २ अर्ब ४२ करोड ४६ लाख रुपैयाँ आम्दानी गरेको छ । खर्च भने ७८ करोड ५१ हजार रुपैयाँ भएको जनाइएको छ ।
कोरोनाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आम्दानी करिब साढे दुई अर्बमा खुम्चिन पुगेको हो । कोरोना माहामारीअघि विमानस्थलको वार्षिक आम्दानी पाँच अर्ब रुपैयाँभन्दा माथि थियो ।
नेपालका सबैभन्दा कम आम्दानी गर्ने एयरपोर्ट हो, लामीडाँडा एयरपोर्ट । खोटाङस्थित उक्त एयरपोर्टले आर्थिक वर्ष २०७७/७८ मा ९ हजार २३० रुपैयाँ मात्र कमाएको छ । खर्च भने आम्दानीको १२५ प्रतिशतभन्दा माथिले छ ।
लकडाउनअघिसम्म लामीडाँडा एयरपोर्टमा हप्तामा एकपटक नेपाल एयरलाइन्सको जहाज जाने गरेको थियो । कोरोना भाइसरको पहिलो लहरसँगै भएको लकडाउनपछि त्यहाँ जहाज गएको छैन । ‘आम्दानी छैन, तर एयरपोर्ट सञ्चालनको खर्च भने भइरहेको छ’, प्राधिकरणका प्रवक्ता क्षेत्रीले भने ।
घाटामा चलिरहेको अर्को एयरपोर्ट हो– ओखलढुंगाको रुम्जाटार एयरपोर्ट । यहाँ पनि पछिल्लो समय जहाज गएका छैनन् ।
मोफसलका एयरपोर्टमा सबैभन्दा बढी आम्दानी गर्नेमा पर्छ विराटनगर एयरपोर्ट । विराटनगर एयरपोर्टले आर्थिक वर्ष २०७७/८८ मा ६ करोड ५२ लाख आम्दानी गरेको छ छ । नेपालगञ्ज, पोखरा, र धनगढीका एयरपोर्ट पनि फाइदामा छन् । तर, यो फाइदा नागरिक उड्डयन प्राधिकरणको खातामा चढ्दैन । ‘केही एयरपोर्टमा नाफामा छन् तर नाफा जति सञ्चालनमै सकिन्छ’ प्रवक्ता क्षेत्रीले भने ।
यो वर्ष पोखरा एयरपोर्टले ४ करोड ५५ लाख ८९ हजार ८६३ रुपैयाँ आम्दानी गर्दा १ करोड ८१ लाख रुपैयाँ खर्च गरेको छ । त्यसैगरी, नेपालगञ्ज एयरपोर्टले ५ करोड आम्दानी गर्दा २ करोड ४५ लाख खर्च गरेको छ । धनगढी एयरपोर्टको आम्दानी २ करोड ७० लाख २२ हजार ७२ रुपैयाँ छ भने खर्च १ करोड ५३ हजार ६७९ रुपैयाँ छ ।
गौतमवुद्ध विमानस्थलको आम्दानी ५ करोड ३ लाख ६३ हजार ६०३ हुँदा खर्च ४ करोड ७१ लाख ८९ हजार ५७५ रुपैयाँ छ ।
रामेछाप एयरपोर्टको आम्दानी ४४ हजार छ भने खर्च २२ लाख रुपैयाँ छ ।
किन घाटामा हुन्छन् एयरपोर्ट ?
पहाडी जिल्लामा सडक सञ्जाल विस्तार भएसँगै जहाज उड्न कम भएको छ । प्रवक्ता क्षेत्रीका अनुसार यात्रुको संख्या कम भएपछि ओखलढुंगाको रुम्झाटार एयरपोर्टमा जहाज उड्न सकेको छैन ।
जहाज नउडेपछि एयरपोर्टको कार्य संचालनका लागि नै बढी खर्च लाग्ने गरेको बताउँछन् प्राधिकरणका अर्थ विभागका प्रमुख गोविन्दप्रसाद दाहाल । ‘जाहाज नउडे पनि एयरपोर्ट बन्द गर्न मिल्दैन । संचालनमा ल्याउँदा घाटा धेरै हुनेगर्छ,’ उनले भने ।
उनका अनुसार पहाड र हिमाली भेगमा भएका एयरपोर्ट बढी घाटामा छन् । दैनिक २०-३० वटा जहाजको उडान भएमा मात्र एयरपोर्ट फाइदामा जाने उनको भनाइ छ । ‘पहाडी जिल्लामा सरकारले घाटा नै खाएर भएपनि जनतालाई सुविधा दिनका लागि एयरपोर्ट संचालन गर्नुपर्छ,’ उनी भन्छन् ।
कुन एयरपोर्टको आम्दानी–खर्च कति–कति ?
एयरपोर्ट | आम्दानी | खर्च |
---|---|---|
टीआईए | २ अर्ब ४२ लाख | ७८ करोड ५१ हजार |
ताप्लेजुङ | ४ लाख ६ हजार | २० लाख |
चन्द्रगढी | ३ करोड ३१ लाख | १ करोड ३२ लाख |
तुम्लिङटार | १२ लाख ५७ हजार | ४२ लाख ३९ हजार |
भोजपुर | ८१ हजार ४३६ | २२ लाख ८६ हजार |
विराटनगर | ६ करोड ५२ लाख | २ करोड ५३ लाख |
लामिडाँडा | ९ हजार | ११ लाख ५६ हजार |
तेन्जिङ हिलारी | – | ५२ लाख ३५ हजार |
रुम्जाटार | ७४ हजार | १७ लाख २० हजार |
लुक्ला | ५२ लाख ७१ हजार | – |
फाप्लु | २ लाख ४२ हजार | २४ लाख ६३ हजार |
थामखर्क | ६१ हजार ५९६ | १५ लाख ७९ हजार |
जनकपुर | १ करोड ४५ लाख | १ करोड ९ लाख |
रामेछाप | ४४ हजार | २२ लाख ९९ हजार |
सिमरा | १ करोड ६७ लाख | ९३ लाख ९४ हजार |
भरतपुर | ३ करोड १४ लाख | ८५ लाख ५९ हजार |
पोखरा | ४ करोड ५५ लाख | १ करोड ८१ लाख |
गौतमबुद्ध अन्तराष्ट्रिय | ४ करोड ७१ लाख | ५ करोड ३ लाख |
मनाङ | – | १ लाख ५ हजार |
जोमसोम | १२ लाख २० हजार | ४४ लाख ९० हजार |
नेपालगञ्ज | ५ करोड ४७ लाख | २ करोड ४५ लाख |
सुर्खेत | ६४ लाख १४ हजार | ६१ लाख २९ हजार |
डोल्पा | ८९ हजार | १४ लाख ७८ हजार |
जुम्ला | १३ लाख ७१ हजार | ८ लाख ५६ हजार |
सिमिकोट |
४५ लाख |
२१ लाख २ हजार |
धनगढी |
२ करोड ७ लाख |
१ करोड ५३ हजार |
सांफेवगर | ५ लाख ९७ हजार | १० लाख ५३ हजार |
डोटी | ७ लाख ६९ हजार | १० लाख |
बाजुरा | १० लाख ४२ हजार | ३ लाख ५४ हजार |
रारा | ३१ लाख ८ हजार | ३ लाख ६ हजार |