ऋषितर्पणी : धार्मिक होइन सांस्कृतिक पर्व
आज ऋषितर्पणी पर्व हो । श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने यो पर्वलाई जनैपूर्णिमा, रक्षाबन्धन आदि पनि भनिन्छ । ‘ऋषि’ भनेका हाम्रा पूर्वज-पुर्खा हुन् । सबैका लागि आफ्ना पूर्वज-पुर्खा सम्मानित हन्छन् । अझ ती पुर्खा, जसले समाजमा नयाँ अनुसन्धान, आविष्कार गरेर जीवनलाई सहज र आनन्दमय बनाउन योगदान गरे, तिनको थप सम्मान तथा सम्झना हुनु, गर्नु हाम्रो स्वाभाविक कर्तव्य हो ।
‘तर्पणी’ शब्दले तृप्ति अर्थात् खुसी पार्ने अर्थ वहन गरेको छ । ऋषि- पूर्वज/पुर्खा, तर्पणी-तृप्त पार्नु । यसरी हेर्दा ऋषितर्पणी भनेको पूर्वज/पुर्खालाई तृप्त पार्नु, खुसी पार्नु हो । जीवित नरहेका पूर्वज/पुर्खाहरूलाई हामी पितृ भन्ने गर्दछौँ । उहाँहरू के गर्दा खुसी हुनुहुन्थ्यो, त्यो सम्झेर, अनुमान वा कल्पना गरेर त्यस्तो कार्य गर्ने हो । कहीँ भनिएको पनि छ- पितरो वाक्यमिच्छन्ति भावमिच्छन्ति देवताः अर्थात् पितृहरू वाक्य (शुद्ध बोली–वचन) चाहन्छन्, देवता भाव चाहन्छन् ।
परम्परागत अर्थ आफ्नो ठाउँमा छ, तर शब्द त हामीसँग छ र त्यसको सही अर्थ लगाउने हाम्रो जिम्मेवारी हो । यसअनुसार अर्थ लगाउँदा हामीले यदि आफ्ना पूर्वज-पुर्खालाई सम्मान गर्दछौँ भने हाम्रो बोलीवचन सभ्य र मर्यादित हुनुपर्दछ । देवतालाई खुसी पार्न/राख्न सबैप्रति सद्भाव राखौँ । आजको यस ऋषितर्पणी पर्वले दिएको सन्देश हो, पूर्वज/पुर्खालाई सम्मान गर्न सभ्य र मर्यादित बोली बोलौँ, सबैप्रति सद्भाव विकास गरौं ।
सनातन हिन्दु धर्ममा आस्था राख्नेहरूले यस दिनलाई विशेष पर्वको रूपमा मनाउने प्रचलन रहिआएको छ । यस दिन ‘तागाधारीहरू’ ले विभिन्न नदी, पोखरी आदि जलाशयमा जौ, तील, गाईको गोबर, माटो, भष्म, कुश, दुबो, अपामार्ग प्रयोग गरी स्नान गर्ने गर्दछन् । गाईको गोबर, माटो, भष्म आदि पदार्थहरू शरीरमा लेपन गरेर स्नान गर्दछन् । यसरी गरिने स्नानलाई श्रावणी स्नान भन्ने गरिन्छ । यसरी विशेष स्नानपछि जनै र रक्षाबन्धनको धागोलाई वैदिक तथा पौराणिक मन्त्रहरूद्वारा पूजिन्छ ।
हिन्दूहरूको सामाजिक वर्णव्यवस्थाभित्रैको विषय भए पनि केही अपवादबाहेक नारी र ‘शूद्र’ वर्णका मानिसहरूलाई ‘यज्ञोपवीत’ धारण गराइँदैन । शास्त्रीय विभाजनमा नपरेका जनजातिले पनि जनै लगाउने प्रचलन छैन । त्यसैले आजको दिन हिन्दुहरूको पर्व भए पनि सम्पूर्ण हिन्दूहरूको पर्व हुन नसकेको देखिन्छ ।
सामान्यतः हाम्रो समाज जनै लगाउने र नलगाउनेमा बाँडिएको छ । यसो गर्नु इतिहासको कुनै कालखण्डको आवश्यकता या अन्य अवस्थाको कारण होला । त्यो खोजीको विषय होला र हुनुपर्दछ । यसबाट वञ्चित पारिएकाहरू वञ्चितिको कारण असन्तुष्ट छन् भने यसलाई अवैज्ञानिक र अन्धविश्वासको विषय मानेर विरोध गर्नेहरू पनि नभएका होइनन् ।
राम्रो वा नराम्रो जे भए पनि इतिहास कार्यान्वयन गरिँदैन । इतिहासको अध्ययन गरिन्छ । इतिहासको, परम्पराको असल पक्षहरू अघि बढाइनु पर्दछ । कमजोर पक्षलाई जस्ताको तस्तै त्यहीँ छोडिदिनु पर्दछ र अघि बढ्नु पर्दछ । संरक्षित इतिहास पनि मानव समाजको संग्रहालय नै हो । संग्रहालयमा राखिएका सबै वस्तु अहिले काम लाग्ने नहुन सक्छन्, अधिकांश त हुँदैन नै । इतिहास जितेको मात्रै या हारेको मात्रै हुँदैन । इतिहास मिलेको मात्रै या अनमेल मात्रै हुँदैन । इतिहास रूचीकरमात्रै या अरूचीकर मात्रै हुँदैन । इतिहास प्रशंसनीय मात्रै या निन्दनीय मात्रै हुँदैन । संग्रहालयमा देशका दुश्मन विरुद्ध नचाइएका खुँडा, खुकुरी र तरवार छन् भने वंशविनाशमा प्रयोग गरिएका अत्याधुनिक हतियार पनि छन् । हाम्रा मूर्त र अमूर्त सांस्कृतिक सम्पदाहरू मानव सभ्यताका इतिहास पाना हुन् ।
अहिलेका आँखाले हेर्दा हाम्रा चाडपर्वको परम्परामा पनि त्यस्ता केही कमजोर पक्ष होलान् । यिनलाई उतिबेलाका आँखाले पनि हेर्नुपर्ने हुन्छ । पारम्परिक चाडपर्वले हामीलाई हेलाहोँचो र विभेद मात्र दिएको छैन । सिर्जनात्मकता दिएको छ । उद्यमशीलताको आधार दिएको छ । जनै र रक्षा सूत्रको मात्र कुरा गर्दा पनि यस्तो देख्न सकिन्छ । जनै बनाउने क्रम कपासबाट शुरू हुन्छ । कपासबाट काँचो धागो बनाइन्छ । त्यही धागोबाट जनै बनाइन्छ । कपास खेती, धागो बनाउने सीप यहाँ देखिन्छ ।
जनैलाई ब्रह्मज्ञानको प्रतीक मानिएको छ । भौतिक वस्तुलाई यति उच्च महत्व दिनु यसभित्रको प्रशंसनीय विषय हो । जनैलाई चार वेदको समष्टि पनि मानिएको छ । जनै बाहिर देखिँदा तीन सरे, छ सरे देखिए पनि यसभित्र ९६ सरा रहेको हुन्छ । यो संख्या ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद गरी चार वेदले गायत्रीको चार अक्षरलाई गुणन गर्दा आउने संख्या मानिन्छ ।
तिथिर्वारश्च नक्षत्रंतत्ववेदगुणान्वितम् । कालत्रयं च मासाश्च ब्रह्मसूत्रं हि षण्णवम् । अर्थात् १५ तिथि, ७ वार, २७ नक्षत्र, २५ तत्व (सांख्य दर्शन), ४ वेद, तीन गुण, तीन काल, १२ महिनाको जोडफल ९६ हुन्छ । जनैलाई यिनैको समष्टि पनि मानिन्छ । ऋषितर्पणीका दिन देवी अरुन्धती, सप्तर्षि, गोत्र प्रवर्तक ऋषिहरू, देवताहरू, आफ्ना पितृहरूलाई ससम्मान स्मरण तथा पूजा तथा समर्पण गरी आफूले धारण गर्ने-लगाउने प्रचलन रहेको छ । (स्रोत सन्दर्भ : विष्णुप्रसाद पोख्रेल, नेपाल वेदविद्याश्रम संस्कृत उच्च मावि, काठमाडौँ) जनैलाई संस्कृतमा ‘यज्ञोपवित’ पनि भनिन्छ । ‘यज्ञोपवीत’ को शाब्दिक अर्थ ‘यज्ञकर्मका लागि धारण गरिएको’ भन्ने हुन्छ । आमरूपमा जनै भनिए पनि यसलाई तराईतिर ‘जनेउ’ भनिन्छ । जनेउ शब्दले जानकारी गराउने जनाउ दिने भन्ने अर्थ दिन्छ । त्यसैले यो एक प्रकारको जातीय चिनारी पनि हो भन्ने बुझिन्छ ।
हिन्दूहरूको सामाजिक वर्णव्यवस्थाभित्रैको विषय भए पनि केही अपवादबाहेक नारी र ‘शूद्र’ वर्णका मानिसहरूलाई ‘यज्ञोपवीत’ धारण गराइँदैन । शास्त्रीय विभाजनमा नपरेका जनजातिले पनि जनै लगाउने प्रचलन छैन । त्यसैले आजको दिन हिन्दुहरूको पर्व भए पनि सम्पूर्ण हिन्दूहरूको पर्व हुन नसकेको देखिन्छ ।
जनै लगाउनेहरूले जनैको पूजा गर्दछन् र जनै लगाउने, लगाइदिने गरिन्छ । तागाधारी भनिने समुदायमा पनि महिलाहरू, व्रतबन्ध नभएकाहरूले जनै लगाइँदैन । तर, रक्षा बन्धन, यसलाई रक्षासूत्र पनि भनिन्छ (मन्त्रित धागो), जनै नलगाउनेहरूले पनि बाँध्ने गरिन्छ ।
रक्षासूत्र बाँध्दा भनिने यो मन्त्रको कालजयी महत्व छ ।
‘येनबद्धो बलिराजा दानवेन्द्रो महाबलः । तेन त्वां प्रतिबध्नामि रक्षे माचल माचल अर्थात् वामनले महाबलशाली, दानवीर राजा बलिलाई जुन बन्धनले बाँधेका थिए, म तिमीलाई पनि यसले बाँध्छु । हे रक्षासूत्र, अविचलित रूपमा रक्षा गर ।’ बाँधेको रक्षासूत्रबाट यस्तो अपेक्षा गरिएको छ । यसरी यस रक्षाबन्धनबाट आफूले गरेको प्रतिबद्धताबाट जस्तोसुकै अवस्थामा पनि विमुख हुनुहुँदैन भन्ने सन्देश प्राप्त हुन्छ । दानवीर राजा बलीलाई शक्तिशाली विष्णुले होचो ब्राह्मण (वामन) को रूप धारण गरी छल गरेर उनको सम्पूर्ण जायेजेथा हडपेका थिए । यति हुँदा पनि बलीले वचनमा चुकेको हुनाले सबै स्वीकार गरे भन्ने कथा छ ।
अहिले छलको स्वरूप फेरिएको छ, प्रतिबद्धताका क्षेत्र र पक्ष फेरिएको होला । तर, आ-आफ्ना प्रतिबद्धता त छन् नि ! बलीले झैँ होस गुमाएर प्रतिबद्धता नगर्ने र गरेको प्रतिबद्धतामा कायम रहने शिक्षा यो रक्षा बन्धनबाट लिन सकिन्छ र लिनुपर्दछ । यो पर्व निश्चित धार्मिक आस्थाका मानिसहरूले मनाउने हुँदा धार्मिक पर्वजस्तो लाग्न सक्छ, तर यो धार्मिक नभइ सांस्कृतिक पर्व हो ।
तराई-मधेसमा यसलाई अलि भिन्न ढंगले मनाउने गरिन्छ । दिदीबहिनीहरूले दाजुभाइहरूलाई राखी बाँधिदिने, रक्षाको कामना गर्ने प्रचलन रहेको छ । दाजुभाइहरूले दिदीबहिनीहरूलाई दक्षिणा दिने गरिन्छ । दाजुभाइहरूले दिदीबहिनीहरूको माया, सम्मान र रक्षाको वचनबद्धताको पर्वको रूपमा बनाइन्छ ।
सामान्यतः हाम्रो समाज जनै लगाउने र नलगाउनेमा बाँडिएको छ । यसो गर्नु इतिहासको कुनै कालखण्डको आवश्यकता या अन्य अवस्थाको कारण होला । त्यो खोजीको विषय होला र हुनुपर्दछ । यसबाट वञ्चित पारिएकाहरू वञ्चितिको कारण असन्तुष्ट छन् भने यसलाई अवैज्ञानिक र अन्धविश्वासको विषय मानेर विरोध गर्नेहरू पनि नभएका होइनन् ।
नेपालको कर्णाली र सुदूरपश्चिममा यसलाई अझ थप विशेषता सहित मनाइन्छ । सामाजिक अन्तर्घुलनका कारण अन्य धर्ममा आस्था राख्नेहरूले पनि राखी बाँध्ने र अन्य रूपमा सहभागी हुने गरेको भए तापनि मूलतः हिन्दू सनातन परिवारमा यो पर्व मनाउने गरिन्छ ।
काठमाडौं उपत्यकामा, यहाँका रैथाने बासिन्दाहरूले थप विशेषतासहित यो पर्व मनाउने गरेको पाइन्छ । अन्य कुराका अतिरिक्त यस दिनलाई क्वाँटी खाने दिनको रूपमा मनाउने गरिन्छ । नेपाल (नेवारी) भाषाको क्वाति शब्दको अर्थ तातो झोल भन्ने हुन्छ । यही ‘तातो झोल’ खाने पर्व भएकोले यसको स्वास्थ्यसँग सम्बन्ध रहेको बुझ्न सकिन्छ । क्वाँटी धेरैथरि दलहन (गेडागुडी) लाई मिसाएर भिजाइन्छ र टुसा उमारिन्छ । टुसाएको गेडागुडीमा मसलाहरू राखेर पकाइन्छ । मौसम अनुसार यो खाद्य अवश्य नै स्वास्थ्यप्रद छ । यसका अन्य विशेषताहरूका बारेमा खाद्य क्षेत्रका अध्येता, अनुसन्धाता, विज्ञहरूले सर्वसाधारणलाई जानकारी गराउनुपर्छ र हाम्रो देशको मौलिक खाद्य विशेषताको अवलम्बन र प्रचार गर्ने वातावरण मिलाउनु पर्दछ । हामी खान्छौँ, जानेर खाऔँ, हामी मान्छौँ, जानेर मनाऔँ । यसो गर्यौँ भने संसारको खाद्य संस्कृतिमा हाम्रो पनि योगदान हुनेछ र हामी पनि प्रचारित हुनेछौँ, हाम्रो पहिचान विस्तार हुनेछ ।
कुनै देशको दाँजोमा भूगोलमा हाम्रो देश सानो छ । खासगरी विशाल चीन र भारतको बीचमा रहेको हुनाले पनि हामीलाई हाम्रो देश सानो छ भन्ने लाग्छ । तर, संसारका धेरै देशहरूको दाँजोमा नेपाल सानो छैन । यहाँको हिमाल, पहाड, तराई-मधेस रहेको भूगोल, अनेकौँ जाति समुदाय, भाषाभाषी, धर्म-संस्कृतिका जनताका पहिरन, खाद्य, परम्परा, संस्कार पद्धतिले हामीलाई विशाल, महान बन्ने अवसर प्रदान गरेको छ । हामीले हाम्रा विविधतालाई सही रूपमा ठम्याउने, समानता स्थापित गर्ने, सद्भाव विकास गर्ने र सबैप्रति सकारात्मक सोच राख्नुपर्दछ ।
(लेखक संस्कृति अध्येता तथा अभियन्ता हुन्)