कृषिकर्ममा मस्त चितवनका युवा, बाघ लुक्ने झाडीमा कृषि उत्पादन
भरतपुर । चितवन भरतपुरका युवाले सामूहिक खेती अभियान चलाएका छन् । भरतपुर–६ केशरवाग–पारसनगरमा परिवर्तन कृषि तथा पशुपंक्षी कृषक समूहमार्फत यहाँका युवा लकडाउनयता सामूहिक खेतीमा व्यस्त छन् ।
लकडाउनकै बेला फुर्सदिला बनेका युवाहरु एकजुट भएका हुन् । भाडामा लिएको ३ विघा क्षेत्रफलमा उनीहरुले माछापालन, फूल, कागती, कुरिलो, च्याउ, डालेघाँस खेतीलगायतका कृषिकर्म गरेका छन् ।
यो समूहमा ५२ जना सेयर सदस्य छन् । हरेकबाट २५ हजार रुपैयाँ बीउपुँजी संकलन गरिएको थियो । त्यसयता सबैले मासिक एक हजार रुपैयाँ बचत गर्छन् ।
समूहका अध्यक्ष शिशिर तिम्सिनाले पेसाभन्दा बाहिरको समय श्रममा लगानी भएको बताउँछन् । ‘सबै पेसा, व्यवसायीको प्रतिनिधित्व छ, मिलेर काम गर्छौं’, उनी भन्छन्, ‘अहिले लगानीको चरणमै छौँ, केही वर्षमै प्रतिफल आउन सुरु हुनेछ ।’
उनी १५ वर्षयता शिक्षण पेसामा व्यस्त छन् । बिहान–बेलुका २ घण्टा समय उनी सामूहिक खेती रेखदेखमा खर्चिन्छन् । समूहले माछा, च्याउ, कुरिलो र फूल बेचेर केही आम्दानी हुन थालेको छ ।
गत वर्ष डेढ लाख बराबरको माछा, एक लाख बराबरको च्याउ, २० हजार बराबरको कुरिलोको बेर्ना बिक्री भएको थियो । ४ वटा माछापोखरीमा करिब २७ लाख भुराहरु हुर्कदैँ छन् । यो वर्षमात्रै ३ क्विन्टल माछा बेचिसकेका छन् ।
उनीहरुले यसपालिको दसै तिहारलक्षित गरेर केही नयाँ योजना समेत बनाएका छन् । फिसिङ प्वाइन्ट बनाएर बल्छीमार्फत माछा मार्ने, पहाडी बेल्टमा हुर्केका खसीबोकाको कारोबार सुरु गर्ने तयारी छ । सामूहिक खेतीमै गाउँले परिवेशको कटेज बनाएर आन्तरिक पर्यटक भित्र्याउने रणनीतिमा छन् उनीहरु । तिहारलक्षित गरेर सयपत्री फूलखेती विस्तार पनि गर्दैछन् ।
उनीहरुले बाघ लुक्ने झाडी हटाएर सामूहिक खेती गरेका हुन् । नवज्योति मध्यवर्ती सामुदायिक वनको काखैमा रहेको जग्गामा उनीहरु पर्यटनका गतिविधि बढाउने योजनामा छन् । केही महिनामै मिनि फनपार्क, बाल उद्यान पनि बनाउँदैछन् ।
यहाँबाट करिक दुई किलोमिटर पर किंगफिसर ताल, बीसहजारी ताल पर्छन् । भरतपुर महानगरले दिएको चार लाख ५० हजार रुपैयाँ अनुदानबाट कम्पाउण्डिङ गरेर जंगली जनावरबाट खेतबारी जोगाएका छन् ।
रोजगार गुम्ने चिन्ताले एकजुट भएका उनीहरु खेती विस्तारको योजनामा समेत छन् । चितवनका अन्य क्षेत्रमा जग्गा भाडामा लिएर उनीहरु सामूहिक खेती अभियानलाई विस्तार गर्न लागिपरेका छन् ।
पाँच वर्षदेखि बार्बर ट्रेनिङ दिँदै आएका किरण गौली पनि यो समूहमा छन् । ‘युवाहरुको जमघट हुन्छ, खेतीको अभ्यास पनि बढ्छ’, उनले भने, ‘दिनभर व्यवसायमै व्यस्त बनेपनि बिहान–साँझ यहाँ आइपुग्छु ।’
अधिवक्ता कुलचन्द्र खनाल शारीरिक व्यायाम गर्ने थलोका रुपमा सामूहिक खेती विकास भएको बताउँछन् । ‘गोडमेल, खन्ने जस्ता कामले पसिना बगाउँछौँ’, उनी भन्छन्, ‘उत्पादन र व्यायाम दुवै मिल्छ ।’
समूहमा विभाजन गरेर खेती रेखदेख गर्न उपसमितिहरु बनाइएका छन् । सोही उपसमितिमार्फत सम्बन्धित खेती स्याहारसुसार गर्ने गरिएको छ । समूहका सल्लाहकार दिनेश कोइरालाले कृषिकर्ममा युवा समूहलाई प्रोत्साहन गर्न आवश्यक रहेको बताउँछन् । जिल्ला तहका नेता हरि सापकोटाले सामुहिक खेतीको अवधारणालाई विस्तार गर्नुपर्ने बताए ।