१० वर्षदेखि श्रीमान विदेशमा, श्रीमतीले बच्चा जन्माएर गरिन् हत्या
कैलाली । बैतडीमा एक महिलाले आफ्नै शिशुको हत्या गरेकी छन् । जिल्लाको डिलाशैनी गाउँपालिका नम्बर ७ ढाँणकी ३५ वर्षीया माधवी कार्कीले आफ्नै नवजात शिशुको पासो लगाएर हत्या गरेकी हुन् ।
मकै बारीमा शिशु जन्माएको र जन्मिएलगत्तै केराको बोक्राले पासो लगाएर हत्या गरेको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले बताए।
अवैध सम्बन्धबाट गर्भ रहेकाले शिशुको हत्या गरेको उनको भनाइ छ । नवजात शिशुको हत्या गरेपछि उनका ससुराले प्रहरीलाई खबर गरेका थिए।
प्रहरीले अहिले शिशुको हत्या गर्ने महिलालाई पक्राउ गरेर कर्तव्य ज्यानमा मुद्दा चलाएको छ ।
माधवीका श्रीमान् १० वर्षअघि वैदेशिक रोजगारीमा छन् । उनी सम्पर्कमा नरहेको प्रहरीको भनाइ छ । माधवीका १३ र ९ वर्षका दुई सन्तान छन् ।
गाउँकै १७ वर्षीय किशोरसँग अवैध सम्बन्धबाट गर्भ रहेको थाहा पाएपछि आफन्तले शिशु ती युवाले जिम्मा लिनुपर्ने भन्दै आइरहेका थिए । ती युवकमाथि पनि छानबिन सुरु भएको प्रहरी निरीक्षक शाहीले बताए।