जेबी टुहुरेको निधनमा माओवादी अध्यक्षद्वारा शोक व्यक्त
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनवादी गायक जेबी टुहुरेको निधनप्रति शोक व्यक्त गरेका छन् ।
टुहुरेको निधनको खबरबाट आफू स्तब्ध भएको बताउँदै अध्यक्ष प्रचण्डले झण्डै आधा शताब्दी भन्दा बढी नेपाली जनवादी गीत संगित मार्फत् जनताको बीचमा मुक्ति, स्वतन्त्रता र परिवर्तनको शंखनाद गर्ने वरिष्ठ जनगायक टुहुरेप्रति भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दै सम्पूर्ण शोकाकुल परिवारजनमा समवेदना प्रकट गरेका हुन् ।
‘आमा दिदीबहिनी हो कति बस्छौ दासी भई सुखको सधैँ प्यासी बनेर’ अत्यन्तै बहुचर्चित गीतबाट चर्चित लोकप्रिय कलाकार जुठबहादुर खड्गी ‘जेबी टुहुरे’को उपचारका क्रममा आज निधन भएको छ ।
बल्खुको बयोधा अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो । उनी ७८ वर्षका थिए । उनी संविधानसभा सदस्य तथा जनसांस्कृतिक महासङ्घका पूर्वअध्यक्ष थिए ।
भदौ १ गते दिउँसो काठमाडौंको कलंकी स्थित निजी निवासमा अचानक मस्तिष्क पक्षघात (स्ट्रोक) भएपछि टुहरेको बयोधा अस्पतालको सिसियु कक्षमा उपचार भइरहेको थियो ।
मुटु, मधुमेह, फोक्सो र उच्च रक्तचाप समेतको समस्या झेलिरहेका ७८ वर्षीय टुहुरेको अप्रेसन गर्न असहज भएपछि औषधिको माध्यमबाट उपचार जारी राखिएको थियो ।