बैदेशिक रोजगार विभागको महानिर्देशको जिम्मेवारी दिपक काफ्लेलाई
एक सहसचिव बढुवा र एक सहसचिव महानिर्देशक भएपछि मन्त्रालयमा दुई सहसचिव खाली
काठमाडौं । बैदेशिक रोजगार विभागको महानिर्देशकको जिम्मेवारी दिपक काफ्लेलाई दिइएको छ । मन्त्रीस्तरीय निर्णयबाट मंगलबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा प्रवक्ताको जिम्मेवारीमा रहेका प्रशासन महाशाखा प्रमुख सहसचिव काफ्लेलाई महानिर्देशकको जिम्मेवारी दिइएको हो । महानिर्देशकको जिम्मेवारी दिइएसँगै उनले बिहीबार नै विभागमा पुगेर पदबहाली समेत गरिसकेका छन् ।
काफ्ले ४ महिना अघि मात्रै मन्त्रालयमा सरुवा भएर आएका थिए । मन्त्रालय आउनुअघि उनी बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयको सचिवको जिम्मेवारीमा थिए । त्यसभन्दा अघि उनले सहसचिव नै रहदाँ करिव ७ बर्ष गृह महन्त्रालय मातहत रहेर काम गरिसकेका छन् ।
यसअघि विभागको महानिर्देशकमा कृष्णप्रसाद दवाडी थिए । गत बैशाख ५ गतेदेखि विभागको नेतृत्व समालेका दवाडी उमेरहदका कारण यहि भदौं ५ गते विभागबाट विदा भएका थिए । उनले विभागको नेतृत्व ४ महिना मात्रै समालेका थिए ।
यसैविच एक सहसचिव सचिवमा बढुवा भएपछि र एक सहसचिव विभागको महानिर्देशकमा नियुक्त भएपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा दुइ सहसचिवको पद रिक्त भएको छ ।यस अघि मन्त्रालयमा सहसचिव एवम रोजगार समन्वय महाशाखा प्रमुखको जिम्मेवारीमा रहेका हरीप्रसाद मैनालीलाई केहि दिन अघि बसेको मन्त्रिपरिषद् बैठकले सचिवमा बढुवा गर्दै प्रदेश दुईको सचिवमा पदस्थापन गरिसकेको छ ।
यस्तै मंगलबार मन्त्रीस्तरीय निर्णयबाट मन्त्रालयको प्रवक्ताको जिम्मेवारीमा समेत रहेका प्रशासन महाशाखा प्रमुख काफ्ले विभागको महानिर्देश नियुक्त भएपछि मन्त्रालयमा दुई सहसचिवको पद रिक्त भएको हो ।
तर, सचिव बढुवा भएर प्रदेश २ को सचिवमा पदस्थापन भइसकेका हरीप्रसाद मैनालीको नाम र बिहीबार मात्रै वैदेशिक रोजगार विभागको महानिर्देशमा पदबहाली गरिसकेका सहसचिव दिपक काफ्लेको नाम श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले हटाएको छैन ।