चुनावमा अरु सबै पार्टी मिल्दा पनि एमालेसँग नचिताए हुन्छ : ओली – Nepal Press

चुनावमा अरु सबै पार्टी मिल्दा पनि एमालेसँग नचिताए हुन्छ : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अरु सबै पार्टी मिलेर पनि एमालेसँग लड्न नसक्ने बताएका छन् । हालै भएको पार्टी विभाजनबाट उनले रुखबाट पात खसेको संज्ञासमेत दिए ।

युवासंघको भेलालाई सम्वोधन गर्दै ओलीले भने, ‘एमालेसँग एक्लै लड्न सकिन्न भन्ने सबैलाई थाहा छ । कसैले नचिताए हुन्छ ।’ १० वटा पार्टी मिल्दा पनि जम्माजम्मी १२० जना पुग्ने ओलीले दावी गरे ।

‘एक–एक दर्जन मान्छे भएका दश पार्टी मिल्दा कति हुन्छ ? १० दर्जन नै त भए होला नि होइन रु १२० जनाको मोर्चाले कसरी हामीसँग लड्ने ? अरु सबै जोड्न पनि एमालेको कम्मर कम्मर मात्रै आउने हुन् ।’

उनले अबको चुनावमा प्रतिस्पर्धीहरु हुने तर प्रतिस्पर्धा नहुने भविष्यवाणी गरे । ‘चुनावमा उठेपछि प्रतिस्पर्धी हुन्छन् । तर अबको चुनावमा एमालेको कसैसँग प्रतिस्पर्धा हुँदैन,’ ओलीले भने, ‘एमालेबाट को उम्मेदवार बन्छ, अहिले थाहा छैन, तर जो उठे पनि जित्छ । हामीले प्रतिस्पर्धा हुन दिने नै होइन ।’

ओलले माधव नेपालको पार्टीसँग केन्द्रिय समितिका ५५ र संसदीय दलका २९ बाहेक अरु मान्छे नभएको बताए । पार्टी फुटाउनेहरुलाई उनले कुलंघारको संज्ञा दिए । ओलीले भने, ‘रुखबाट केही पातहरु खस्दैमा नयाँ पालुवा उम्रिन रोकिँदैन । पालुवाहरु पलाइरहेका छन् । चिन्ता लिनु पर्दैन ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर