राजमार्गका पुल भासिनुका कारण- ओभरलोड ट्रक र नदीजन्य पदार्थको दोहन – Nepal Press

राजमार्गका पुल भासिनुका कारण- ओभरलोड ट्रक र नदीजन्य पदार्थको दोहन

रुपन्देही । सातादेखिको वर्षापछिको बाढीका कारण पूर्वपश्चिम राजमार्गअन्र्तगत रुपन्देही र नवलपरासीमा पर्ने दुई वटा पुल भासिएपछि सवारी आवागमनमा रोकियो । ती पुल अहिलेसम्म सन्चालन गर्न सकिएको छैन ।

पुल भासिनुमा सरोकारवालाको दुईथरी तर्क छ । केहीले नदीजन्य पदार्थको अनियन्त्रित दोहनलाई करण बनाएका छन् त केहिले क्षमताभन्दा बढी लोड बोक्ने सवारीका कारण भनिरहेका छन् ।

शुक्रबार रुपन्देहीको देवदहमा रहेको घोडाहा पुल र नवलपरासीको तुरिया खोलाको पुल भासिएको पछिल्लो उदाहरण मात्र हुन् । राजमार्गमा रहेका अन्य पुलहरु पनि निर्धारित समयभन्दा छिटो भत्कने र भासिने गरेका छन् ।

रुपन्देहीको घोडाहामा रहेको ६१ दशमलव ४ मिटर लामो पुलको ४ पिल्लर मध्ये बीच भागमा रहेको पिल्लर नै भासिएपछि राजमार्ग अवरुद्ध बनेको छ । राजमार्गको नियामक निकाय रहेको सडक डिभिजन, ओभरलोडको विरोध गर्दै आएका व्यवसायी, स्थानीय खोलाहरुबाट उत्खनन् गरी लाभ लिइरहेको समूह र स्थानीय सरकारले एकअर्कालाई आरोप लगाइरहेका छन् ।

ओभरलोड नै मूल कारण- व्यवसायी

यातायात व्यवसायी समिति लुम्बिनी प्रदेशका संयोजक यमप्रसाद पाण्डेले ओभरलोड नै सडक बिग्रनु र पुल भासिनुको प्रमुख कारण भएकाले आफूहरुले पटक पटक ध्यानाकर्षण गराइरहेको बताए । उनले यो विषयमा प्रशासन तथा विभिन्न तहका सरकारलाई जानकारी गराए पनि वेवास्ता गरिएकाले अन्य ठाउँमा पनि यस्ता समस्या थपिदै जाने बताए ।

सरकारले सडक क्षमताभन्दा बढी लोडका भारतीय सवारीहरुलाई निर्वाध सञ्चालन गर्न दिँदा यसैगरी पुलहरु भासिनुका साथै सडक जीर्ण बन्ने गरेको उनको तर्क थियो । मापदण्डभन्दा बढी तौल बोक्ने नेपाली वा भारतीय कुनै पनि मालवाहक गाडीहरुलाई सडकमा गुड्न नदिन सरकारले कडाईका साथ नियमन गर्नुपर्ने बताउँदै उनले यसका लागि सम्बन्धित पक्षको ध्यान जान आवश्यक रहेको बताए ।

पश्चिमाञ्चल यातायात व्यवसायी समितिका महासचिव जितबहादुर भाटले ओभरलोडलाई राज्यले नियन्त्रण गर्न नसक्दा करोडौंको क्षति व्यहोर्नुपरेको बताउँछन् । उनले सडक तथा पुलहरु जीर्ण बन्नुको प्रमुख कारण ओभरलोड नै रहेकाले यसमा ध्यान पुर्‍याउन आग्रह गरे ।

नेपाल ट्रक यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष लोकराज पोखरेलले ओभरलोडकै कारण पुल भासिएको र सडक क्षमताभन्दा बढी लोड भएका भारतीय गाडीहरु गुड्दा पुल तथा बाटोमा क्षति भएकाले यसको जवाफ सरकारले दिनुपर्ने बताउँछन् । ‘नेपाली व्यवसायीलाई रोक्ने तर भारतीय गाडीलाई निर्वाध ओभरलोडमा गुड्न दिने, बाटोको क्षमतालाई वेवास्ता गरी अगाडि बढ्ने नियामक निकाय यसको जिम्मेवार हो,’ उनले भने ।

के भन्छ सडक डिभिजन ?

सडक डिभिजनले फाउण्डेशन क्षेत्रमा उत्खनन् गर्दा राजमार्ग क्षेत्रमा रहेका पुल भासिएको तयारी जवाफ दिने गरेको छ । सडक डिभिजन कार्यालय बुटवलका प्रमुख जयलाल मरासिनीले करिब ५० वर्ष पुराना ती पुलको फाउन्डेशन क्षेत्रमा अनावश्यक नदीजन्य वस्तु निकालिनु र सडक क्षमताभन्दा बढी लोडभार साधन सडकमा गुड्न दिइनु मूल कारण भएको तर्क गर्छन् ।

नदीजन्य पदार्थ उत्खनन्का लागि सरकारले यस्ता पुल रहेका क्षेत्रबाट कम्तिमा ५ सय मिटर तल–माथि गिट्टी बालुका उत्खनन् गर्न नमिल्ने कानुन बनाइए पनि आपसी मिलेमतोमा पुलैमुनिसम्म गिटीबालुवा निकालिएको कारण समस्या बढेको मरासिनीको भनाइ छ ।

त्यसैगरी अहिले पूर्वपश्चिम सडकबिस्तार अभियानका क्रममा हाल कायम रहेका पुल नजिक अर्को पुल निर्माणका लागि फाउण्डेशन खन्ने क्रममा पुलको पिल्लर क्षेत्रको जमिन गहिर्याउँदा असर परेको हुनसक्ने उनको भनाइ छ । केही प्राविधिक विषय यी रहे पनि पछिल्लो समय भासिएका, कमजोर बनेका पुलको विषयमा अनुसन्धान शुरु भएको र यसको कारण पत्ता लगाएर सार्वजनिक गर्ने मरासिनीले बताए ।

अहिले यी राजमार्गमा रहेका पुलको १० देखि ४० टन क्षमता रहेको छ तर दैनिक ७० देखि ८० टनसम्मका लोडवाला गाडीहरु दिनहुँ गुडिरहँदा पुराना संरचना खलबलिएको मरासिनीको भनाइ छ ।

सडक डिभिजन कार्यालय बुटवलका इन्जिनियर कृष्णबहादुर कुँवरले आरसीसी प्रविधिको प्रयोग गरी बनाइएका पुल मर्मतका लागि खोलामा पानीको वहाव बढी भएकाले तत्काल सम्भव नभएको बताएका छन् ।

‘मर्मतका लागि पुल उठाएर पिल्लरको फाउण्डेशन बनाउन पानीको वहाव कम भएपछि मात्रै सम्भव छ,’ कुँवरले भने, ‘यदि त्यो विकल्पले काम गरेन भने अन्य विकल्पको बारेमा पनि अध्ययन गर्दैछौं ।’

घोडाहामा तत्कालका लागि डाइभर्सन निर्माण गरी सडक सुचारु गर्न सक्ने विकल्प भए पनि नवलपरासीको तुरियामा भने डाइभर्सन बनाउन असम्भव देखिएको उनले बताए ।

तुरिया खोलामा रहेको ६८ दशमलव ४ मिटर लामो पुलका ५ पिल्लर मध्ये २ वटा पिल्लर भासिएका छन् ।

स्थानीय बिक्रम शर्माले विगतका वर्षहरुमा भन्दा यो वर्ष गिट्टीबालुवाको बढी उत्खनन् गर्दा समस्या भएको बताउँछन् । रातको समयमा समेत गिट्टी बालुका चोरी निकासी हुने तथा स्थानीय निकायलेसमेत मुख्य आम्दानीको रुपमा नदी उत्खनन्लाई प्राथमिकता दिनु गलत भएको उनले दावी छ ।

स्थानीय सरकारले आफ्नो आम्दानी बढाउनका लागि पनि खोलामा लगाउने ठेक्कामा ध्यान नदिने र अनुगमन पनि नगरेका कारण यस्तो समस्या भएको हो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर