निर्णायकको त्यो पक्षपात, दीपकको त्यो अधुरो सपना
कैलाली । ‘छातीमा हल्का चिरिएको घाउ थियो । त्यसमा बरफ लगाइदिए । म आक्रोशित थिएँ, शान्त भएँ । तर, त्यो बेलासम्म मेरो सपना समाप्त भइसकेको थियो,’ दशौँ दक्षिण एसियाली खेलकुद (साग)को पीडादायी पल सम्झँदै दीपक श्रेष्ठले सुनाए । सागमा ह्याट्रिक गरेर देश फर्किने आफ्नो अधुरो सपनाको कुरा गर्दै थिए उनी ।
उनी जब–जब त्यो पल सम्झिन्छन्, उनका आँखा रसाइहाल्छन् । अहिले पनि फेरि रसाएका छन् ।
केहीबेरको मौनतापछि बोले, ‘निर्णायकको त्यो एक गल्तीले… मेरो खेल जीवनमा ठूलो क्षति पुर्याएको छ । ममाथि अन्याय नभएको भए ११औँ सागमा पनि म देशको लागि स्वर्ण ल्याउँथेँ ।’
सन् २००६ मा उनको मनमा गडेको खिल अझै निस्केको छैन । बरु बल्झिरहन्छ, अल्झिरहन्छ, चस्किरहन्छ ।
निर्णयको एक अक्षम्य गल्ती
स्वर्ण जित्न सजिलो छैन । कीर्तिमान बनाउन त अझै गाह्रो छ । त्यो बेला सम्म बैकुन्ठ मानन्धरले सागमा ह्याट्रिक गरेका थिए । १०औैं सागमा कराँतेका दीपकसँगै तेक्वान्दोका दीपक विष्ट र सँगिना वैद्य तीनैजना ह्याट्रिक गर्ने सपना बोकेर श्रीलङ्का उडेका थिए ।
त्यसअघि रेनुका थापा मगर, स्व. दल बहादुर राना मगर र राजु शाक्यले दुई/दई स्वर्ण बनाइसकेका थिए । दीपक आठौँ र नवौँ दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक जितेपछि २००६ मा ह्याट्रिक गर्न श्रीलङ्काको कोलम्बा पुगेका थिए ।
सन् १९९९ मा काठमाडौँमा आठौँ साफ हुँदा कराँते र तेक्वान्दोले नेपालका लागि सर्वाधिक समान १४ स्वर्ण जितेका थिए । तीनै १४ स्वर्ण जित्ने कराते खेलाडीमध्येका हुन् दीपक । घरेलु मैदानमा सर्वाधिक स्वर्ण जित्दै इतिहास बनाएको नेपालले नवौँ सागमा त्यसलाई निरन्तरता दिन सकेन । पाकिस्तानको इस्लामावादमा भएको नवौँ सागमा नेपाली कराँतेले एक मात्र स्वर्ण पदकमा चित्त बुझायो । त्यतिखेर कराँतेको साख जोगाउने खेलाडी उनै दीपक थिए ।
दक्षिण एसियाली खेलकुदमा दोहोरो स्वर्ण पदक जित्ने सीमित खेलाडीमध्ये एक हुन्, उनी । तर, दक्षिण एसियामा स्वर्णको ह्याट्रिक गर्ने उनको लक्ष्य श्रीलङ्कामा समाप्त भयो । अघिल्ला दुई संस्करणमा स्वर्ण जितेका उनले ह्याट्रिकको लक्ष्यसहित दशौँ सागको तयारी गरेका थिए ।
‘मेरो एउटै लक्ष्य सागमा ह्याट्रिक गरेर इतिहास बनाउने थियो । मैले त्यसका लागि कडा मेहनत गरेको थिएँ,’ उनी भन्छन्, ‘तर, निर्णायकको खराब निर्णयले मेरो लक्ष्य पूरा भएन, ह्याट्रिक गर्ने लक्ष्य पनि पूरा भएन । मनमा नराम्रो धक्का लाग्यो ।’
दीपक थप्छन्, ‘म दीपक र सँगिना निकै चर्चामा थियौँ । र, हामीबाट देशले पदकको अपेक्षा पनि गरेको थियो । सेमिफाइनलमा सँगिनालाई भुटानी खेलाडीले हराए । त्यसपछि हामीलाई पनि डर पलाएको थियो । मेरो पहिलो फाइट नै आयोजक राष्ट्रका खेलाडीसँग थियो । त्यसैले मलाई सबैभन्दा बढी दबाब थियो ।’
त्यो बेला कराँतेमा निर्णायक निष्पक्ष नहुनुको शिकार आफू बनेको दीपकको गुनासो छ । ‘त्यो खेल मैले जितेको हो । अझै पनि भिडियो हेर्दा हुन्छ । मैले प्रहार गर्दा पनि निर्णायकले अर्काको नम्बर बढाउने गरेको थियो’ दीपकले कोलम्बोको घटना सम्झिँदै भने, ‘त्यति बेला मलाई साह्रै पीडा भयो । हाम्रो अफिसियलहरूले पनि चासो दिएन । म नखेल्ने भन्दै हिँडे । उता अर्कोलाई खेल पुरा नहुँदै विजेता घोषणा गरियो ।’
निर्णायक निष्पक्ष नहुनु करातेको नराम्रो पक्ष मान्छन्, उनी । ‘खेलाडीको करियर निर्णायकले तहसनहस पार्न सक्छन्,’ उनले भने, त्यही घटनाले मेरो खेल जीवनमा निकै ठूलो समस्या आयो । मैले इतिहास बनाउन पाइनँ ।’
उनी फेरि भावुक भए ।
श्रीलङ्काबाट फर्किएको एक महिनापछि उनले दोहामा १५औं एसियाली खेलकुद खेले । तर, पदक जित्न सकेनन् । ढाकामा भएको ११औं सागको पूर्व सन्ध्यामा उनले खेल करियरबाट संन्यास लिएर प्रशिक्षकको भूमिका रोजे ।
फुटबल खेलाडी बन्न चाहन्थे दीपक
आफ्नो जीवनको महत्त्वपूर्ण ३२ वर्ष नेपाली करातेलाई सुम्पिएका दीपकले बाल्यकालमा फुटबलर बन्ने रहर पालेका थिए ।
‘सानै देखि विद्यालयमा पनि म फुटबलमै व्यस्त हुन्थे’ बाल्यकाल सम्झिँदै, अनि मुस्कुराउँदै दीपक भन्छन्, ‘कराते खेलाडी नभएको भए, म राम्रै फुटबल खेलाडी हुन्थेँ होला ।’
१२ वर्षकै कलिलो उमेरमा उनको काकाले उनलाई थ्री स्टार क्लबको जुनियर टिमका लागि प्रशिक्षणको अवसर मिलाइदिएपछि उनलाई अझै सहज भएको थियो ।
दैनिक १४ किलोमिटरको साइकल यात्रा गरेर जावालाखेल आउजाउ गर्नु, र फुटबल अभ्यास गर्नु उनको दिनचर्या बनेको थियो ।
मध्यम वर्गीय परिवारमा जन्मिएका दीपक फुटबल सिक्दा सिक्दै पोषणको अभावमा लाग्ने टाइपलाइटको सिकार बने । त्यसपछि घरबाट फुटबल खेल्न प्रतिबन्ध लाग्यो । फुटबलले खेलकुदको लत बसाइसकेको थियो । तर, खेल्नै नपाएपछि उनी दिनभर छटपटाउँथे ।
‘त्यो बेला थ्री स्टारमा खेल्न पाएको भए भाग्यको रेखा अर्कैतिर मोडिन्थ्यो होला । त्यो थाहा छैन’ उनी भन्छन्, ‘कराँतेमा जति सफल हुन्थेँ वा त्यो भन्दा बढी हुन्थे त्यो थाहा छैन ।’
….त्यसपछि कराँते रोजे
घरबाट फुटबल खेल्न रोक लगाइसकेपछि उनलाई समस्या भयो ।
मीन कृष्ण महर्जन र राजपाल कर्मचारी उनका छिमेकी थिए । उनीहरू विदेशमा मार्सल आर्ट्स खेलेर स्वदेश फर्किएका थिए । उनीहरूको नाम गोरखापत्रमा छापियो । त्यसले गाउँ भरी ठूलो चर्चा भयो । अनि, दीपकलाई पनि पत्रिकामा आउने नाम र समाचारको लोभ लाग्थ्यो । त्यसैले उनले खेलकुदलाई नै रोजे । खेलाडी त बन्नै थियो, फुटबल नभए पनि उनले कराते रोजे ।
‘उहाँहरूको तस्बिर थिएन तर नाम गोरखापत्रमा आएको थियो । मलाई पनि मेरो नाम गोरखापत्रमा आइदिए कस्तो हुन्थ्यो जस्तो लाग्यो । त्यसैले म खेलकुदमा लागेँ,’ उनले भने ।
दीपक त्यसपछि उनीहरूकै पछि लागे ।
मीन कृष्ण महर्जनले उनले रङ्गशाला ल्याए । २०४९ राजेश जोशीले सितोरियो करातेको तालिम गराए ।
‘२/४ हप्ता उहाँले हेरेपछि चासो दिनुभएको थियो । उहाँको सबै भन्दा बलियो खेलाडीलाई मैले ढाल्दिए । उहाँले त्यो भन्दा माथिल्लो स्थानमा लगिदिनु भयो ’ दीपकले सुरुआती दिन सम्झिए अनि सुनाए ।
राजेश जोशीको अनुरोध पनि सिनियर खेलाडीसँगै राखेर हिरासिंह डङ्गोलले दीपकलाई थप तालिम दिए ।
खेल जीवनको पहिलो प्रतियोगितामा पराजित भएका दीपकले त्यो हारपछि अझै मेहनत बढाएका थिए । जितको इख र भोक अझै बढेको थियो ।
‘२०५० सालमा मध्यममान्चन बाट क्षेत्रीय खेलमा पहिलो खेल हारे’ उनले उत्साहित बन्दै भने, ‘हार्दा त यति रमाइलो लागेको थियो । जिते कति रमाइलो हुन्थ्यो होला जस्तो लाग्यो । अनि जित्नु पर्छ भन्दै कडा मेहनत गरेँ ।’
पोखरामा राष्ट्रिय खेलको छनोट थियो । पश्चिमाञ्चलमा अर्काे क्षेत्रीय खेल भइरहेको थियो । उनले तनहुँ खेले र क्षेत्रीय खेलकुद प्रतियोगितामा प्रथम भए ।
२०५१ सालमा तेस्रो राष्ट्रिय कराँते प्रतियोगितामा तेस्रो भएका दीपक २०५२ जनकपुरमा ‘अल नेपाल च्याम्पियन’ बने । उनी २०५५ सालको चौथो राष्ट्रिय खेलकुद प्रतियोगितामा आफ्नो विधामा प्रथमसमेत भएका थिए ।
सन् १९९७ को १३औँ एसियाली खेलकुद प्रतियोगितामा समर बहादुर गोलेले कांस्य पदक जितेका थिए । उनीसँग दीपक फाइनलमा पराजित भएका थिए ।
केही समयपछि आठौँ सागमा उनले छनोट चरणमा गोलेलाई हराएर आफूले स्वर्ण जिते ।
जसले सिकाए उनैलाई हराए
दीपकलाई रङ्गशालामा राजेश जोशी र हिरासिंह डङ्गोलले लामो समय कराँते सिकाए । तर, एक दिन उनले आफ्नै गुरुलाई हराएर अघि बढे ।
सन् १९९७ एसियाली खेलकुद प्रतियोगिताको छनोटमा राजेश जोशीलाई उनले हराएका थिए ।
‘सुरुमा गुरुलाई कसरी हिर्काउने भन्ने तनाव थियो’ उनले भने ‘मेरो अर्काे गुरुले यो खेलको हो यहाँ गुरु भनेर हेर्ने होइन ड्याङ कि ड्याङ गर्ने भन्नु भयो । भित्र खेल सुरु भएपछि म भारी भए ।’
उनले जोशीलाई मात्रै होइन डङ्गोललाई पनि पराजित गरे । ‘वागमती अञ्चलको छनोटमा फाइनलमा हिरासिंह डङ्गोल पर्नुभयो’ उनले भने, ‘एक स्कोरले आफ्नै गुरुलाई जिते ।’
मीनकृष्ण महर्जनलाई आफ्नो आइडल मान्ने दीपकका पहिलो र प्रिय प्रशिक्षक उनै हुन् ।
‘समय सँगै रोलमोडल परिवर्तन हुँदै जान्छन्, तर मेरो पहिलो आइडल उहाँ नै हो । उहाँबाट मैले धेरै कुरा सिकेको छु’ दिपकले भने ।