मन्त्रीको उम्मेदवार हुँ तर पाउँनै पर्छ भनेर जोड गर्दिनँ : देवेन्द्र पौडेल
देवेन्द्र पौडेल नेकपा माओवादी केन्द्रको स्थायी कमिटीबाट मन्त्री हुन बाँकी एकमात्रै सदस्य हुन् । माओवादी स्थायी कमिटीमा रहेका अधिकांश नेता मन्त्री भइसक्दा र कोही दोहोर्यार, तेह्रयाएर हुँदा पनि पौडल भने एकपटक पनि मन्त्री बनेका छैनन् । सत्ता साझेदारसमेत रहेको माओवादीले फेरि पनि मन्त्रीहरू पठाउँदैछ। यसपाली पौडेल मन्त्रीको सूचीमा अटाउने ठानिएको छ । आज भिडियो अन्तर्वार्तामा नेता पौडेलले माओवादी केन्द्रभित्र मन्त्री छान्नलाई कुनै सकस नभएको बताए । पार्टीले जिम्मेवारी दिएको खण्डमा आफू पनि मन्त्रिपरिषद्मा जान तयार रहेको उनको भनाइ छ । प्रस्तुत छ, पौडलसँगको कुराकानी नेपाल टकमा :
–तपाईँहरूले भने जस्तै ओली प्रवृत्तिलाई त फाल्नुभयो, तर एउटा संशय चाहीँ हामी राजनीतिक द्वन्द्वतिर पो फस्यौँ कि, यो गठबन्धनले राजनैतिक अस्थिरता ल्याउने हो कि भन्ने छ । यो गठबन्धनले देशलाई राजनीतिक स्थायित्व दिन सक्छ ?
खड्गप्रसाद ओली पूर्वप्रधानमन्त्री पनि हुनुहुन्छ, नेकपा (एमाले) को अध्यक्ष पनि हुनुहुन्छ । उहाँसँग हामी सबैले वृहत वामपन्थी एकतासहित त्यो एकता शक्तिशाली संगठन निर्माण गरेर देशमा एउटा समृद्ध समाजवाद निर्माण गर्ने उच्च अभिलाषासहित प्रधानमन्त्री बनायौँ । उहाँलाई नेता मान्यौँ । एकता बचाउन पहल गर्यौँ । त्यो सम्भव भएन । आफ्नो पार्टी, आफ्नो संसदीय दलको त कुरै छोडौँ, हिजो कसैले निकै मेहनत गरेर बनाएको संविधानका कतिपय धाराहरूलाई पनि अपव्याख्या गर्ने प्रकृतिका कामहरू भए । त्यसकारणले देश वाध्यतावश अर्को कोर्षमा प्रवेश गर्यो । त्यसको हामीले खण्डन गर्नुपर्यो । विरोध गर्नुपर्यो । र हामी सबै हिजो नसोचिएका, कल्पना नगरिएका शक्तिहरूसँग गठबन्धन गर्न हामी अगाडि बढ्यौँ।
गठबन्धनको चुनौती भनेको यही बीचबाट ओलीजीले बनाएको भद्रगोल राजनीतिक परिदृश्यलाई सम्हालेर देशको संविधान, लोकतन्त्र र अन्तर्राष्ट्रिय भाइचारा सम्बन्धलाई धेरै गुणात्मक रुपमा प्रगतिको पथमा लिएर जान नसकेपनि एउटा ‘ट्रयाक’मा लिएर जाने चुनौतीसहित गठबन्धन बनेको छ । मलाई जहाँसम्म लाग्छ- केही संशय, आशंका र ढिलासुस्तीहरू प्रकट भएका छन् । तर, त्यसका बाबजुद पनि अर्को कुनै विकल्प छैन । छिट्टै गठबन्धनले यो प्रक्रियाको सुनिश्चित भएर संविधान, लोकतन्त्र, संघीय लोकतान्त्रिक गणतन्त्रका स्थापित मूल्य, मान्यताहरूको सुनिश्चितता नहुँदासम्म गठबन्धन कायम रहिरहन्छ ।
– गठबन्धनलाई बलियो बनाएर लैजाने अरु आधारहरू के-के हुन् ?
दार्शनिक, वैचारिक हिसाबले आधारभूतरूपमा विचार मिल्ने अथवा दृष्टिकोण मिल्नेहरू बीचमा पार्टी एकता हुनसक्छ । यो गठबन्धन भनेको हामीले सहज र स्वभाविक रुपमा बुझ्ने कुरा के हो भने कुनै तात्कालीन कुनै उद्देश्यको निम्ति गरिने एकतालाई हामीले गठबन्धन भन्छौँ । यद्यपि यो शब्दले कहीँ न कहीँ तादाम्यता मिल्छ मिल्दैन त्यो पनि हामीमा छलफल हुने गरेको छ । तर फेरीपनि यो एक प्रकारको संयुक्त मोर्चाको रुपमा प्रकट भएको, तत्कालीन ओलीजीले गरेका क्रियाकलाप र गतिविधिहरूसँग असहमत प्रकट गर्नेहरू बीचको यो मोर्चा हो ।
पछिल्लो स्थितिमा महन्थ ठाकुरजीहरू पनि यो वा त्यो रुपमा प्रतिनिधिसभामा प्रकट हुनुभयो । त्यो अर्कै समीक्षाको विषय होला । तर, मूलरूपमा ओलीजीको क्रियाकलाप र गतिविधिसँग विमति राख्नेहरूको बीचको तत्कालीन कार्यगत एकताको रूपमा प्रकट भएको यो गठबन्धन हो ।
अब यो आधिकारिकरूपमा नै विचारको तहसम्म गएर समाजवाद ल्याउने बेलासम्म सँगै जान्छ, म भन्न सक्दिनँ । तर यसको नेतृत्वमा निकट भविष्यमा नै हुने चुनावहरू पनि छन् । निकट भविष्यमा हुने संयुक्त रुपमा हुने गतिविधि र क्रियाकलापहरू छन् । निकट भविष्यमा हामीले सम्हाल्नुपर्ने, सुधार्नुपर्ने अन्तर्राष्ट्रिय चुनौतीहरू छन् । सम्बन्धका कुराहरू छन् । यी सबै कुराहरूलाई एउटा ट्रयाकमा ल्याउने अवधिसम्म गठबन्धन सकुशल जान्छ । जानुपर्छ र लैजानु पनि पर्छ । अन्यथा फेरी राजनीतिक अस्थिरताको चक्र प्रकट हुन्छ र झन अस्थिरतातिर देश जान्छ ।
त्यसकारणले मैले बुझे अनुसार केही समयसम्म यो गठबन्धनले विचारमा विविधताका बाबजुद पनि आधारभूतरूपमा मिल्ने उद्देश्यहरू खोज्दै, साझा विन्दू खोज्दै अगाडि बढ्ने चुनौती ग्रहण गरेको छ । अगाडि बढ्छ ।
– संसदमा हेर्दा तपाईहरूसँग बहुमत छ, तर संख्यात्मक हिसाबले ठूलो प्रतिपक्ष छ । यसले सडक र सदनमा असर गर्न सक्छ । यसलाई हामीले कसरी हेर्नुभएको छ ?
तत्कालीन प्रधानमन्त्री केपी ओली निकै सकुशल अवस्थामा सदनभित्रको गणितमा पनि, मनोविज्ञानमा पनि, जनमतमा पनि एउटा शक्तिशाली प्रधानमन्त्रीका रूपमा उहाँ आउनुभएको हो । पछिल्लो स्थितिमा अघि भनेजस्तै उहाँका क्रियाकलाप र गतिविधिले परिस्थिति अर्का ठाउँमा पुग्यो । र फलस्वरुप नचाहदा नचाहदै पनि, नराम्रो हो भन्दाभन्दै पनि अध्यादेशको अध्यायमा प्रवेश गर्नुपर्यो । किनभने सदन चलाउनलाई, सरकार चलाउनलाई सदनमा बहुमत चाहिन्छ । सरकारले बिजनेश नदिइकन सदन चल्दैन । सदनमा सरकारको बहुमत भएन भनेदेखि त कुनै पनि बिल पेश हुँदैन । त्यसकारणले गर्दा पनि सरकारको बहुमत सदनमा कहीँ न कहीँ प्रकट हुनुपर्छ । त्यसो भएर अध्यादेशको बाटो लिनुपर्यो । किनभने प्रतिगमनलाई रोक्ने भनेको हुँदाखेरी प्रतिगमनलाई सच्याउने उद्देश्यसहित अध्यादेश आएर सदनमा बहुमत पुर्याइएको हो । त्यसको निम्ति तत्कालिन नेकपा (एमाले) को विभाजन अनिवार्य थियो । विभाजनको लागि सहज बनाउने उद्देश्यसहित अध्यादेश आयो । र अध्यादेशले कहीँ न कहीँ एउटा आकार लिइसकेपछि सदन भित्रपनि गठबन्धन बहुमतको रुपमा छ ।
हालको प्रतिपक्षी जसको संसदीय दलको नेता केपीजी हुनुहुन्छ । उहाँहरूको पनि गणितिय रुपमा उपस्थिति छ । तर झन्डैझन्डै प्रतिनिधिसभाको आयु भनेको डेढ वर्ष हो । डेढ वर्षसम्म यो गठबन्धन जान्छ । त्यसकारणले गठबन्धनका सहभागी पार्टीहरू डेढ वर्ष सँगै जाने एकप्रकारको प्रतिबद्धता प्रकट गरेको हुँदाखेरी जतिसुकै ठुलो संख्यामा प्रतिपक्षी रहेपनि सरकार आफ्ना क्रियाकलाप र गतिविधिलाई अब सकुशल भएर अगाडी बढ्छ । त्यो कुरा निर्वाचन आयोगले गरेको पछिल्लो निर्णयले एकप्रकारले इंकित गरिसकेको छ ।
–अध्यादेशले अरु पार्टी विभाजन त भए, तर माओवादी भित्रपनि त्यसको असर पर्नसक्छ नि । कतै माओवादी केन्द्र पनि विभाजन हुने त होइन ?
अहिले भर्खरै हामी केन्द्रीय समितिको बैठक बस्यौँ । केन्द्रीय समितिको बैठक बस्दाखेरी केन्द्रीय समितिको बैठकको एजेण्डा तयार गर्न स्थायी समितिको बैठक बस्यौँ । केन्द्रीय समितिको बैठक बसिसकेपछि फेरि स्थायी समितिको बैठक बस्यौँ र पुरै देशभरी कार्यविभाजन गरेर हामी गएका छौँ । अधिकाशं वडाहरूमा वडा सम्मेलन भइसकेको छ । मैले यो दृष्टान्त किन पेस गर्न खोजेको भने अहिले भएका पार्टीहरू मध्ये सबैभन्दा सकुशल पार्टी, आन्तरिक अन्र्तविरोध नभएको, विचार, नीति र नेतृत्वप्रति तादाम्यता मिलेको पार्टी भएको हुँदाखेरी यहाँले भनेजस्तै कतै त्यो २० प्रतिशत संख्याको निर्णयले माओवादी पार्टीलाई पनि प्रभाव पर्छ कि भन्ने जो बाहीर हल्ला गरेका छन्, त्यस्तो कुनैचाहीँ गुञ्जायस छैन । सबभन्दा सकुशल, सबभन्दा दृढतापूर्वक अगाडि बढ्ने स्थितिमा माओवादी छ र त्यसलाई चुनौतीको रुपमा ग्रहण गरेको छ । यो अवसरलाई पार्टी पुर्नगठनको चुनौतीको रुपमा हामीले प्रयोग गर्न सक्छौँ कि सक्दैनौँ भन्ने चुनौती चाहीँ छ । तर अब दायाँबायाँ हुने अवस्था छैन ।
–सरकारले कहिलेसम्म पूर्णता पाउला ?
मैले बुझे अनुसार एक, दुई दिनभित्रमा हुन्छ । यद्यपि कतिपयको अनुमान चाहीँ निर्वाचन आयोगले सम्बन्धित दलका जो अस्ति अध्यादेशबाट प्रभावित भएका दलहरूको निर्वाचित जनप्रतिनिधिहरूलाई २२ गतेसम्म समय दिइएको छ । त्यसो भएर २२ गतेसम्म पर्खिने कि भन्ने प्रसंगहरू पनि चलेका छन् । तर मैले बुझे अनुसार, हिजो र आज भएका गठबन्धनका भेटघाट, कुराकानी र छलफलले दुई, तीन दिन भित्रमा सरकारले पूर्णता प्राप्त गर्छ ।
– सरकारले गर्नुपर्ने कामहरू के-के र कस्तो हुनुपर्छ ?
यो एभरेजको सरकारको रूपमा होला भन्ने म पूर्वानुमान गर्न सक्छु । राजनीतिक विश्लेषकको हिसाबले स्वतन्त्र रुपमा आफ्नो भनाई राख्दाखेरी कुनैपनि चुनावपछि प्राप्त भएको मतको आधारमा बन्ने सरकारको आयु र गति फरक प्रकारको हुन्छ । यो आकस्मिक रुपमा समयको मध्यावधिमा भएका राजनीतिक उतारचढावका बीचबाट प्रकट भएको, सिर्जना भएको, उम्रिएको यो सरकार हो ।
अघिल्लो सरकारले नीति, कार्यक्रम, बजेट ल्याइसकेको अवस्था छ । त्यो नीति, कार्यक्रम र बजेटलाई प्रक्रियागत हिसाबले कानूनी रुपमा अगाडि बढाइसक्नुपर्ने बाध्यात्मक परिस्थिति, त्यसका बीचबाट पनि केही सक्ने कामहरू गर्नसकिन्छ कि भनेर खोजिनीति गर्नुपर्ने अवस्था भएको हुँदाखेरी मैले जो एभरेज भने, एभरेजमा यसले काम गर्न सक्छ ।
यसका पहिलो चुनौती भनेको स्वास्थ्यको चुनौती हो । आम नेपाली नागरिकले सबैले खोप समयावधिभित्र प्राप्त गरिसक्नुपर्छ । त्यसको प्रक्रिया र त्यसको अध्याय विगतको सरकारले पनि केही गरेको थियो । सबै कुरा नेगेटिभ हामी भन्दैनौँ । त्यसलाई निरन्तरता दिदैँ थप आम नागरिकलाई, सबै नागरिकलाई खोप पु¥याउने गरी यसले आफ्नो प्रक्रियाको सुरुवात गरेको छ र गर्नुपर्छ । त्यो चुनौती स्वीकार गर्नुपर्छ । दोस्रो, खासगरी विदेशसित हाम्रा बिग्रेका सम्बन्धहरू न त हाम्रो चिन सँग सुमधुर सम्बन्ध बन्यो, न त हाम्रो भारतसँग सम्बन्ध बन्यो । न त हाम्रा लिम्पियाधुरा, लिपुलेक र कालापानीका मुद्दाहरू सहजीकरण भए, टेबुल भएर अगाडी बढे, न त हामीले व्यापार, पारवहान, ट्रेड लगायतका कुराहरूलाई ठोस रुपमा अगाडि बढाउन सकेनौँ । गफै गफमा हाम्रो विगत वित्यो । त्यसकारणले धेरै गर्न नसकेपनि अन्तर्राष्ट्रिय सम्बन्ध सुधार गर्ने दोस्रो चुनौती हो ।
यो गठबन्धन विचारको तहसम्म गएर समाजवाद ल्याउने बेलासम्म सँगै जान्छ, भन्न म सक्दिनँ । तर यसको नेतृत्वमा निकट भविष्यमा नै हुने चुनावहरू पनि छन् । चुनावसम्म हामीसँगै जान्छौं ।
तेस्रो चुनौती भनेको जनताले बढी उठाएको प्रश्न भनेको सुशासनको प्रश्न हो, भ्रष्टाचारको कुरा हो । भ्रष्टाचारलाई न्यूनिकरण गर्ने । शुन्य सहनशिलतामा पुर्याउने, जिरोमा पुर्याउने भन्ने कुरा गफै होला । तर कमसेकम थप हुन नदिने र नियन्त्रण गर्नको निम्ति यो सरकारले भुमिका खेल्यो भने त्यो सरकारको तेस्रो चुनौती हो ।
चौथो भनेको चालु योजनाहरू निरन्तरता दिने र सम्भव भएका विकास निर्माणका कामहरूलाई पनि निरन्तर गरेर अलिकता तंग्रिन लागिरहेको कोरोना पछिको अर्थप्रणालीलाई । अस्ति प्रस्तुत भएको आर्थिक प्रतिवेदनले पनि देशको आर्थिक चित्र कस्तो छ भन्नेकुरा प्रकट गरेको छ । त्यसलाई सुधार गर्ने र विकास निर्माणका कामलाई नियमित चालु बजेटको साथसाथै निरन्तरता दिने कुरा चाहीँ चौथो यो सरकारका चुनौतीहरू हुन् । यी कुराहरू मोटामोटी रुपमा पुरा गर्यो भनेदेखि यसको आयु अब डेढ वर्ष छ । यो सरकारलाई सफल सरकारको रूपमा मान्न सकिन्छ ।
–मन्त्रिपरिषद्मा जाने नेताहरू छान्न पार्टीलाई सकस परेको हो ? आकांक्षी धेरै भएका हुन् मन्त्रिपरिषद्मा जानका लागि ?
यो सिस्टममा गइसकेपछि कसैले आकांक्षा प्रकट गर्नु उसको अधिकारको कुरा हो । संघीय संसदको कुनैपनि सदस्यले, चाहे राष्ट्रियसभामा होस् वा प्रतिनिधिसभामा होस् । उसले जिम्मेवारी प्राप्त गरेर थप भुमिकाको निम्ति कतै माग गर्नु, भनसुन गर्नु, उसको अधिकारको कुरा हो र हामीले संविधानमा पनि त्यो व्यवस्था गरेका छौँ । त्यसकारणले आकांक्षा र सीमित सिटको सन्तुलन कसरी मिलाउने भन्ने कुरा लिडरशिपको कुरा हो ।
लिडरशिपले कतिपय पार्टीभित्रका जिम्मेवार व्यक्ति र व्यक्तित्वहरूलाई कुन कुन भुमिकामा कसरी सेट गर्ने भन्ने कुरा कला पुर्याएर, सबैको भूमिका सुनिश्चित हुनेगरी, कतिपय पार्टीका जिम्मेवारीहरू पनि होलान् जस्तो अहिले सरकारको नेतृत्व गरेको पार्टी महाधिवेशनको प्रक्रियामा छ । माओवादी पार्टीले पनि सम्मेलनको घोषणा गरिरा’छ । अर्को पार्टी पुर्ननिर्माणको प्रक्रियामा छ । पार्टी र सरकारको कामको बीचको कार्यविभाजन सम्बन्धित पार्टीका लिडरले मिलाउने कुरा हो । मलाई जहाँसम्म लाग्छ, अरु पार्टीको पनि मिलाउलान् । हाम्रो पार्टी त्यस्तो ठुलो समस्यामा बाहीर प्रस्तुत भएजस्तो दिनदिनै मन्त्रिमण्डल छान्नको निम्ति बैठक, दिनदिनै रस्साकस्सी, दिनदिनै घेराबन्दी, दिनदिनै अप्ठ्यारोको स्थितिमा छ कि भन्ने अनुमान मात्रै हो त्यस्तो स्थिति छैन । दुईजना मन्त्री गइसक्नुभाछ । अब बाँडचुड गर्दाखेरी ४, ५ भन्दा बढी पक्कैपनि आउँदैन । चार, पाँचजना छान्ने कुरा दिनदिनै बहस गर्ने, मिटिङ गर्ने विषय होइन । प्रचण्ड पार्टीको अध्यक्ष भएको हुँदाखेरी उपयुक्त निर्णय गर्ने अधिकार उहाँलाई दिएका छौँ । सम्भवत्ः यो कारणले अल्झेको भन्दापनि विभिन्न दलहरू बीचका विभिन्न आन्तरिक कारणले र निर्वाचन आयोगसँग सम्बन्धित कारणले अल्झेको हुँदाखेरी यो विषय लामो भयो । लामो हुनुहुन्थेन । देशप्रति, जनताप्रति अली गम्भीर बनेर, अलि परिपक्व बनेर जान सक्नुपथ्र्यो । तर मान्छे छान्न नसकेर चाहीँ रस्साकस्सी परेर लामो भएको होइन । यो सहज रुपमा टुंगिन्छ ।
– मन्त्रीको लागि तपाईंको आफ्नो दाबेदारी चाहीँ छ कि छैन ?
मैले व्यक्तिगतरूपमा भन्ने विषय भन्दा पनि पार्टीले निर्णय गर्ने विषय हो । मन्त्री, प्रधानमन्त्रीको आशा र अपेक्षा गरेर हामी राजनीतिमा लागेको होइन । निकै कहालीलाग्दो स्थितिमा जनताको परिवर्तन र मुक्तिका निम्ति लागेको हो । विभिन्न साथीहरूले विभिन्न चरणमा यो प्रकृतिको जिम्मेवारीहरू पनि सम्हाल्दै आएको हुँदाखेरी त्यो प्रक्रियाको कहीँ न कहीँ जिम्मेवारी प्राप्त गर्ने इच्छा, आकांक्षा, चाहाना मेरो पनि होला । तर त्यो भन्दा ठुलो कुरो पार्टीको निर्णय हो । त्यसकारण पार्टीले जे निर्णय गर्छ त्यो निर्णयलाई दृढतापूर्वक पालना गरेर अब तपाईँ पार्टीको निम्ति राष्ट्रिय सम्मेलन छ यसमा काम गर्नुस् भने भने म त्यसैमा काम गर्छु ।
होइन, सरकारको नेतृत्व गरेर जानुस् भनेछ पार्टीले भनेपनि त्यसको निम्ति म एकप्रकारको उम्मेदवार हुँ । अरु भन्दा अब्बल हुँ मैले भन्दिनँ । एकप्रकारले त्यो पनि जिम्मेवारी प्राप्त गर्ने प्रतिनिधिसभा सदस्य भएको हुँदाखेरी उम्मेदवार हुँ । यही अर्थमा मलाई बुझ्दा हुन्छ तर हुने, नहुने कुराले मलाई कुनै मानसिक तनाव पनि दिदैन । केही पनि छैन । म आफ्नो काममा अगाडि बढ्छु ।