स्वदेश फर्केर झलनाथले भने- मैले नयाँ जीवन पाएँ, सास रहुञ्जेल देशसेवामा लाग्छु
काठमाडौं । एमालेबाट विभाजित भएर बनेको नेकपा (एकीकृत समाजवादी) पार्टीका वरिष्ठ नेता झलनाथ खनाल भारतको नयाँ दिल्लीमा लामो उपचारपछि स्वदेश फर्किएका छन् । उनले नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा आफ्नो मिर्गौला प्रत्यारोपण गराएका थिए ।
त्रिभुवन विमानस्थलमा खनाललाई पार्टीका अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरुले स्वागत गरे । त्यसक्रममा आयोजित पत्रकार सम्मेलनमा खनालको लिखित मन्तव्य पढेर सुनाइएको थियो । मन्तव्यमा खनालले आफूले पुनर्जीवन पाएको बताएका छन् ।
‘मेरो शल्यक्रिया शतप्रतिशत सफल भएको छ, मेरो यो नाफाको जीवन हो,’ खनालले भने, ‘उमेरले ७१ वर्ष पार गरिसकेँ, अब सास रहुञ्जेल यो देशको सेवामा समर्पित रहन्छु । ’
खनालले आफूलाई पत्नीकी दिदीकी छोरी मेरिना चित्रकारले मिर्गौला दिएको भन्दै उनीप्रति आभार प्रकट गरे । साथै आफ्नो उपचारमा सहयोग गर्ने तत्कालीन ओली नेतृत्वको सरकार र वर्तमान देउवा नेतृत्वको सरकारलाई पनि उनले धन्यवाद दिएका छन् ।