एकीकृत समाजवादीको यात्राः जबजलाई टेक्ने तर नबोक्ने
काठमाडौं । एमालेका पुराना नेता प्रदीप नेपालले जनताको बहुदलीय जनवाद (जबज)मा कुरा नमिलेको भन्दै नवगठित एकीकृत समाजवादी त्यागको घोषणा गरे।
जबज नरहने भएपछि आफू पनि पार्टीमा नरहेको उनको भनाइ छ। ‘माधव कमरेड, म केपीसँग जान्न । किनभने तानाशाही प्रवृत्तिको म सधैं विरोधी हुँ । तपाईं पनि झेली कुरा गर्न सिक्नु भएछ’, नेता नेपालले फेसवुकमा लेखेका छन्, ‘बारम्बारको कुराकानीमा मैले जबज हुँदैन भने मेरो नाम नलेख्नुस भनेको थिएँ । तर आखिरमा तपाईंबाट पनि मैले धोकाकै उपहार लिएर जानु पर्ने भो । बिदा ।’
माधव नेपाल नेतृत्वको पार्टीले बैज्ञानिक समाजवादलाई रणनीतिक लक्ष्य बनाएपछि एमालेभित्र बौद्धिक नेताका रुपमा चिनिने शंकर पोखरेलले यसप्रति टिप्पणी गरे । जबजले समाजवादको आधार तयार गर्ने मात्र नभइ सिद्धान्तका रुपमा समाजवाद निर्माणमा मार्गदर्शन गर्ने सामर्थ्यसमेत राख्ने उनको भनाइ छ।
यसलाई नअंगालेको एकीकृत समाजवादी पार्टी नै बन्न नसक्ने उनको ठोकुवा छ ।
‘जनताको वहुदलीय जनवादले समाजवादको आधार तयार गर्ने सामर्थ्य मात्रै राख्दैन, सिद्धान्तका रुपमा यसले समाजवाद निर्माणमा मार्गदर्शन गर्ने सामर्थ्यसमेत राख्दछ,’ पोखेरेलले फेसबुकमा लेखेका छन, ‘जबजको सान्दर्भिकता सकियो भनेर पार्टीबाट बाहिरिनेहरुले आफैंले स्वामित्व लिएको नवौं महाधिवेशनको दस्तावेजलाई पढ्न विर्सेजस्तो छ। वास्तविक धरातलमा नटेकिएको राजनीतिक कार्यदिशा र कार्यक्रम अघि सार्नु भनेको हिमाली क्षेत्रमा धान र तराईमा फाफरको खेती गर्न खोज्नुजस्तै हो ।’
एकीकृत समाजवादीले जबजलाई समाजवादसम्म पुग्ने अधारमात्रै बनाएपछि र त्यसको विरोधमा दुई नेता उत्रिएपछि मदन भण्डारीले प्रतिपादन सिद्दान्त पुनः चर्चामा आएको छ। यद्यपि यसबारे एमालेभित्रै पनि एकमत छैन । एमालेकै एउटा पक्ष यसलाई सर्लक्कै अगांलिरहनु पर्ने मत राख्छ भने अर्को पक्ष परिवर्तित सन्दर्भमा यसको सान्दर्भिकता सकिएको धारणमा छ।
विशेष गरी घनश्याम भुसालहरु जबज अर्धसामन्ती अर्धऔपनिवेशिक मुलुकमा गरिने क्रान्तिको सिद्धान्त भएको र मुलुक त्यो चरणमा नरहेकाले यसको ‘च्याप्टर क्लोज’ भएको विश्लेषण गर्छन् ।
जबजमा टेकेर समाजवादको यात्रा
एकीकृत समाजवादीले पार्टीको रणनीतिक लक्ष्य ‘लोकतान्त्रिक मूल्य-मान्यतासहितको वैज्ञानिक समाजवाद’लाई बनाएको छ। पार्टीका लागि बनाएको घोषणापत्रमा ‘जनताको बहुदलीय जनवादका मूल्य मान्यताहरूको रक्षा र थप विकास गर्दै समाजवादको दिशामा अगाडि बढ्ने’ उल्लेख छ ।
यसबाट एकीकृत समाजवादीले जबजमा टेकेको तर नबोकेको थाहा लाग्छ । ‘यस पार्टीको रणनीतिक लक्ष्य लोकतान्त्रिक मूल्य–मान्यतासहितको वैज्ञानिक समाजवाद हो,’ घोषणपत्रमा भनिएको छ, ‘यस पार्टीले शान्तिपूर्ण प्रतिस्पर्धामार्फत श्रेष्ठता हासिल गर्ने मान्यता राख्दछ ।’
जबजका विशेषता अंगाल्ने उल्लेख गर्दै घोषणापत्रमा भनिएको छ, ‘यो पार्टी संविधानको सर्वोच्चता, विधिको शासन, मानव अधिकार एवम् मौलिक हकको प्रत्याभूति, शक्ति पृथकीकरणको सिद्धान्त, बहुलवादी खुला समाज, बहुदलीय प्रतिस्पर्धा, आवधिक निर्वाचन, जननिर्वाचित प्रतिनिधिहरूद्वारा सरकार सञ्चालन, प्रतिपक्षको संवैधानिक व्यवस्था र स्वतन्त्र न्यायपालिकाजस्ता आधुनिक लोकतन्त्रका विश्वव्यापी मूल्य मान्यतामा प्रतिबद्ध छ र जनताको बहुदलीय जनवादका मूल्य मान्यताहरूको रक्षा र थप विकास गर्दै समाजवादको दिशामा अगाडि बढ्न चाहन्छ ।’
घोषणापत्रले जबजलाई आधार बनाउने भनेको भए पनि एमालेमा भने माधवले त्यसलाई छाडेको रुपमा चर्चा भइरहेको छ । एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनाले पनि जबजको युग सिद्धिएको र समाजवादको यात्रा गर्नुपने टिप्पणी गरेका थिए।
८ भदौमा चन्द्रागिरीमा आयोजित केन्द्रीय कमिटी बैठकलाई दिल्लीबाट भर्चुअल सम्बोधन गर्दै उनले भनेका थिए– ‘कमरेडहरु, अब जबजको युग सिद्धियो, त्यसलाई कसैले अनुसरण गर्न सक्दैन, अब हाम्रो प्रष्ट कार्यक्रम समाजवादमा रुपान्तरणको कार्यक्रम हो । हामीले युग अनुसारको बोली बोल्नुपर्छ । युग अनुसारको कार्यक्रम बनाउनुपर्छ ।’
खनालको यो टिप्पणी र नेपाल र पोखरेलको असन्तुष्टि कतै एकीकृत समाजवादीले जबज छाडेको त होइन ? भन्ने परिरहको छ। जबजमै पीएचडी गरेका एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य एवम् राष्ट्रियसभा संसदीय दलका नेता बेदुराम भुसाल भने जबज छाडेको नभइ त्यसमा टेकेरै थप अघि बढ्न चाहेको बताउँछन् ।
‘जनताको बहुदलीय जनवादको मुल्य र मान्यताको रक्षा र विकास गर्दै समाजवादको दिसामा अगाडि बढ्ने भन्ने छ,’ उनले नेपाल प्रेससँग भने, ‘जबज भनेको पुँजीवादी जनवादी क्रान्तिको कार्यक्रम हो, समाजवादी क्रान्तिको कार्यक्रम होइन त्यो । तर, यसका केही राम्रा पक्षहरु छन्, जसलाई पछिसम्म अंगाल्नुपर्ने हुन्छ ।’
यथास्थितिमा जबज पर्याप्त नरहेको भन्दै उनी यसलाई परिमार्जन गरेर समृद्ध बनाउनुपर्ने बताउँछन् ।
‘यतिले मात्रै पर्याप्त हुँदैन,’ भुसालको भनाइ छ, ‘जबज पन्चायतकालमा अगाडि सारेको सिद्दान्त हो । २०४९ सालमा यसलाई हामीले अन्तिम रुप दिएका थियौं । त्यसयताको ३० वर्षमा समाजमा धेरै परिवर्तन भएको छ। त्यसअनुसार जबजलाई परिमार्जन गर्नुपर्ने हुन्छ । हिजो जस्तो थियो, त्यस्तै मानेर बस्नु भनेको जडसूत्रवादी कुरा हो ।’
एमालेमा जबज ‘इमोसनल इस्यू’
मदन भण्डारी, सूर्य चिह्न र जबज एमालेजनका लागि निकै भावनात्मक विषय हुन् । एमालेबाट विद्रोह गरेर एकीकृत समाजावादीका नेता, कार्यकर्ताहरुको पनि यसमा भनावनात्मक साइनो छ।
यो ‘सेन्टिमेन्ट’ले दलभित्र र चुनावमा समेत निकै काम गर्ने भएकाले एमालेमा हम्मेसी जबजको कसैले पनि विरोध गर्न आँट गर्दैनन् । माधव नेपाललाई पनि यसबाट बच्दै नयाँ यात्रा गर्ने जोखिमपूर्ण यात्रा हिँड्नु पर्ने बाध्यता छ ।
२०४९ साल माघमा एमालेको पाँचौं महाधिवेशनमा तत्कालीन महासचिव जननेता मदनकुमार भण्डारीले जबजको दस्तावेज पेस गरेका थिए । पार्टी भित्र लोकप्रिय छवि बनाएका भण्डारीको लगत्तै रहस्यमय दुर्घटनामा निधन भएपछि उनले प्रतिपादन गरेको जबज ‘इमोसनल इस्यू’समेत बन्न पुगेको छ ।
माओवादी केन्द्र र एमालेबीच एकीकरण भइ नेकपा बन्दा भने जबजलाई थाती राखिएको थियो । त्यतिबेला नेकपाको रणनीतिक लक्ष्य ‘समाजवाद उन्मूख जनताको जनवाद’ बनाइएको थियो । एमाले अंगाल्दै आएको जबज र माओवादीले बोक्दै आएको २१ औं शताब्दीको जनवादलाई थाती राखेर ‘जनताको जनवाद’लाई रणनीतिक लक्ष्य बनाइएको थियो ।
तर, केपी ओली पक्षले मदन भण्डारी फाउण्डेनशनमार्फत जबजलाई अगाडि बढाएपछि नेकपामा विवाद शुरु भएको थियो । यस विषयमा विवाद यतिसम्म बढेको थियो कि ओलीमाथि तत्कालीन नेकपा अध्यक्ष पुष्पकल दाहाल ‘प्रचण्ड’ले लगाएको ‘अभियोग पत्र’मा पनि त्यो विषय उल्लेख गरिएको थियो ।
‘क. केपी शर्मा ओलीले फाउण्डेशनको नाममा राज्यशक्तिको दुरुपयोग गर्दै देशव्यापी रुपमा गुट संयन्त्र निर्माण गर्न प्रोत्साहन दिनुभयो,’ उनको अरोप थियो, ‘स्थायी कमिटीको बैठकले प्रतिष्ठानमार्फत भइरहेका गुटबन्दीजन्य काम रोक्ने निर्णयका वाबजुत देशव्यापीरुपमा मदन भण्डारी फाउण्डेसनका नामबाट पार्टी विरोधी प्रचार र गुटबन्दी बढाइ नै राखिएको छ ।’
हाल एमाले विभाजनमा माधव नेपाललाई साथ नदिएका दोस्रो पुस्ताका अधिकांश नेताहरु अहिलेको अवस्थामा हुबहु जबज अंगाल्ने कुरामा विमति राख्छन् । यस विषयमा अझैं पनि एमालेमा विवाद भइरहने देखिन्छ ।
‘जबजमै टेकेर समाजादसम्मको यात्रा गर्छौं’
बेदुराम भुसाल
स्थायी कमिटी सदस्य, नेकपा (एकीकृत समाजवादी)
जनताको बहुदलीय जनवादको मुल्य र मान्यताको रक्षा र विकास गर्दै समाजवादको दिशामा अगाडि बढ्ने भन्ने छ। जबज भनेको पुँजीवादी जनवादी क्रान्तिको चरणको कार्यक्रम हो, समाजवादी क्रान्तिको कार्यक्रम होइन त्यो ।
तर, यसका केही राम्रा पक्षहरु छन्, जसलाई पछिसम्म अंगाल्नुपर्ने हुन्छ । खासगरी केही सैद्दान्तिक, दार्शनिक पक्षहरु छन् । यसमा तीन वटा विशेष मान्यता छन् । एउटा चाहिँ विचारको विविधतालाई स्वीकार गर्ने मान्यता छ । यसले एकल विचारको दृष्टिकोण राख्दैन, बहुविचारको दृष्टिकोण राख्छ । समाजमा बहुविचार छन् भन्ने मान्यता राख्छ । र, पार्टी भित्र पनि बहुविचार हुन सक्छन् भन्ने मान्यता राख्छ जुन कुरा अहिले केपीवालाहरुले निषेध गरेका छन् । पार्टी भित्रको बहुविचारलाई निषेध गरेका छन् -अनि गफ हाँक्छन् जबजका । यसको मुख्य मुल्यलाई हामी छोड्दैनौं ।
जबजको दोस्रो विशेषता भनेको विधि र पद्धतिमा चल्ने भन्ने हो । पार्टीलाई पनि, समाजलाई पनि, राज्यलाई पनि विधि र पद्दतिमा चलाउनुपर्छ, हामी सबै विधि र पद्धतिमा चल्नुपर्छ भन्ने हो ।
तेस्रो भनेको जनपक्षीय चरित्र र जनपक्षीय आचरणमा चल्नुपर्छ भन्ने हो । यी तिनवटै चिज अहिले केपीवालहरुसँग छैन् । हामीले यही विषयमा नै त्यहाँ लडाइँ लडेका हौं। हामी तिनवटै विषयलाई अंगालेर जान्छौं ।
तर, यतिले मात्रै पर्याप्त हुँदैन । जबज पन्चायतकालमा अगाडि सारेको सिद्दान्त हो । २०४९ सालमा यसलाई हामीले अन्तिम रुप दिएका थियौं । करिब ३० वर्षमा त समाजमा धेरै परिवर्तन भएको छ । त्यसअनुसार जबजलाई परिमार्जन गर्नुपर्ने हुन्छ । यसको मुलभूत मान्यताको रक्षा गर्नुपर्छ तर यसको विकास गर्नुपर्छ । हिजो जस्तो थियो त्यस्तै मानेर बस्नु भनेको जडसूत्रवादी कुरा हो ।
याे पनि पढ्नुस्
यस्तो थियो मदन भण्डारीले २९ वर्षअघि प्रस्ताव गरेको जबज (पूर्णपाठ)