सर्वोच्चको फैसला नआउँदै निर्वाचन आयोगले कल्पनाको ठाउँमा निर्मलालाई बनायो सांसद – Nepal Press

सर्वोच्चको फैसला नआउँदै निर्वाचन आयोगले कल्पनाको ठाउँमा निर्मलालाई बनायो सांसद

रूपन्देही । लुम्बिनी प्रदेशसभामा जनता समाजवादी पार्टी (जसपा) ले कारबाही गरेपछि रिक्त भएको प्रदेशसभा सदस्यमा रुपन्देहीकी निर्मला मुडभरी भट्टराई निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ ।

यसअघि समानुपातिक सांसद रहेकी कल्पना पाण्डेलाई कारबाही गरी जसपाले हटाएको थियो । त्यो निर्णयविरुद्ध उनीसहित ४ सांसद सर्वोच्चमा गएका थिए । उक्त मुद्दाको अन्तिम फैसला भएको छैन । भदौ २१ मा तोकिएको फैसला नआउँदै आयोगले कल्पनाको स्थानमा निर्मलालाई ल्याएको हो ।

जसपा नेपालका तर्फबाट लुम्बिनी प्रदेशसभा सदस्य कल्पना पाण्डे लम्सालको रिक्त भएको पदमा समानुपातिक मधेशी समावेशी समूहबाट निर्मला निर्वाचित गरेको निर्वाचन आयोगले जनाएको छ ।

आयोगका सचिव सुरेश अधिकारीले लुम्बिनी प्रदेशसभा सचिवालयलाई पत्र पठाउँदै निर्मला निर्वाचित भएको जानकारी गराएका छन् । साउन ३२ गते जसपा केन्द्रीय कार्यकारिणी बैठकको निर्णयअनुसार बन्दसूची उम्मेदवारमध्येबाट निर्मलालाई आयोगको भदौ १० गते बैठकले रिक्त पदमा निर्वाचित गरेको उल्लेख गरेको छ ।

जसपाले एमालेका शंकर पोखरेल नेतृत्वको सरकारमा मन्त्री भएको भन्दै कल्पना पाण्डेसहित सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादवलाई कारबाही गरी प्रदेशसभा सदस्यबाट निलम्बन गरेको थियो । कल्पनाको सांसद पद रिक्त भएपछि निर्मलालाई सिफारिस गरिएको थियो । उक्त सिफारिसअनुसार आयोगले निर्मला निर्वाचित भएको घोषणा गरिसकेको जसपा लुम्बिनीका मुख्य सचिव यज्ञ पोखरेलले बताए । उनले एक हप्ताभित्र निर्मलाले सपथ लिनेसमेत जानकारी दिए ।

कारबाहीमा परेकी सांसद पाण्डे गम्भीर बिरामी परेर काठमाडौंमा उपचाररत छिन् । उनीसँगै कारबाहीमा परेका नेता सन्तोष पाण्डेले अदालतमा विचाराधीन मुद्दामा टुंगो नलाग्दै संवैधानिक अंगबाट गरिएको निर्णयले आश्चर्यमा पारेको बताए ।

‘भदौ २१ गते मुद्दाको टुंगो लाग्दैछ तर निर्वाचन आयोगले हतारमा नयाँ सांसद पठाउँछ, योभन्दा नौटंकी के होला,’ उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर