एमसीसीविरुद्ध नेकपा एसनिकट १४ भातृ संगठन, विरोधमा उत्रिन आह्वान (संयुक्त वक्तव्यसहित)
काठमाडौं । नेकपा (एस) निकट विभिन्न १४ भातृ संगठनहरुले एमसीसी पारित गर्न नहुने निष्कर्ष निकालेको छ। सोममबार बसेको भातृसंगठनहरुको बैठकपछि संयुक्त रुपमा जारी गरिएको वक्तव्यमा विभिन्न ५ बुँदामा यो देशहित विपरित भएको उल्लेख गरिएको छ।
‘अहिले फेरि सरकारले संसद अधिवेशन बोलाएको, विभिन्न संचार माध्यमहरुमा मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारित गर्नेबारे समाचारहरु प्रकाशन भएको विषयमा यसै साता हुने एमसीसी आयोजनाका उपाध्यक्ष फतेमा सुमारको हुने भनिएको नेपाल भ्रमणले हामीलाई थप सशंकीत बनाएको छ,’ वक्तव्यमा भनिएको छ, ‘त्यसैले हामी नेकपा (एकिकृत समाजवादी) निकट जनवर्गीय संगठनहरुको आज बसेको बैठकले एमसीसी पारित गर्न नहुने निष्कर्ष निकाल्दै देशको वर्तमान तरल राजनीतिक परिस्थीति, कोभिड महामारीबाट जनताहरु प्रताडीत भएको अवस्था तथा देशभर बाढी, पहिरो लगायतका प्रकोपबाट जनधनको क्षती भइरहेको यस विषम परिस्थीतिमा देशी विदेशी प्रतिक्रियावादी
र साम्राज्यवादीहरुबाट हुनसक्ने षडयन्त्रप्रति सजग हुन सम्पूर्ण जनसमुदायमा हार्दिक अपिल गर्दछौं ।’
एमसीसीको विरोधमा उत्रिन पनि ती भातृसंगठनहरुले आह्वान गरेका छन्। ‘साथै हामी सरकार, सम्पूर्ण राजनीतिक पार्टीहरु, सांसदहरू लगायत नागरिक समाजको निम्न बिषयमा ध्यानाकर्षण गर्दै उक्त संझौतालाई व्यापक विरोध गर्न हार्दिक अपील गर्दछौं,’ वक्तव्यमा भनिएको छ।
हालै गृहमन्त्रालयले जारी गरेको बिज्ञप्तीले संविधानमा रहेका जनताको वाक र प्रेस स्वतन्त्रताको मौलिक हकलाई कुण्ठीत गर्ने भन्दै त्यसको भत्र्सना समेत गरिएको छ।