सत्ता गठबन्धन बैठकः मन्त्रीहरुको नाम छिटो दिन गठबन्धनका नेतालाई देउवाको आग्रह – Nepal Press

सत्ता गठबन्धन बैठकः मन्त्रीहरुको नाम छिटो दिन गठबन्धनका नेतालाई देउवाको आग्रह

काठमाडौं । सत्ता गठबन्धनको बैठकले मन्त्रिपरिषद् विस्तार चाँडै टुङ्याउने छलफल गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको सत्ता गठबन्धन शीर्ष नेताहरुको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीहरुको नाम छिटो दिन गठबन्धनका नेताहरुलाई आग्रह गरेको थियो ।

बैठकमा प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिन ढिला भएको भन्दै छिटो मन्त्रीको नाम दिन गठबन्धनका नेतासँग आग्रह गरेको बैठकमा सहभागी राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पोडेलले जानकारी दिए ।

उनले भने, ‘बैठकमा मन्त्रिपरिषद्लाई पूर्णता दिनेबारे बढीसमय छलफल भयो, साथै गठबन्धनलाई अझै परिस्कृत गरेर लैजाने तथा संसद्मा विधेयक टेबुल गर्नेबारे पनि कुराकानी भएको छ । साँझ ६ बजे बैठक पुनः बस्नेगरी सकिएको छ ।’

प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिन आ–आफ्नो पार्टीमा सल्लाह गरेका मन्त्रीहरुको नाम चाँडो टुङग्याउन आग्रह गरेका छन्। बैठकमा प्रधानमन्त्री देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी नेपाल ९जसपा० का अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेलको उपस्थिति थियो ।

नेपाली कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले गत असार २९ गते प्रधानमन्त्री पदको शपथ ग्रहण गरेका थिए । त्यसयता करिब दुई महिनाको अवधिमा मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन ।

अहिले सरकारमा चार मन्त्री र एक राज्यमन्त्री मात्र हुनुहुन्छ । मन्त्रिपरिषद्लाई चाँडो पूर्णता दिन प्रधानमन्त्री देउवालाई पार्टीभित्रैबाट दबाब छ । यसअघि बिहीबार पनि मन्त्रिपरिषद् विस्तारलगायत समसामयिक परिस्थितिबारे गठबन्धनका नेताबीच छलफल भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर