गाउँपालिका अध्यक्षलाई स्वास्थ्यचौकी पुर्याउन स्ट्रेचरको सहारा (तस्बिरहरु)
रोल्पा । गाउँगाउँमा सिंहदरबार पुर्याउने भन्दै चार वर्षअघि स्थानीय तहको पुनसंरचना गरियो र प्रत्येक स्थानीय तहहरुलाई ‘सरकार’ को हैसियत दिइयो । तर, आज पनि दुरदराजका स्थानीय तहहरुमा आधारभूत सेवाहरुको पहुँच पुग्न सकेको छैन ।
तस्बिरमा एक बिरामीलाई केही मानिसहरुले स्ट्रेचरमा बोकेर स्वास्थ्य चौकी लैजाँदै गरेको देख्नुहुन्छ । यी बिरामी पनि कोही सर्वसाधारण होइनन्, स्थानीय सरकारका प्रमुख भनिने गाउँपालिकाका अध्यक्ष हुन् । जब गाउँपालिका प्रमुखले नै अस्पताल पुग्न यो सास्ति भोग्नुपर्छ भने कल्पना गर्नुस् आमजनताको अवस्था के होला ?
रोल्पाको सनुछहारी गाउँपालिकाका अध्यक्ष आशबहादुर पुन ‘रक्तिम’ शुक्रबार बिहान सिकिस्त भए । उनी तीन दिनदेखि बिरामी नै थिए । तर, आज निकै गाह्रो भएपछि उनलाई अस्पताल लैजान ग्रामिण ‘स्ट्रेचर’ बनाइयो । करिब एक दिन लाग्ने बाटामा एक घण्टा गाडीको यात्रा बाहेक स्ट्रेचरमै बोकेर अस्पताल पुर्याइएको थियो ।
उनलाई स्ट्रेचरमा बोकेर स्वाथ्यचौकी लैजादै गरेको तस्बिर हालेर उपराष्ट्रपति नन्दबहादुर पुनका प्रेस संयोजक मनोज घर्तीले लेखेका छन्- ‘रक्तिम दाई, तपाईंको यो तस्बिरले धेरै कोणबाट हाम्रो अवस्थाबारे बोल्छ । दाइलाई स्वास्थ्य लाभको कामना ।’
घर्तीले भने झैं यो दृष्यले देशका धेरै विकट गाउँहरुको कथा भन्छ । त्यहाँका जनताले कस्तो स्वास्थ्य सुविधा उपभोग गरिरहेका छन् भन्ने यथार्थ देखाउँछ । ग्रामिण क्षेत्रमा यातायात पूर्वाधारको अवस्था के छ भन्ने छर्लंग पार्छ ।
सुनछहारी गाउँपालिकाकी उपाध्यक्ष पवित्रा घर्ती मगरका अनुसार अध्यक्षलाई सुनिलस्मृति गाउँपालिकाको प्राथमिक स्वाथ्य चौकी लैजान घरेलु स्ट्रेचर प्रयोग गरिएको हो । स्वास्थ्यचौकीमा उपचारपछि उनको अवस्था अहिले सामान्य रहेको घर्तीमगरले जानकारी दिइन् ।
‘तीन दिनदेखि टाउको दुख्ने, अरुची र पखालाले ग्रस्त हुनुभएको थियो । उच्च रक्तचाप पनि थियो,’ उनले भनिन्, ‘आज बिहानदेखि अवस्था जटिल भएपछि उनलाई स्वाथ्यचौकी पुर्याइएको हो ।’
वर्षाका कारण सडक विग्रेपछि पुनलाई अस्पतालसम्म पुर्याउन स्ट्रेचरको सहारा लिइएको घर्तिको भनाइ छ ।
घर्तिको भनाइ जस्ताको तस्तैः
उहाँले तीन दिनदेखि केही पनि खाना खानुभएको थिएन । सुरुमा यतै गाउँपालिकामा सामान्य उपचार भइरहेको थियो । आज अलि नसक्ने भएपछि बोकेर तल (छिमेकी सुनिलस्मृति गाउँपालिको सुलीचौर प्राथमिक स्वाथ्य केन्द्र) पठाएको हो ।
गाउँपालिकाको कार्यालय पोवाङबाट उहाँलाई बिहानै ६ बजे सुलीचौर लगिएको हो । बर्षाले गर्दा बाटो बिग्रिएर गाडी चलाउन सकिने अवस्था छैन । हिँडेर जान लगभग दिनभर नै लाग्छ । यो लगभग २० किलोमिटर टाढा छ ।
अहिले लगभग ५ किलोमिटर जतिमा मात्रै गाडी चल्छ । एक घण्टाको बाटो गाडीमा लगियो । अरु १५/१६ किलोमिटर बोकेर लगियो । हाम्रो गाउँपालिकामा रहेका स्वाथ्यकर्मी तिज मनाउन घर जानु भएको छ । त्यसैले गाउँपालिकामै राम्रोसँग उपचार गर्ने अवस्था रहेन ।
बाटो नभएरै उहाँलाई स्ट्रेचरमा राखेर लग्नु परेको हो । हाम्रो गाउँपालिकाको एम्बुलेन्स छैन । बाटो ठीक भएको भए छिमेकी पालिकाको मागेर भए पनि लग्न हुन्थ्यो । बाटै नभएपछि त्यो केही गर्न सकिएन ।
अध्यक्ष अहिले सामान्य हुनुहुन्छ । परीक्षण गर्दा त्यस्तो रोग केही पनि देखिएन । कोभिडको पनि एन्टिजिन परीक्षण गरिएको हो, त्यो पनि नेगेटिभ आयो ।