प्रहरी जवान भर्तीमा गृहमन्त्रीलाई तान्ने गुरुङको के हो माथिल्लो कनेक्सन ? – Nepal Press

प्रहरी जवान भर्तीमा गृहमन्त्रीलाई तान्ने गुरुङको के हो माथिल्लो कनेक्सन ?

प्रहरी प्रवक्ता भन्छन्- लोकसेवाले लिएको जाँचमा जस लिन खोज्नु जिल्लाको राजनीति होला

काठमाडौं । प्युठानको ऐरावती गाउँपालिका जुम्रीका कांग्रेस कार्यकर्ता तथा नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय सदस्य नरेन्द्र गुरुङले गत बुधवार एउटा स्टाटस,जिल्ला उपसभापाति बद्री लम्सालको सिफारिस भनिएको पत्र र नेपाल प्रहरीमा आफू लगायतको पहलमा नाम निकाल्न सफल भएको भनिएकाहरूको लिस्ट समेत सार्वजनिक गरे ।

उनले फेसबुकमा लेखेको व्यहोरा यस्तो थियो- ‘मेरो व्यक्तिगत पहलमा प्युठानी छोराहरूले नेपाल प्रहरीमा नाम निकाल्न सफल भएका छन् । भाइहरूलाई हार्दिक बधाइ छ । नेपाली कांग्रेस प्युठानका उपसभापति बद्री लम्सालज्यस्को सिफारिसमा ११ जना, हिमाल श्याम, राजन लगायतका अन्य साथीहरुको सिफारिसमा गरि देशभरका ४१ जना नाम निकाल्न सफल भएको छु । सहयोगको लागि माननीय गृहमन्त्री बालकृष्ण खाँणज्यूलाई हार्दिक धन्यवाद ।’

नेपाल प्रहरीमा कांग्रेस उपसभापति लगायतका सिफारिसमा जागिर हुनु र त्यसमा गृहमन्त्रीलाई विशेष धन्यवाद दिनु आफैंमा गम्भीर कुरा हो । बढी बाठो हुन खोज्दा उनी चिप्लिएका हुन् वा लम्साललाई विवादमा पारेर जिल्लाको राजनीति बिगार्न खोजेका हुन् ? अरु केही होइन ।

बिगतमा जे जसो हुने गरेपनि पछिल्लो समयमा नेपाल प्रहरीका जवानको समेत लिखित परीक्षा लोकसेवा आयोगले लिने गरेकाले कसैको ‘सोर्सफोर्स’ चल्दैन । अन्तर्वार्तामा पास गराइदिन्छौं भन्दै पैसा असुल्ने गिरोह भए पनि उनीहरुले चाहे जस्तो चाहिँ हुन्न । बरु नाम निस्केपछि मेरो कारणले निस्केको भनेर जस लिने र पैसा लिएको छ भने पचाउने गिरोह हुन्छ । त्यहि क्रममा जस लिन खोज्दा उनी चिप्लिएका पनि हुन सक्छन् ।

कांग्रेस कार्यकर्ता गुरुङको स्टाटसले विवादमात्र ल्याएन उनलाई प्रहरी हिरासतमा पनि पुर्‍याएको छ । गुरुङले तत्कालै स्टाटस डिलिट गरे पनि स्क्रिनसट भाइरल भइसकेको थियो । यो स्टाटसले एकैपटक कांग्रेस जिल्ला उपसभापति लम्सालदेखि गृहमन्त्री बालकृष्ण खाँणसम्मलाई विवादमा तान्यो भने जिल्लाको कांग्रेस अधिवेशन समेत प्रभावित भयो ।

चार दिनपछि गुरुङ पक्राउ परेका छन् । तर उनको स्टाटसको रहस्य भने बाहिर आइसकेको छैन । गुरुङको टोलीले प्रहरी भर्नामा ‘उ्ठती उठ्ती’ गरेकै भए पनि सार्वजनिक रूपमा विवादस्पद स्टाटस र विवरण ल्याउनुको पछाडि नियतवश हो कि जस लिन खोज्दा डुबेका हुन् ? उनले दिने बयानपछि थाहा होला ।

गुरुङले जिल्ला उपसभापति बद्री लम्साललाई सभापति बन्न नदिन नियोजित रुपमा यस्ता कुरा बाहिर ल्याएको एउटा पक्षको दावी छ । लम्साल स्वयमले विज्ञप्ति निकालेर आफूविरुद्ध नियोजित प्रचार भएको बताएका छन् । क्षेत्रीय सभापति रोज राणाले यसको पछाडि जिल्लाको राजनीति नै कारक रहेको बताएका छन् ।

जिल्लामा लम्साल देउवा समूहका नेता हुन् । यता यो कुरा बाहिर ल्याउने कार्यकर्ता गुरुङ पनि देउवा समूहकै हुन् । उनको पहुँच शेरवहादुर देउवादेखि गृहमन्त्री बालकृष्ण खाँणसम्म रहेको ती नेतासँग उनका तस्विरहरुले देखाउँछन् । यद्यपि, कुनै कार्यकर्ताले नेतासँग फोटो खिचेर फेसबुकमा राख्दैमा उसको दोहोरो चिनजान हुन्छ भन्न सकिन्न ।

तर नरेन्द्र गुरुङले देउवा र खाँणसँग एउटामात्र होइन धेरैवटा फोटो फेसबुकमा राखेका छन् । अझ खाँण गृहमन्त्री भएपछि त उनले स्वकीय सचिवालयको सदस्यकै शैलीमा तस्वीर र समाचारहरू शेयर गरेका छन् । गृहमन्त्रीसँग आफ्नो पहुँच छ भनेर प्रहरी भर्नामा पैसा उठाउन पनि उनले जानाजान फोटो राखेको हुनसक्छ ।

गुरुङको राजनीतिक ब्याकग्राउण्ड बुझ्दा चाहिँ उनी नेतालाई भेटेर फोटो खिच्नेमात्र हैसियतका होइनन् । नैनसिंह महर नेविसंघको अध्यक्ष हुँदा केन्द्रीय सदस्य मनोनित भएका गुरुङले आफ्नो बायोमा नेविसंघको केन्द्रीय कार्यालयको मुख्य सचिव भनेका छन् । तर अहिले चाहिँ उनी सो पदमा नरहेको नेविसंघले जनाएको छ ।

कांग्रेस जिल्ला सभापति लम्साललाई विवादमा पार्न गुरुङले जानाजान यस्तो गरेका हुन् त ? प्युठानका कांग्रेस नेताहरु यस प्रकरणमा विभाजित छन् । लम्साल पक्षले यसलाई नियोजित र फेक भनेको छ ।

तर अर्को पक्षका कांग्रेस नेताहरु भने यसमा गृहमन्त्रीको कनेक्सन नरहे पनि जिल्लाका नेताहरुले खाँणको नाम लिएर प्रहरी भर्तीमा पैसा उठाएको दावी गर्छन् । प्युठान कांग्रेसका एक नेताले ऐरावती गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष भोला भण्डारी र पार्टीका जिल्ला उपसभापति लम्सालबीचको टेलिफोन रेकर्ड समेत बाहिर आएको र त्यसमा एक लाख रुपैया उठाइएको कुरा रहेको दावी गरे ।

ती नेताले भने- प्रहरीमा भर्ती गरिदिने भनेर पैसा उठाएको कुरा छ । अडियो पनि आइरहेको छ । जसको नाम हातले लेखेर सिफारिस गरेको भनिएको छ,त्यसको ल्याब टेस्ट गर्दा जिल्ला उपसभापतिको हातले लेखेको हो कि होइन दूधको दूध पानीको पानी छुट्टिन सक्छ ।

कसैले चाहेर प्रहरी भर्ती सम्भव छ ?

नेपाल प्रहरीले एक वर्षअघि नै २०७७ असो ३० गते प्रहरी जवान पदमा खुला प्रतियोगितामार्फत भर्तीका लागि सूचना निकालेको थियो । त्यसमा प्रतिस्पर्धा गरेर पास हुनेहरुको नाम २०७८ भदौ २३ गते प्रकाशित गरेको थियो ।

उनीहरुलाई असोज ६ गते आ आफ्नो प्रदेश प्रहरी केन्द्रमा उपस्थित हुन प्रधान कार्यालयले सूचित गरेको छ । जब अन्तिम नजिता प्रकाशित भयो त्यसपछि गुरुङले वहादुरीपूर्वक आफू र आफूहरुको पहलमा नाम निकाल्न सफल भएको भन्दै ४१ जवानको नाममा चिन्ह् समेत लगाएर सार्वजनिक गरेका थिए ।

प्रहरी प्रवक्ता: बसन्त कुँवर ।

प्युठानका कांग्रेसलाई महाधिवेशन लागेर होस वा जस लिनका लागि होस् गुरुङले एकैपटक धेरैलाई विवादमा ताने । नेपाल प्रहरीले विज्ञप्ति नै निकाल्ने सम्मको बारेमा पनि छलफल नभएको होइन । तर गृहमन्त्रालयबाटै सम्बन्धित व्यक्तिलाई पक्राउ गरी कारवाही अघि बढाउन भनिएपछि गुरुङ समातिए ।

प्रहरी जवानको भर्तीमा गृहमन्त्री, आइजिपी वा प्रधानमन्त्री कसैको भनसुनले काम गर्दैन भन्ने सबैलाई थाहा छ । तर पनि नाम निस्केकाहरुसँग जस लिन वा अन्य कुनै कारणले यस्तो भ्रामक प्रचार गरेर हिरो बन्न खोजेको हुन सक्ने प्रहरी प्रवक्ता बसन्त कुँवर बताउँछन् ।

कुँवरले नेपाल प्रेससँग भने- प्रहरी जवानको भर्तीका सबै प्रक्रियामा लोकसेवा आयोगका सहसचिवको नेतृत्वमो संयन्त्रले काम गरेको हुन्छ । कपी कोडिङ, डिकोडिङ सबै काम आयोगबाट हुने हो । यसमा कसैको भनसुन वा पहुँचको अर्थ हुन्न । यो कुरा सबैलाई थाहा छ ।

सम्बन्धित दलभित्रको जिल्लाको राजनीति लागेको हुन सक्ने उनले बताए । नाम निस्केपछि जस लिने उद्देश्यले पनि यस्तो गरेको हुन सक्ने प्रहरी प्रवक्ताको अनुमान छ । यस्ता भ्रमको पछाडि नलाग्न समेत उनले आग्रह गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर